
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो दुर्घटना हुँदा सप्तरीका तीनजना र सुनसरीका १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का लीलावती चौधरी र परशुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए। यस्तै, वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिए।
सप्तरीका प्रहरी प्रमुख खतिवडाका अनुसार दुर्घटनामा मृत्यु भएको खबर आएका परिवारका सदस्यले सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझ्ने कार्य भइरहेको बताएका छन्।