मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
चेन वे हुवा
२o८१ फाल्गुण ९ शुक्रबार o९:५७:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

युएसएआइडीको फिर्ती चीनका लागि अवसर हो ?

दिगो विकासका लागि संयुक्त राष्ट्र संघ २०३० एजेन्डाजस्तै विकास सहायता पनि गरिबी घटाउने माध्यम हो । यो अमेरिका भर्सेज चीन वा हामीविरुद्ध हुँदैन, कोही–कोही यसैगरी चित्रण गरिरहेछन् ।

Read Time : > 2 मिनेट
चेन वे हुवा
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार o९:५७:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी)का कार्यक्रम बन्द गर्ने निर्णयले डेमोक्र्याट्सलाई क्रुद्ध बनाएको छन् । केही डेमोक्र्याट्स सांसद र टिप्पणीकारले ट्रम्पको यो कदम चीनका लागि उपहार भएको बताएका छन् । अमेरिका युएसएआइडीबाट फिर्ता भएपछिको रिक्ततालाई चीनले खुसीसाथ भर्नेछ । अन्तर्राष्ट्रिय विकास एजेन्सीका कार्यक्रम बन्द गर्ने ट्रम्पको घोषणाले एक तरंग ल्याएको छ । यो विषय  डेमोक्र्याट र रिपब्लिकनले एक–अर्कालाई आलोचना गर्ने सबैभन्दा प्रभावकारी औजारको रूपमा समेत विकास भएको छ । 

तर, सहायताको काम सबै युएसएआइडीले नै गरेको दाबी गर्ने अमेरिकी राजनीतिज्ञले अफ्रिका, ल्याटिन अमेरिका र अन्य क्षेत्रमा खाँचोमा परेका मानिसलाई मद्दत गर्न कडा मिहिनेत गरिरहेका अग्रमोर्चाका धेरै कर्मचारीको अपमान गरेका छन् । उनीहरूले यी कर्मचारीलाई चीनलाई काउन्टर दिन ‘तिमीहरू अमेरिकी भूराजनीतिक औजारबाहेक अरू केही होइन’ भनिरहेका देखिन्छन् । युएसएआइडीको स्थापना शीतयुद्धको चरम समयमा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा गरेका थिए । विगतका दशकहरूमा यसले वास्तवमा विकासोन्मुख विश्वका लागि मानवीय र विकास सहायता प्रदान गर्दै धेरै सकारात्मक काम गरेको छ ।

चीन, रुस, भारत, युरोपेली संघका सदस्य राष्ट्रलगायत अन्य धेरै देशले विभिन्न रूपमा सहायताका काम गर्दै आएका छन् । विकास सहायतालाई शून्य राशिको भूराजनीतिक खेलमा परिणत गर्नुको सट्टा उनीहरूले अब विश्वभरका गरिब र अभावमा परेकाहरूलाई मद्दत गर्न हातेमालो गर्नुपर्छ । दिगो विकासका लागि संयुक्त राष्ट्र संघ २०३० एजेन्डाजस्तै विकास सहायता पनि गरिबी घटाउने माध्यम हो । यो अमेरिका भर्सेज चीन वा हामीविरुद्ध होइन (कोही–कोही यसैगरी चित्रण गर्न चाहन्छन्) । 

युएसएआइडीको फिर्तीले छाडेको शून्यता भर्न न्यून आय भएका देशलाई रोगविरुद्ध लड्न, पूर्वाधार र विद्यालय निर्माण गर्न, निर्माण सुविधामा लगानी गरेर थप अनुदान र विशेषज्ञता प्रदानका लागि वास्तवमा सबै देशलाई स्वागत छ । विकास सहायता सम्पूर्ण मानवजातिको लागि साझा आधार हो । एक जिम्मेवार प्रमुख देशको रूपमा चीनले पक्कै पनि विश्वव्यापी विकास सहायता वृद्धिलाई समर्थन गर्नेछ । तर, १.४ अर्ब जनसंख्या भएको ठुलो विकासशील राष्ट्रको रूपमा चीनले मात्रै युएसएआइडीले छोडेको शून्यता भर्न सक्दैन । 

