
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनीतिक प्रशिक्षण सञ्चालन गरेको छ। हिजो फाल्गुण ९ देखि सञ्चालन भएको राजनीतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरेको थियो।
नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षण गर्दै जाने योजनास्वरूप रास्वपाले केन्द्रदेखि प्रशिक्षण आरम्भ गरेको छ। यसअघि उपलब्ध विज्ञको आधारमा रास्वपाले प्रशिक्षण गर्दै आएको थियो।
रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भएको हो। पार्टी कार्यबाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे प्रकाश पार्दै प्रशिक्षण सुरु गरेका थिए।
प्रशिक्षणमा कार्यबाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले, कार्यबाहक महामन्त्री, सहमहामन्त्रीहरू, कोषाध्यक्ष, सहकोषाध्यक्ष, केन्द्रीय सदस्यहरू, सांसदहरूको उपस्थिति रहेको थियो।
रास्वपाले यो प्रशिक्षणमा मूलतः ६ वटा मुख्य विषय प्रशिक्षणमा समेटेको छ ।
१. राजनीतिक प्रशिक्षण
२. शासन प्रणाली
३. समाज, सामाजिक न्याय र कानुन
४. अर्थराजनीति र भूराजनीति
५. सांगठनिक, जिम्मेवारी र लक्ष्य
६. प्रशासनिक व्यवस्था
प्रशिक्षणका ६ मुख्य शीर्षकहरूलाई १५ भागमा विभाजन गरी कुल ५६ वटा विषयहरूमा दुईदिने प्रशिक्षण सञ्चालन भएको छ।
प्रशिक्षणमा कक्षागत प्रशिक्षण, व्यावहारिक अभ्यास र दस्ताबेज अध्ययनलाई विधिको रूपमा लिइएको छ। जसमा व्याख्यान, प्रस्तुति र समूह छलफल, घटना अध्ययन, भूमिका नाटक र सामूहिक कक्षा, सम्बन्धित पुस्तक, संविधान र पार्टी दस्ताबेजहरू अध्ययनजस्ता विधिहरू समावेश गरिएको छ।
रास्वपाले केन्द्रीय प्रशिक्षणमा प्रयोग गरेको सामग्रीका आधारमा प्रदेश, जिल्ला र स्थानीय पालिका संगठनलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ। पार्टीले प्रशिक्षणको मूल्यांकन विधिसमेत बनाई मूल्यांकन गर्ने गरेको जानकारी गराइन्छ।