
भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ। ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले निकाला गरेपछि नेपाली विद्यार्थीको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन्।
नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेसन पुर्याइएको घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद्ले आन्दोलन सुरु गरेको छ। केआइआइटी कलेजको आँगनमा परिषद्ले आन्दोलन चर्काएको छ।
परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजले माफी माग्नुपर्ने र उनीहरूलाई फिर्ता बोलाउनुपर्ने माग गरेका छन्। रेलवे स्टेसनमा अलपत्र नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्थासमेत कलेजले नै गर्नुपर्ने परिषद्को माग छ।
यसबाहेक मृतक विद्यार्थी र उनको परिवारलाई क्षतिपूर्ति दिनसमेत परिषद्ले माग गरेको छ।
परिषद्का ओडिसा सचिव बुद्धदेव बाग रेलवे स्टेसनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई भेट्न पुगेका छन्। बागले नेपाली विद्यार्थीलाई कलेज फर्काउन कलेज प्रशासनसँग संवाद सुरु गरिएको बताए। उनले भने, ‘हामी मृतक विद्यार्थीप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर स्टेसनमा राखेर विश्वविद्यालयले गरेको अमानवीय क्रियाकलापको अखिल भारतीय विद्यार्थी परिषद् घोर भर्त्सना गर्दछ र यस्तो गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दछ।’