मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
कमलराज भट्ट काठमाडाैं
२o८१ फाल्गुण ९ शुक्रबार o७:३o:oo
Read Time : > 4 मिनेट
समाचार प्रिन्ट संस्करण

नागरिकता विधेयकमा ३६ वटा संशोधन : आमाको नामबाट वंशजको नागरिकता, थर नराख्नेदेखि १५ दिनभित्र निर्णय गर्नेसम्मका प्रस्ताव

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार o७:३o:oo

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा ३६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । गृह मन्त्रालयले १५ माघमा प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा ४ फागुनमा सैद्धान्तिक छलफल भएको थियो भने भोलिपल्ट विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको थियो । निर्धारित ७२ घण्टाको समयभित्र ३६ वटा संशोधन परेको प्रतिनिधिसभा विधेयक शाखाले जनाएको छ ।

संशोधन प्रस्तावमा बाबुको पहिचान नखुलेको अवस्थामा आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने, नागरिकता प्राप्तिको प्रक्रिया निवेदन आएको १५ दिनभित्र टुंग्याउनुपर्ने, थर सच्याउनेदेखि थर नराख्नेसम्मको व्यवस्था हुनुपर्ने उल्लेख छ । समयमा नागरिकता नदिने अधिकृतलाई दण्ड–सजाय र पीडितलाई क्षतिपूर्तिको प्रस्ताव छ । अन्तर्जातीय विवाहमा आमाबाबुकै थर राख्न पाउनुपर्ने संशोधन परेको छ । सबैभन्दा धेरै दफा ३ मा संशोधन परेका छन् । गैरआवासीय नेपालीलाई एनआरएन नागरिकताअनुसारको हक र ब्रिटिस गोर्खा सैनिक तथा उनका सन्ततिलाई वंशजको नागरिकताको वकालत सांसदहरूले गरेका छन् ।

कांग्रेसका डिगबहादुर लिम्बूले दफा ३ मा ब्रिटिस गोर्खाहरूको हकमा कार्यरत देशमा सम्मानार्थ अंगीकृत नागरिकता प्राप्त गरे पनि उनीहरू र उनका सन्तानको वशंजको नागरिकता कायमै हुनुपर्ने र ब्रिटिस गोर्खाका सन्तानले अन्य देशको नागरिक प्राप्त गरे पनि नेपाली वंशजको नागरिकता लिन चाहे कुनै बाधा नपर्ने संशोधन राखेका छन् । 

एमालेका छविलाल विश्वकर्माले दफा ८ मा दलित समुदायका नागरिकले थर राख्न, पहिले उल्लेखित थर सच्याउन र थरविनाको नागरिकता चाहेमा उपलब्ध गराउनुपर्ने संशोधन राखेका छन् । एमालेकै रघुजी पन्त, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, नारायणप्रसाद आचार्यले संयुक्त रूपमा राखेको संशोधनमा दफा ३ (१) (४ क) को आमा वा बुबामध्ये एउटाले जन्मका आधारमा नागरिकता लिएको र अर्काेको नागरिकता लिनुअगावै मृत्यु भएको अवस्थामा सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था खारेज गर्ने उल्लेख छ । 

एमालेकै वासुदेव घिमिरे, दामोदर पौडेल बैरागी र दीपा शर्माले संयुक्त रूपमा दफा ३ (५ ख)मा ‘बाबुआमा वा तीन पुस्ताभित्रका व्यक्तिको मृत्यु भएको वा बेपत्ता भएको वा सम्पर्कमा नरहेको वा अरू कुनै कारणले नेपाली नागरिकता प्राप्त गर्नयोग्य व्यक्तिको सनाखत गर्न तीन पुस्ताभित्रको व्यक्ति उपस्थित हुन वा गराउन नसकिएमा वा सनाखत गर्नुपर्ने व्यक्तिले सनाखत गर्न इन्कार गरेमा सम्बन्धित स्थानीय तहको प्रमुख वा वडाध्यक्षको सनाखतमा त्यस्ता व्यक्तिलाई नागरिकता प्रमाणपत्र प्रदान गर्न सकिने’ संशोधन राखेका छन् । 

