
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको राम्रो सम्भावना रहेको बताएका छन् । यसकारण नेपालमा केही छैन भन्ने गलत मान्यतालाई चिर्न जरुरी रहेको उनले बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा उनले उद्यमशीलताको विकास गर्दै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, ती सम्भावनालाई अवसरमा बदल्न आवश्यक छ ।’
यहाँको स्रोतसाधनलाई उपयोग गरेर धेरै आम्दानी गर्न सकिने चर्चा गर्दै उनले नेपालमा प्राकृतिक सोतसाधनको प्रचुर सम्भावना रहेको र त्यसलाई ‘क्यापिटलाइज’ गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरूले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० सालमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासँगै यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको बताए ।
संघले शिक्षा क्षेत्रमा लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण, स्वास्थ्यमा आम्दा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति भवन निर्माणलगायत पूर्वाधार निर्माणमा लगानीसहितको नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै अर्यालले त्यसबाहेक यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा पनि उल्लेखनीय योगदान गरिएको बताए ।
पूर्वअध्यक्ष मल्लीलाई सम्मान
कार्यक्रममा बुटवल उद्योग पाणिज्य संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्लीलाई सम्मान गरिएको छ । संघको स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षहरूको तर्फबाट उनलाई सम्मान गरिएको हो । संघलाई पुर्याएको योगदान बापत उनलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
संघको स्थापना दिवसकै अवसरमा मानव सेवा आश्रमलाई ५१ हजार रुपैँयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । यस्तै बुटवल उद्योग वाणिज्य संघको आयोजनामा भएको औधोगिक व्यापार मेलामा योगदान गरेका फरक क्षमताका भरतराज केसी र डिल्लीराज कँडेललाई पनि सम्मान गरिएको थियो ।