मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ९ शुक्रबार १९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

आइजिपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउनुपर्ने प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार १९:२६:oo

सांसद डा. चन्दा कार्कीले प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीले वा प्रधानमन्त्रीको अनुपस्थितिमा गृहमन्त्रीले दर्ज्यानी चिह्न लगाइदिने व्यवस्था राख्न प्रस्ताव गरेकी छिन्।  नेपाल प्रहरी विधेयकमाथि उनले दर्ता गरेको संशोधन प्रस्तावमा उनले यस्तो प्रस्ताव राखेकी हुन्। 

उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रधानमन्त्रीबाट प्रदान गरिनेछ । प्रधानमन्त्री अनुपस्थित भएको बखत गृहमन्त्रीज्यूबाट प्रदान गरिनेछ।’ 

हाल गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाउने प्रचलन छ । विगतमा अवकाशमा जाने प्रहरी महानिरीक्षकले नवनियुक्तलाई दर्ज्यानी चिह्न लगाउने प्रावधान थियो । 

त्यस्तै, उनले प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता एसइई राख्नुपर्ने प्रस्ताव गरेकी छिन्। प्रहरी निरीक्षकको भर्ना लोकसेवा आयोगबाट निजामतीको अधिकृतसँगै संयुक्त रूपमा हुनुपर्ने संशोधन प्रस्ताव उनको छ । 

त्यस्तै, एसएसपीदेखि एआइजीसम्मको बढुवामा लोकसेवा आयोगको अध्यक्ष वा अध्यक्षले तोकेको सदस्यलाई समितिको प्रमुख बनाउनुपर्ने र  समितिमा गृहसचिव, प्रहरी महानिरीक्षक र प्रहरी महानिरीक्षकले तोकेको अतिरिक्त महानिरीक्षक सदस्य राख्नुपर्ने उनको संशोधन प्रस्तावमा उल्लेख छ । 

एसपी, डिएसपी र इन्सपेक्टरको बढुवाको समितिमा भने प्रहरी महानिरीक्षक अध्यक्ष, गृह मन्त्रालयको सहसचिव, एआइजी र डिआइजीलाई सदस्य राख्न प्रस्ताव गरिएको छ । 

नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन दर्ता भएका छन्।  गृह मन्त्रालयले १५ माघमा प्रतिनिधिसभा दर्ता गराएको विधेयकमा ५ माघमा सैद्धान्तिक छलफल भएको थियो।

छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ५१ संशोधन प्रस्ताव दर्ता भएको प्रतिनिधिसभा विधेयक शाखा प्रमुख त्रिविक्रम पराजुलीले बताए ।