
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्ने काम भएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताएका हुन् ।
‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’, उनले भने । लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताका सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ रहेको छ । १० वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनको भनाइ रहेको थियो ।
संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्नेमा गृहमन्त्री लेखकको जोड रहेको छ । कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ । राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको दाबी पनि उनले गरेका छन् ।