सहायताको काम सबै युएसएआइडीले नै गरेको दाबी गर्ने अमेरिकी राजनीतिज्ञले अफ्रिका, ल्याटिन अमेरिका र अन्य क्षेत्रमा खाँचोमा परेका मानिसलाई मद्दत गर्न कडा मिहिनेत गरिरहेका अग्रमोर्चाका धेरै कर्मचारीको अपमान गरेका छन् । 

एउटा कुरा स्पष्ट छ, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको विदेश नीति निरन्तर रहनेछ । रुवान्डाका राष्ट्रपति पल कागामेले डिसेम्बरमा दोहा फोरममा यही भनेका थिए । अफ्रिकामा चीनको गतिविधिको सकारात्मक प्रकृतिलाई जोड दिँदै कागामेले चीनले अन्य देशजस्तो नभई सहायता वा ऋणमा कुनै शृंखला नजोडेको बताएका छन् । उनले अफ्रिकी देशलाई मूर्त लाभ पुर्‍याउने चीनको गतिविधिको प्रशंसा गरे जबकि केही पश्चिमी शक्तिहरूले अफ्रिकी जनतालाई लेक्चर मात्र दिए ।

ग्लोबल साउथका दोहा फोरमका अन्य सहभागीजस्तै नामिबियाका राष्ट्रपति नांगोलो एम्बुम्बा, बार्बाडोसका प्रधानमन्त्री मिया मोटली र होन्डुरसका विदेशमन्त्री एडुआर्डो एनरिक रेइना गार्सियाले पनि अफ्रिकी र ल्याटिन अमेरिकी देशसँग चीनको समर्थन र सहयोगको प्रशंसा गरे । तथापि, सबै युएसएआइडी कार्यक्रमका सन्दर्भमा यही कुरा भन्न सकिँदैन । उदाहरणका लागि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले युएसएआइडीको पारदर्शितामाथि प्रश्न उठाए । वास्तवमा, केही ल्याटिन अमेरिकी नेताले आफ्ना देशमा विपक्षीलाई अनुदान दिने युएसएआइडीको एजेन्डाको कारणले एजेन्सी बन्द भएकोमा खुसी व्यक्त गरे ।

युएसएआइडीले विदेशी सरकारहरूलाई अस्थिर बनाउने उद्देश्यले विभिन्न गोप्य कार्यमा अमेरिकी विदेश मन्त्रालय र केन्द्रीय खुफिया एजेन्सीसँग मिलेर काम गरेको छ भनी सुझाव दिने प्रशस्त प्रमाण छन् । युएसएआइडीको सबैभन्दा ठुलो कमजोरी भनेको तथाकथित स्वतन्त्र पत्रकार र विश्वभरका गैरसरकारी संस्थालगायत धेरै समाचार आउटलेटमा अपारदर्शी अनुदान हो । यीमध्ये केही संस्थाले विगतका वर्षमा असामान्य रूपमा गलत सूचना फैलाएका छन् र चीनविरुद्ध अभियान सुरु गरेका छन् ।

यद्यपि, मलाई आशा छ कि अमेरिकाले न्यून आय भएका देशमा गरिबी र एड्ससँग लड्न मद्दत गर्नेछ । विश्व स्वास्थ्य संगठन, पेरिस सम्झौता, संयुक्त राष्ट्र मानव अधिकार परिषद्, युनेस्को र प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्तराष्ट्र राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) बाट बहिर्गमन हुने आफ्ना गल्तीहरूलाई पनि अमेरिकाले सच्याउनेछ भन्ने मलाई आशा छ ।

(लेखक ब्रसेल्सस्थित चाइना डेली इयू ब्युरोका प्रमुख हुन् । ) चाइना डेलीबाट