
सरकारका गलत काम र नीतिकाविरुद्ध सदनमा आवाज उठाईरहेका विपक्षी दलहरू सडकसंघर्षतिर जुटेका छन् । उनीहरूले राष्ट्रियता कमजोर भएको, भ्रष्टाचार बढेको, महँगी आकासिएकोजस्ता मुद्दा लिएर सरकारविरुद्ध सडकमा आउने घोषणा गरेका छन् ।प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले मोर्चाले २४ चैतमा काठमाडौंमा जनप्रदर्शन तय गरिसकेको छ । दलहरूले पार्टीगतरुपमा पनि संघर्षका कार्यक्रम बनाएका वा बनाउँदै छन् ।
मोर्चाले सरकार स्वेच्छाचारी रूपमा अघि बढेर जनविरोधी काम गरेको निष्कर्षसहित सडक आन्दोलनको घोषणा गरेको छ । चैत पहिलो साता मधेश प्रदेशमा खबरदारी–सभा गर्ने मोर्चाको तयारी छ । काठमाडौंमा जनप्रदर्शन गर्नुअघि अन्य ६ प्रदेशमा पनि विरोध कार्यक्रमहरू गर्ने जनाएको छ । तर, मिति तय भएको छैन ।
‘राष्ट्रियता कमजोर भयो । महँगी र भ्रष्टाचार बढ्यो । जनताले सरकार भएको महसुस नै गर्न पाएनन् । हामी त्यसको विरुद्धमा जनतामा जाँदै छौँ,’ समाजवादी मोर्चाको अध्यक्षमण्डलका सदस्य एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले भने ।
मोर्चामा आबद्ध दलहरूले संयुक्तबाहेक छुट्टाछुट्टै विरोध कार्यक्रम पनि अघि सारेका छन् । माओवादी केन्द्रले १२ फागुनबाट झापाको कचनकबलबाट हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान सुरु गर्दै छ । अभियान ७ चैतमा कञ्चनपुर पुगेर समापन हुनेछ । अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने अभियानमा जनसभा, अन्तत्र्रिmया, जनभेटघाटलगायत कार्यक्रम हुने माओवादी महासचिव देव गुरुङले बताए । अभियानमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरूका साथै सम्बन्धित प्रदेश र जिल्लाका नेता, जनवर्गीय संगठनका नेता तथा सांस्कृतिक टोली खटिनेछन् ।
माओवादीले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियानको पनि तयारी गरेको छ । विगतमा माओवादी नेतृत्वको सरकारले अघि बढाएका गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायत भ्रष्टाचारका फाइल केपी ओली नेतृत्वको सरकारले बन्द गराएको, भ्रष्टाचारमा मुछिएका सत्तारूढ दलका नेता तथा कार्यकर्तालाई उन्मुक्ति दिने प्रपञ्च भएको दाबी माओवादीको छ ।‘राष्ट्रियता कमजोर भएको छ । महँगी र भ्रष्टाचारले सीमा नाघिसक्यो । जनजीविकाको विषयमा सरकार बेखबर छ । अभियानको क्रममा यस्ता विषयमा जनतालाई सुसूचित गराउनेछौँ,’ गुरुङले भने ।
एकीकृत समाजवादीले आन्दोलनको कार्ययोजना नै तयार पारेको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेसँगै आन्दोलनको कार्यक्रम अघि बढ्ने महासचिव घनश्याम भुसालले बताए ।
‘आगामी दिनमा हामी खासगरी श्रमजीवी जनताका लागि जुन वर्ग र समूहसँग उभिनुपर्छ, तिनीहरूसँग मिलेर एउटा राष्ट्रिय आन्दोलन बनाउन जाँदै छौँ । यो सत्ताको नालायकी र सडकको अराजकताविरुद्ध जिम्मेवार पार्टीको रूपमा उभिने गरी हामीले निर्णय लिएका छौँ । केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेसँगै हाम्रो आन्दोलन अघि बढ्छ,’ भुसालले भने ।
त्यस्तै, प्रतिपक्षी दल राप्रपाले पनि प्रदेशस्तरीय भण्डाफोर शुरु गरेको छ । गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, सुदूरपश्चिमको धनगढी, मधेशको जनकपुर, बागमतीको काठमाडौं र कर्णालीको सुर्खेतमा भण्डाफोर कार्यक्रम तय महामन्त्री राजेन्द्र गुरुङले बताए । उनकाअनुसार शुक्रबार गण्डकी प्रदेशबाट शुरु भएको भण्डाफोर कार्यक्रम १७ फागुनमा लुम्बिनी, १८ फागुनमा सुदूरपश्चिम, २१ फागुनमा मधेश, २५ फागुनमा बागमती र २७ फागुनमा कर्णालीमा पुगेर टुंगिनेछ ।