एमालेका सूर्यबहादुर थापाले दफा ३ (४ क) को नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको शब्दको सट्टा नागरिकता प्राप्त गर्ने योग्यता पुगेको पुष्टि हुने कागजात रहे पनि निजको त्यस्तो नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको शब्दहरू राख्नुपर्ने भनेका छन् । दफा ३ (२) मा स्वघोषणा गर्नुअघि सम्बन्धित वडा कार्यालयको सिफारिस र सर्जिमिन मुचुल्का संलग्न गर्नुपर्ने शब्द राख्नुपर्ने उनको संशोधन छ ।

माओवादीका माधव सापकोटाले जन्मस्थान यकिन नभएको र वडाबाट सिफारिस नभएको, आमा र बुबा दुवै नभएकाहरूले नागरिकता प्राप्त गर्न नसकेको विद्यमान स्थिति अन्त्यका लागि संविधानले दिएको अधिकार विधेयकमा समेटिनुपर्ने संशोधन राखेका छन् । सांसद उर्मिला माझी र नारायणी शर्माले संयुक्त रूपमा राखेको संशोधनमा दफा ३ मा नेपाली आमाबाट जन्मेका सन्तान बाबु बेपत्ता भएका अवस्थामा पत्ता नलागेसम्म आमाको नामबाट वंशजको नाताले नागरिक मानिने प्रस्ताव छ । नेपाली आमाबाबुबाट रोजगारीको सिलसिलामा विदेशमा रहँदा जन्मेका सन्तानको उमेर पुगेपछि वंशजको नाताले नेपालको नागरिक मानिने उनीहरूको मत छ । बाबुआमा दुवै नेपाली नागरिक भएको तथा अन्तरजातीय विवाहबाट जन्मेका बच्चाले नागरिक लिँदा आमाबाबु दुवैको थर राख्न चाहेमा राख्न पाउनुपर्ने उनीहरूको मत छ । 

माओवादीकै कल्पना मियाँ कुसारीले ब्रिटिस गोर्खा सैनिक र उनका सन्तानले वंशजको नागरिकता लिन चाहे कुनै बाधा नपर्ने संशोधन राखेकी छिन् भने दुर्गा राईले पनि दफा ३ मै राखेकी छिन् । माओवादीकी सुशीला सिर्पाली ठकुरीले दफा ३ (३ क) मा नेपालभित्र होस ठेगान नभएका र बेवारिसे आमाबाट जन्म भएका प्रत्येक नाबालकले आमा वा बाबुको ठेगाना पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्ने संशोधन राखेकी छिन् । 

रास्वपाकी सोविता गौतमले दफा ९ थपेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नागरिकतासम्बन्धी सम्पूर्ण काम निवेदन परेको १५ दिनभित्र टुंग्याउनुपर्ने संशोधन राखेकी छिन् । नटुंग्याएमा निवेदकले अर्काे १५ दिनभित्र गृह मन्त्रालयसमक्ष निवेदन दिन पाउने, मन्त्रालयले जाँचबुझ गरेर उपयुक्त भएमा जिल्ला प्रशासन कार्यालयलाई निवेदनबमोजिम कार्य पूरा गर्न आदेश दिन सक्ने प्रस्ताव उनले गरेकी छिन् । रास्वपाकै तोसिमा कार्कीले दफा ३ मा बाबु वा आमामध्ये कुनै एकको जन्मका आधारमा नागरिकता र अर्काेको नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएमा सन्तानले वंशजको नागरिकता पाउने र कुनै एक सम्पर्कविहीन रहेको अवस्थामा अंगीकृत नागरिकता पाउने संशोधन राखेकी छिन् । 

रास्वपाकै गणेश पराजुलीले दफा ४ मा गैरआवासीय नेपालीले एनआरएन नेपाली नागरिकता प्राप्त गरेपछि राजनीतिकबाहेकका सबै अधिकार उपयोग गर्न पाउने र पुख्र्याैली सम्पत्तिको उपभोग, नेपालमा लगानी तथा व्यवसाय गर्न पाउनेहक तथा लगानीबाट मुनाफा सहज लैजान पाउने गरी नियमावली बनाएर तत्काल लागू गर्ने भनेर थप्नुपर्ने प्रस्ताव गरेका छन् । 

