मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
अजित अधिकारी काठमाडाैं
२o८२ असोज ३ शुक्रबार o८:२३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सबैभन्दा ठुलो श्रम बजार युएईमा नेपाली श्रमिकलाई रोक

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o८:२३:oo
  • साउनमा श्रम स्वीकृति लिएर बिदेसिएका ६८ हजार एक सय १० युवामध्ये युएई जानका लागि २३ हजार आठ सय ३८ ले लिएका थिए श्रम स्वीकृति

नेपाली श्रमिक युवाको सबैभन्दा आकर्षक गन्तव्यका रूपमा परिचित संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीका लागि भिजिट र वर्किङ भिसा रोकेको छ । 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार युवाहरू काम खोज्दै पुग्ने देशहरूको सूचीमा युएई सबैभन्दा अगाडि छ । गत आर्थिक वर्ष ०८१/८२ मा आठ लाख ३९ हजार दुई सय ६६ युवा श्रम स्वीकृति लिएर विदेश गएकोमा सबैभन्दा धेरै युएईमा दुई लाख ७४ हजार पाँच सय ९० युवा पुगेका थिए । चालू आव ०८२/८३ को साउनमा मात्रै पनि काम खोज्दै बिदेसिने युवामध्ये सबैभन्दा धेरै युएई नै पुगेका छन् । युएईको पछिल्लो निर्णयले आउँदा दिनमा नेपालीको प्रमुख रोजगारीको गन्तव्यमा जान कठिन देखिएको छ ।

विभागका अनुसार साउनमा श्रम स्वीकृति लिएर ६८ हजार एक सय १० युवा बिदेसिएका थिए । त्यसमध्ये युएई जानका लागि २३ हजार आठ सय ३८ ले श्रम स्वीकृति लिएका थिए । रोजगारदाताले गर्ने व्यवहार, मौसम, तलब र अन्य सुविधाका कारण तुलनात्मक रूपमा राम्रो भएकाले अदक्ष तथा अर्धदक्ष युवाको पहिलो रोजाइ युएई बनिरहेको छ । तर, केही दिनयता युएईले नेपाली श्रमिक आपूर्ति नगर्ने नीति लागू गरेपछि भने समग्र वैदेशिक रोजगार प्रणालीमै असर पर्न लागेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले बताए । उनले चार दिनयता भिजिट भिसा र श्रम स्वीकृतिको भिसा रोकिएको जानकारी दिए । ‘खासगरी दुबईमा भिजिट भिसामा जाने र त्यहाँबाट अन्य देशमा जाने प्रवृत्ति धेरै देखिन्थ्यो । दुबईलाई ट्रान्जिट बनाइएको थियो । यस विषयमा नेपाली दूतावासमा युएईले जानकारी पनि गराएको जस्तो लाग्छ । भिजिट भिसाको दुरुपयोग भएपछि त्यसलाई कडाइ गरेको थियो,’ उनले भने ।

युएईले यसअघि पाकिस्तान, बंगलादेश र काश्मिरका युवालाई श्रम स्वीकृति बन्द गरिसकेको छ । रोजगारका लागि पुगेका नेपाली युवाहरू हुलदंगा गर्ने तथा सामाजिक शान्तिमा असर पर्ने गतिविधिमा क्रियाशील भइरहेको र दुबईलाई ट्रान्जिट बनाएर विभिन्न देश जाने गरेको भन्दै युएईले अबुधाबीस्थित नेपाली दूतावासलाई समेत सचेत गराएको थियो ।

खाडी मुलुकमा यस्तो छ युवाको संख्या
खाडी मुलुकहरूमा अदक्ष र अर्धदक्ष कामदारको ठुलो उपस्थिति छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०८१/८२ मा युइएईपछि साउदी अरबमा रोजगारीमा लागि एक लाख ५२ हजार पाँच सय ५७ युवा पुगेका छन् । त्यस्तै, कतारमा एक लाख ४० हजार सात सय ९२, कुवेतमा ५९ हजार ६५ र मलेसियामा ४९ हजार एक सय ८७ युवा पुगेका छन् । युएईको रोजगारीमा असर परे नेपाली युवाहरू अन्य खाडी मुलुकतर्फ मोडिनेछन् । तीन वर्षअघि मलेसियाले आप्रवासी कामदारको आपूर्ति संख्यामा ठुलो कटौती गरेपछि युवाहरू युएईतर्फ मोडिएका थिए । सुरुवातमा भने सबैभन्दा आकर्षक गन्तव्य मलेसिया थियो । कुल मागको १० प्रतिशत मात्रै आप्रवासी कामदार लिने मलेसियाको नीतिका कारण अहिले न्यून संख्यामा मात्रै मलेसियाका लागि माग आउने र श्रम स्वीकृति प्रदान हुने गरेको विभागले जनाएको छ ।

