मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार १८:४९:oo
Read Time : > 1 मिनेट
अर्थ

फेवा नव वर्ष महोत्सव ३० चैतदेखि

चार सय होटल तथा रेष्टुरेण्टले सडकमै भान्छा सञ्चालन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार १८:४९:oo

पर्यटन, नेपाली कला संस्कृति र खानालाई जोड दिँदै प्राकृतिकसँगै मानवीय अतिक्रमणमा परेको फेवा तालको संरक्षण गर्ने उद्देश्यले पोखरामा सञ्चालन हुँदै आएको फेवा नव वर्ष महोत्सवको २०औँ संस्करण आगामी महिनाको ३० चैतदेखि हुने भएको छ ।

अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई समेत उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यसहित होटेल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिकालगायतको सहयोगमा तीनदिने महोत्सव आयोजना गर्न लागेको हो महोत्सव १ वैशाख ०८२ सम्म चल्नेछ ।

आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीका अनुसार फेवा ताल किनारको ड्यामसाइड चोकदेखि लेकसाइडको गैराको चौतारासम्म ( तीन किलोमिटर क्षेत्र) यस क्षेत्रका होटल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र पर्यटकलाई सेवा दिनेछन् ।

महोत्सवमा रेष्टुरेन्टसँगै खाना र अन्यका गरी चार सयको हाराहारीमा स्टल राखिने, पर्यटकहरूले सडक मै खानाको स्वादसँगै नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने कार्यक्रम, पर्यटकीय क्षेत्रको जानकारी, खेलकुद, लाइभ ब्याण्ड, सडकमै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत हेर्न पाउने सुवेदीले जानकारी दिए ।

महोत्सवमा आउने आगन्तुक र पोखरा आउने पाहुनाहरूलाई संघले प्रदान गर्ने सेवामा विशेष छुट दिने र सोको घोषणा छिटै गरिने संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार होटलहरूसँगै अन्य व्यवसायीले समेत महोत्सव अवधिभर छुट दिने र दिने छुट केहीदिनमा संघले सार्वजनिक गरिने भएको छ ।

आन्तरिक एवं वाह्य गरी तीन लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको संघकी सचिव पार्वता पाण्डेले बताइन् । महोत्सवमार्फत देशविदेशका पर्यटकलाई पोखरा भ्रमणका लागि आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने रहेको उनले बताइन् । निःशुल्क प्रवेशको व्यवस्था रहने महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढाइएको उनले जानकारी दिइन् ।

कोभिड १९ बाट प्रभावित पर्यटन क्षेत्रलाई लयमा फर्काउनसमेत महोत्सव सहयोगी हुने अपेक्षा आयोजकको रहेको महोत्सवका सहसंयोजक गणेशराज पहारीले बताए । महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढावा दिन संघले दुई दशकदेखि ‘जाउँ है पोखरा...’ अभियान र भारतीय सहरहरूमा ‘चलिए पोखरा...’ अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।