रास्वपा सांसद निशा डाँगीले दफा ३ मा सम्पूर्ण प्रक्रिया पूरा गरेको निवेदनउपर १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयले निर्णय गर्नुपर्ने संशोधन राखेकी छिन् । जन्मदर्ता, शैक्षिक वा अन्य प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबुको अन्य पहिचान नखुलेको र सम्पर्कमा नरहेको अवस्थालाई पहिचान नभएको मानेर वशंजको नागरिकता पाउने उनको प्रस्ताव छ । यसैगरी, नेपाली आमाबाट विदेशमा जन्मिएर नेपालमै बसोबास गरेको, विदेशी नागरिकता र राहदानी नलिएको, बाबुको पहिचान नभएको सन्तानले अंगीकृत नागरिक पाउने, स्वघोषणा गर्नुनपर्ने संशोधन उनले राखेकी छिन् । यही व्यहोराको संशोधन डोलप्रसाद अर्याल, मनीष झा, लक्ष्मी तिवारीले राखेका छन् । 

राप्रपाकी रोशन कार्की र विना लामाले दफा ३ (१) (४ क) को आमा वा बुबामध्ये एउटाले जन्मका आधारमा नागरिकता लिएको र अर्काेको नागरिकता लिनुअगावै मृत्यु भएको अवस्थामा सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था हटाउने संशोधन राखेका छन् । नेपाली आमाबाट जन्मेका सन्तानले बाबु बेपत्ता भएको अवस्थामा पत्ता नलागेसम्म आमाको नामबाट वंशजको नागरिक हुने, नेपाली आमाबाबु रोजगारीको सिलसिलामा विदेशमा रहँदा जन्मेका सन्तानले उमेर पुगेपछि वंशजको नागरिकता पाउने, नेपाली महिलासँग बिहे गरेको विदेशीले नेपाली नागरिकता लिन चाहे विदेशी नागरिक त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने उल्लेख छ । 

राप्रपाकै ध्रुवबहादुर प्रधानले दफा ३ (५ क) को जन्मदर्ता, शैक्षिक वा अन्य प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर पहिचान नखुलेको वा सम्पर्कमा नरहेको स्वघोषणालाई आधार मानेर वंशजको नागरिकता दिने प्रस्ताव खारेज गर्नुपर्ने संशोधन राखेका छन् । राप्रपाका ज्ञानबहादुर शाहीले दफा ९ मा वंशजको आधारमा नागरिकता लिएका नेपाली नागरिकले जुनसुकै देशमा गएर सम्बन्धित देशको दोस्रो वा पहिलो दर्जाको नागरिकता प्राप्त गरे पनि नेपाली नागरिकले नागरिकता कायम रहने थप्नुपर्ने भनेका छन् । 

एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवर, मेटमणि चौधरी, अम्मरबहादुर थापाले राखेको संयुक्त संशोधनमा ब्रिटिस गोर्खा सैनिक र उनका सन्तानको वंशजको नागरिकता कायम रहने, अन्य देशको नागरिकता लिएका ब्रिटिस गोर्खाका सन्तानले नेपालको नागरिकता लिन चाहे वंशजकै पाउने प्रस्ताव गरिएको छ । ज्वाला र पाण्डेले पनि बाबुको पहिचान खुलेर विदेशी प्रमाणित भएमा सन्तानको नागरिकता स्वतः अंगीकृत हुने, अधिकृतले गरेको निर्णय चित्त नबुझेमा सरकारसमक्ष उजुरी दिन सकिने र सरकारको निर्णय अन्तिम हुने र राजपत्रांकित प्रथम श्रेणीको सट्टा कम्तिमा राजपत्रांकित तृतीय श्रेणीको अधिकृत कर्मचारी राख्ने भनेर छुट्टै राखेका छन् । 

जसपाकी सुशीला श्रेष्ठले दफा ३ मा नेपाली वंशजको नागरिकता प्राप्त गरेका ब्रिटिस सेनामा काम गरी योगदान गरेबापत सम्मानार्थ ब्रिटिस आवासीय भिसा वा अंगीकृत नागरिकता प्राप्त गरे पनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता कायम रहने संशोधन राखेकी छिन् ।