मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ४ आइतबार o६:२o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको अनुहार र हातमा जलन

हाइड्रोजन भरेको बेलुनमा फायर क्यान्डिलको झिल्का पर्दा सार्वजनिक कार्यक्रममै आगलागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार o६:२o:oo

फायर क्यान्डिलको झिल्का हाइड्रोजन ग्यास भएका बेलुनले समातेपछि ठुलो आवाजसहित पड्किए, त्यससँगै फैलिएको आगोको लप्काले अर्थमन्त्री पौडेल र मेयर  आचार्यलाई भेटेको थियो 

घटनामा ५ देखि ६ प्रतिशत जलन भएका अर्थमन्त्री विष्णु पौडेल (बायाँ) र पोखराका मेयर धनराज आचार्यको कीर्तिपुर अस्पतालस्थित बर्न सेन्टरको आइसियूमा उपचार हुँदै । पौडेलको अनुहारसहित दुवै हात र घाँटीको बाहिरी भाग तथा आचार्यको अनुहारसहित घाँटी र देब्रे हातमा जलन भएको छ ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरेको बेलुनमा फायर क्यान्डिलको झिल्का पर्दा भएको आगलागीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । शनिबार दिउँसो घटना भएलगत्तै पोखरामा प्राथमिक उपचारपछि तत्काल उद्धार गरेर काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएका उनीहरूको आइसियूमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार अर्थमन्त्री पौडेलको अनुहार, दुवै हात र घाँटीको बाहिरी भाग तथा मेयर आचार्यको अनुहार, घाँटी र देब्रे हातमा जलन भएको छ । ‘प्रारम्भिक जाँचमा दुवैको ५–६ प्रतिशत जलेको पाइएको छ । उहाँहरूलाई उच्च प्राथमिकता र निगरानीमा राखेर उपचार गरिरहेका छौँ, अहिले नै खतरामुक्त भन्न मिल्दैन,’ अस्पतालका निर्देशक डा. किरण नकर्मीले भने, ‘बाहिर गहिरो नदेखिए पनि यस्तो जलनमा सजग हुनुपर्छ, पछि श्वासनलीमा समेत समस्या आउन सक्छ । त्यसैले तीन–चार दिनसम्म कडा निगरानीमा राख्नुपर्छ ।’ अनुहारतर्फको भाग जलेकाले उपचार अझ संवेदनशील रहेको उनले बताए । 

यसकारण बेलुनमा आगो लागेर पड्कियो
भ्रमण वर्ष घोषणाको औपचारिक समारोह सुरु भएसँगै उद्घाटनका क्रममा फायर क्यान्डिल बालिँदै थियो । अर्थमन्त्री पौडेल र मेयर आचार्यले भ्रमण वर्षको लोगोसहितको बेलुन उचाले । बेलुनमा हाइड्रोजन ग्यास भरिएको थियो । कार्यक्रम उद्घाटनका लागि अर्थमन्त्रीले स्विच थिचे । फायर क्यान्डिलको झिल्काले हाइड्रोजन ग्यास भरिएका बेलुनलाई टिप्यो । ठुलो आवाजसहित पड्किँदै फुटेका बेलुनबाट फैलिएको आगोको लप्काले पौडेल र आचार्यलाई भेटेको थियो । त्यसपछि पौडेल मञ्चतिर दौडिएका थिए भने मेयर आचार्य मञ्चबाहिर भागेका थिए । दुवैको अनुहार र हातमा आगोले पोले पनि कपडामा सल्किनबाट भने जोगियो । 

घटनालगत्तै सुरक्षाकर्मीले दुवैलाई स्थानीय अस्पताल लगेका थिए । तर, पोखरामा जलनको उपचारका लागि विशेष अस्पताल नभएकाले प्राथमिक उपचारपछि तत्काल हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न सेन्टर पुर्‍याइयो । 

जलनका बिरामीको उपचार हुने अस्पताल देशभरमै ६ वटा मात्र छन् । ती सबै काठमाडौं उपत्यकामै मात्र छन् । त्यसमा पनि दुईवटामा मात्रै आइसियू सेवा छ । कीर्तिपुर, सुष्मा कोइराला मेमोरियल, त्रिवि शिक्षण (टिचिङ), कान्ति बाल, पाटन र वीर अस्पतालमा मात्रै जलनको उपचार सुविधा रहेकामा कीर्तिपुर र सुष्मा कोइराला मेमोरियलमा मात्रै आइसियू सेवा छ ।

तीन–चार दिनसम्म निगरानीमा राख्नुपर्छ : डा. किरण नकर्मी निर्देशक, कीर्तिपुर अस्पताल
उहाँहरू दुवैजनाको ५–६ प्रतिशत जलेको छ । हामीले उच्च प्राथमिकता र निगरानीमा राखेर उपचार गरिरहेका छौँ, अहिले नै खतरामुक्त भन्न मिल्दैन । बाहिर गहिरो नदेखिए पनि यस्तो जलनमा सजग हुनुपर्छ, पछि श्वासनलीमा समेत समस्या आउन सक्छ । त्यसैले तीन–चार दिनसम्म कडा निगरानीमा राख्नुपर्छ । अनुहारतर्फको भाग जलेकाले उपचार अझ संवेदनशील हुन्छ ।