मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १० शनिबार o६:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीमा पार्टी निर्णयविरुद्ध बोल्न प्रतिबन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार o६:४१:oo

एकीकृत समाजवादीले पार्टीका नेता–कार्यकर्तालाई लगाम लगाउँदै पार्टी निर्णयबाहिर बोल्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा नेता–कार्यकर्ताले पालना गर्नुपर्ने १३ बुँदे आचारसंहिता प्रस्ताव गर्दै अध्यक्ष माधवकुमार नेपालले जथाभावी बोल्न नपाउने प्रस्ताव गरेका हुन् ।‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ । तर, पार्टीका निर्णयविरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत रख्न पाइँदैन,’ प्रस्ताव गरिएको आचारसंहितामा छ ।

उनले जनवाद र अनुशासनको सन्तुलन मिलाउनुपर्ने प्रस्ताव गर्दै पार्टी सदस्य भइसकेपछि जथाभावी बोल्न नपाइने तथ्य बुझ्न आग्रह पनि गरेका छन् । ३ पेजको संक्षिप्त आचारसंहितामा पार्टीका नेता–कार्यकर्ताले गर्न हुने र नहुने आचरण र व्यवहारसँग सम्बन्धित कामको सूची रहेको छ । त्यस्तै, माक्र्सवाद–लेनिनवादलाई पार्टीले मार्गदर्शक सिद्धान्त मान्ने भएकाले सबै किसिमका विभेद र शोषणको विरुद्ध आवाज उठाउनु पार्टीका नेता–कार्यकर्ताको मूल्य–मान्यता हुने प्रस्ताव गरिएको छ । ‘श्रमको सम्मान गर्ने, श्रमशोषण नगर्ने, आफैँ पनि श्रम गर्ने, सबै किसिमका शोषण, दमन र अन्याय, अत्याचारको विरोध गर्ने, सबै किसिमको विभेद र असमानताको विरोध गर्दै समानताको पक्षपोषण गर्ने र समाजको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अर्थात् आमूल परिवर्तनमा गर्न निरन्तर लागिपर्ने,’ आचारसंहितामा उल्लेख गरिएको छ । त्यस्तै, खानपान, रहनसहन, बसउठ सरल र सामान्य हुनपर्ने प्रस्ताव छ । 

त्यस्तै, नेता–कार्यकर्ताले वैवाहिक सम्बन्धबाहिर गएर सम्बन्ध राख्न नहुने विषय पनि आचारसंहितामा प्रस्तावित छ । ‘हामीले व्यवहारमा यही कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्धबाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ,’ संहितामा भनिएको छ, ‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नुहुँदैन ।’ त्यस्तै, सादा जीवन, उच्च विचारलाई सूत्र मान्नुपर्ने, बोल्दा अश्लील र अपशब्दको प्रयोग नगर्ने एवं विभेद हुने गरी अभिव्यक्ति दिन नहुने, आर्थिक जीवन र व्यवहार पारदर्शी हुनुपर्ने विषय पनि समेटिएको छ ।