युएईतर्फ रोजगार संकटमा परे साउदी अरब जाने संख्या बढ्ने अनुमान छ । किनभने, साउदीसँग श्रम सम्झौता गर्ने मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । साउदी र नेपालबिच श्रम सम्झौतामा हस्ताक्षर भए अन्तर्राष्ट्रिय कानुनअनुसार कामदारमैत्री वातावरण र ज्यालासमेत निर्धारण हुनेछ । अर्कातिर सन् २०३४ को विश्वकप आयोजनाको अधिकार लिएको साउदीले निर्माण क्षेत्रमा ठुलो संख्यामा आप्रवासी कामदार लिन सक्ने अनुमान छ ।

यी राष्ट्रमा पनि फैलिँदै छ वैदेशिक रोजगारी
कोरियामा सरकारी स्तरबाट रोजगार प्रणाली सुरु भएपछि भाषा सिकेर जाने युवाको संख्या बढ्दै गएको छ । गत आवमा १४ हजार दुई सय २४ र जापानमा व्यक्तिगत श्रम स्वीकृति गरेर कोरिया पुगेको विभागले जनाएको छ । त्यस्तै, जापानमा व्यक्तिगत श्रम स्वीकति गरेर गत आवमा २३ हजार ७१ युवा पुगेका छन् । युरोपियन राष्ट्रमध्ये रोमानियामा २७ हजार आठ सय ७४ र क्रोएसियामा १३ हजार आठ सय ३५ युवा पुगेका छन् ।

मुलुकको रोजगार प्रणालीमा ठुलो असर पर्छ : रोहन गुरुङ, अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ 
युएईमा भिजिटका लागि मात्रै नभई श्रमिकका लागि पनि भिसा दिन बन्द गरिएको चार दिनजति भइसक्यो । नेपालमा हालै भएको जेन–जी आन्दोलन र त्यस क्रममा घटेका घटनापछि भिसा दिन रोकिएको हो ।

खासगरी दुबईमा भिजिट भिसामा जाने र त्यहाँबाट अन्य देशमा जाने प्रवृत्ति धेरै देखिन्थ्यो । दुबईलाई ट्रान्जिट बनाइएको थियो । यस विषयमा नेपाली दूतावासमा युएईले जानकारी पनि गराएको जस्तो लाग्छ । भिजिट भिसाको दुरुपयोग भएपछि त्यसलाई कडाइ गरेको थियो । अहिले श्रम भिसा पनि रोकिदियो ।

नेपालबाट दैनिक १५ हजार हाराहारी मानिस रोजगारीका लागि जाँदा सबैभन्दा बढी युवा युएई जाने गरेका थिए । अब यो रोकिँदा समस्या हुनेछ । रोजगारीका लागि युएई जाने प्रक्रियामा धेरै युवा थिए । यी सबै युवा समस्यामा पर्ने भए । भिसा प्रक्रियामा रहेका युवाको पनि श्रम स्वीकृति रोकिएको छ, मेडिकल सकेर बसेकालाई पनि भिसा दिइएको छैन ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय र त्यहाँ भएको दूतावासले प्रयास गरेमा खुल्न सक्छ । प्रहरी रिपोर्ट अनिवार्य गराएर भिसा पुन: खुलाउन सक्छ, तर त्यसका लागि सरकारले पहल गर्नुपर्छ । सरकारले पहल नगरेमा पनि उनीहरूलाई श्रमिक चाहिएका खण्डमा र रोजगारदाताको सुझावमा पुन: भिसा खुलाउन सकिन्छ ।