
बैतडीको सिगास गाउँपालिका– १ का शिक्षक प्रकाश दमाईंकी आमाको शव २४ घण्टापछि उठेको छ। उनको शव अन्तिम संस्कारका लागि ट्याक्टरमा राखेर पाटन नगरपालिका– ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पुर्याइएको हो। शवयात्रामा दुईजना गैरदलित समुदायका गरी १८ जना सहभागी भए।
करिब तीन सयजनाको बसोबास रहेको सिगास– १ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो। उनकी ६१ वर्षीया आमा माना दमाईंको शव बोक्न स्थानीय कसैले पनि नमानेपछि झन्डै अढाइ सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्त आएपछि शवयात्रा सुरु गरिएको हो।
आइतबार बिहान ११ बजे शवयात्रा सुरु भएकोमा पाटन पुर्यइएको शवयात्रामा सहभागी नरबहादुर साउदले बताए। छिमेकी जिल्ला डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए। आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुईजना मात्र मसानघाट पुगेको जानकारी दिए।
सिगास–१ स्थित घरभन्दा आधा घण्टानजिक डुब्के मसानघाट रहे पनि आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई करिब ५० किलोमिटर टाढाको पुर्ख्यौली मसानघाट पाटन ल्याइएको प्रकाशले बताए।
सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शवयात्रा थालिको स्थानीयहरूले बताएका छन्। सिगास– १ का वडासदस्य धनीराम भट्टले राति १२ बजेसम्म आफू पनि प्रकाशकै घरमा शव कुरेर बसेको बताए।
गाउँका अधिकांश व्यक्तिहरू रोजगारीका लागि बाहिर रहेको र केही सामाजिक मान्यताहरूका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताए। ऐरीका अनुसार स्थानीयहरूले नै शवयात्राका लागि रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका हुन्।