
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रिडीमा करिब सातादेखि भुसुनाको आतंक फैलिएको छ। भुसुनाको कारण बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भइरहेको स्थानीयले बताएका छन्।
रिडी बजार क्षेत्र, भित्री सडक तथा बगरमा व्यापक भुसुना फैलिएको छ। विगत आठ/दश वर्षदेखि छिटफुट भुसुना देखिए पनि अहिले व्यापक रहेको रिडीका युवा व्यवसायी सुन्दर कसजूले जानकारी दिए।
उनका अनुसार बजारमा माक्स, हेलमेट र चस्माविना खुला तथा मोटरसाइकलमा हिँड्न समस्या भइरहेको छ। बिहान घामको तापसँगै भुसुना व्यापक रूपमा उड्न थाल्ने कसजूले बताए। सबैतिर उड्ने अनि नाक, मुख र आँखामा पस्ने भएकाले स्थानीयकाे दैनिकी कष्टकर बनिरहेको छ।
स्थानीयस्तरमा गरिएका नियन्त्रणका उपाय कुनै काम लागेका छैनन्। ‘धुवाँ उडाएर धपाउने कोसिस असफल भएको छ। बरु उल्टै धुवाँले बजार प्रदूषित बन्ने अवस्था छ,’ उनले भने, ‘आफूहरूको तर्फबाट नियन्त्रण गर्न नसकेकाले ठुलो समस्या झेल्नुपरिरहेको छ।’
भुसुनाको तत्काल स्वास्थ्यमा प्रभाव देखिएको छैन। रुरु प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर श्रृतासन ज्ञवालीले भुसुनाको स्रोत पत्ता लगाएर रोग सार्ने वा नर्साने विषयमा भन्न सकिने बताए। तर, आँखामा छिरेर आँखाको जलन र नाकमुखमा छिरेर इरिटेसन गरिरहेको डाक्टर ज्ञवालीले बताए। साथै, खोकी र हाच्छिउँसमेत गराउने भएकाले स्थानीयको जनजीवन प्रभावित पारिरहेको बताए।