
अभिनेता राजेश हमालले युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुँदा नेपालको समृद्धिमा घाटा भइरहेको बताएका छन् । ‘अन्धपथ’ नामको चलचित्र छायांकनका क्रममा अछामको ढकारी आइपुगेका हमालले दक्ष जनशक्ति पलायन हुनेक्रम बढेकै कारण देश विकासले गति लिन नसकेको बताए ।
‘कामको खोजीमा विदेश जानेको संख्या बढ्दो छ । यहाँका गाउँघर रित्तो भइरहेका छन् । हाम्रा लागि यो बिडम्बना हो । यहाँ सम्भावना नभएको होइन । तर, चेतना अभावले कैयौं युवा लस्कर लागेर देश छोडिरहेका छन,’ अभिनेता हमालले भने । यो समस्या ‘अन्धपथ’मार्फत देखाउने र युवायुवतीमा जागरण ल्याउने गरी चलचित्र छायांकनका लागि अछाम आइपुगेको उनले बताए ।
हमालले श्रम गर्न सक्ने जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन राजनीतिक क्षेत्रबाट बढी पहल गरिनुपर्ने संकेत गरे । ‘देश सञ्चालनको महत्वपूर्ण भुमिकामा रहेका व्यक्तिहरूले यसमा गम्भीर हुनुपर्ने देखिन्छ । आज अवैध बाटो रोजेर काम खोज्न जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो अधिकांश नेपालीको समस्या हो । अब सबै तह र तप्काबाट सोच्न जरुरी छ । हामी कलाकारको काम चेतना फैलाउनु हो । त्यही भएर ‘अन्धपथ’मार्फत चेतना विस्तार गर्ने उद्देश्यले चलचित्र निर्माणमा लागेका हौँ ।’ यो चलचित्रमा अछामसहित सुदूरपश्चिम र कर्णाली क्षेत्रमा रहेको छाउपडी र बालविवाहविरुद्ध पनि आवाज उठाइने हमालले बताए ।
समृद्ध र सभ्य समाज निर्माणका लागि ‘अन्धपथ’मार्फत यहाँका समस्या उठान गर्न लागिएको भन्दै ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले ‘अन्धपथ’ले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा समेत मद्दत गर्ने बताए । ‘हामी देशकै पुछारमा छौँ,’ उनले भने,‘यहाँ छाउपडी, बालविवाह र वैदेशिक रोजगारीमा जाने समस्या मात्र होइन सम्भावना पनि छन् । मान्छेमा चेतना ल्याउन सके यही ठाउँमा समृद्धिको ढोका खोल्न सकिन्छ । त्यही भएर हामी अभिनेता राजेश हमालको उपस्थितिमा यो काम गर्दै छौँ ।’ शनिबार ढकारी गाउँपालिकाको जाल्पादेवी मन्दिरमा पुजा गरेर ‘अन्धपथ’ छायाङ्कन सुरु गरिएको छ ।
मन्दिरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावल, पूर्व जिल्ला विकास समिति सभापति भरतकुमार स्वारलगायतले स्वस्तिवाचन गरेर चलचित्र निर्माणको उद्घाटन गरेका हुन् ।
पहिलो दिन अभिनेता हमालले विदेश पलायन हुने युवाहरू, बालविवाह र छाउपडीबारे अभिनय गरेका छन् । आरजे मिडिया प्रालिको प्रस्तुतिमा निर्माण सुरु भएको ‘अन्धपथ’ रामकाजी घिमिरेको लेखन÷निर्देशनमा भइरहेको हो ।
यो चलचित्रमा अभिनेता राजेश हमालसहित सुनील थापा, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल), भरत कार्की, भेग पहरी, शम्भु ढुंगाना लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रका निर्माता रामजी लम्साल हुन् । यो चलचित्र अछामको ढकारी गाउँपालिकाका विभिन्न ठाउँ सँगै कर्णाली प्रदेशको रुकुमपूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिनेछ । चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला छन् भने छायांकन रामशरण उप्रेती, संगीत अर्जुन पोख्रेल र श्रृंगारमा सन्तु तामाङ रहेका छन् । यसमा स्थानीय कलाकारहरूले समेत अभिनय गरिरहेका छन् ।