मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ४ आइतबार o८:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आफूमाथि सामूहिक बलात्कार भएको पञ्चायतीमा बयान दिएकी किशोरी मृत भेटिइन्

मिलापत्र गरी टुंगो लगाउन पीडित परिवारमाथि दबाब, बलात्कारको आरोप लागेका युवा खुलेयाम गाउँमा डुल्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार o८:५o:oo

आफूलाई तीन युवकले घरबाट अपहरण गरेर सामूहिक बलात्कार गरेको ‘पञ्चायती’ मै बयान दिएकी सिराहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा मृत फेला परेकी छिन् । गत २७ माघ राति तीन युवकले घरबाट अपहरण गरी सामूहिक बलात्कार गरेको घटनामा परिवारलाई दवाव दिई मिलापत्र गराउन खोजिएको थियो । त्यही बिचमा उनी घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनको मृत्यु पनि शंकास्पद छ । बाहिरबाट चुकुल लगाइएको फेला परेको छ । 

पीडित परिवारका अनुसार २७ माघ राति करिब ९ बजेतिर शौच गर्न निस्किएकी सदालाई स्थानीय रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले जबर्जस्ती गाउँबाहिर लगेका थिए । २८ माघ बिहान करिब ३ बजेतिर उनलाई रुँदै गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनले आफूमाथि भएको घटनाबारे आमा सीतादेवीलाई सुनाएकी थिइन् । 

२९ माघमा बसेको ‘पञ्चायती’मा सदाले तीनजनाले मुख थुनेर गाउँ बाहिर पुर्‍याई पालैपालो जबर्जस्तीकरण गरेको बताएकी थिइन् । उनका बाबु बिजुल सदा रोजगारीको क्रममा मुलुकबाहिर रहेको र पीडित परिवारलाई दबाब र प्रभावमा पारेर आत्महत्या दुरुत्साहनको मुद्दामा जाहेरी हाल्न लगाएको स्थानीय एक युवकले बताए । 

मंगलबार बसेको ‘पञ्चायती’मा घटनामा संलग्न रहेका रूपेशलाई डेढ लाख रुपैयाँ जरिवाना गरिने निर्णय सुनाएपछि उनका आफन्तले ‘घटनामा तीनजना रहेकाले जरिवाना पनि दामासाही गरिनुपर्ने’ माग गरेका थिए । त्यही विषयमा बुधबार पुनः छलफल भयो । छलफलमा पीडक मण्डल पक्ष र पीडित पक्षबिच दोहोरो झडप भएपछि बिहीबार साँझ पुनः बस्ने गरी टुंगिएको थियो । तर, त्यही साँझ पीडित सदा घरको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

नवराजपुर गाउँपालिका– १ का वडाध्यक्ष नवीनकुमार यादवले किशोरी झुन्डिएको घटना थाहा पाएलगत्तै प्रहरीलाई खबर गरेको बताए । ‘घटनामा तीनजना संलग्न रहेको मैले पनि सुनेको छु,’ उनले भने, ‘पीडित किशोरी स्वयंले पहिलो दिनको छलफलमा तीनजनाको नाम भनेको सुनेको छु । पीडितकै बयानका आधारमा उनीहरूविरुद्ध अनुसन्धान गर्नुपर्ने हो, तर जघन्य घटनामा एकजनाविरुद्ध मात्र आत्महत्या दुरुत्साहनको जाहेरी पर्नु चलखेल भएको हुन सक्छ ।’ 

राष्ट्रिय मुसहर संघ सिराहाका सदस्य सुनील सदाले सामूहिक बलात्कारजस्तो जघन्य अपराधको घटना मिलापत्र गराउन खोजिएकै वेला शंकास्पद अवस्थामा पीडित किशोरीको झुन्डिएको अवस्थामा भेटिएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए । स्थलगत अध्ययनका लागि संघसम्बद्ध सदस्यहरूको टोलीले शनिबार भगवतीपुर गाउँ पुगेर मृतक किशोरीको परिवार, छरछिमेकसँग गरिएको कुराकानी, घटनास्थल हेर्दा शव भेटिएको कोठाको ढोकाको चुकुल बाहिरबाट लगाएको घटना शंकास्पद रहेको सदाले बताए । 

इलाका प्रहरी कार्यालय लहानले भने सामूहिक बलात्कारको घटना नभएको दाबी गरेको छ । लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटना आत्महत्याजस्तो देखिएको बताए । ‘मृतक परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकाले १ फागुनमा जाहेरी दर्ता गरी अनुसन्धान थालिएको छ,’ उनले भने । सदाको शनिबार लहानको बलान खोलामा दाहसंस्कार गरिएको छ ।