मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ फाल्गुण १० शनिबार o८:o८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई फेरि वार्तामा बोलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार o८:o८:oo

गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत ‘नो केबलकार समूह’लाई पुनः वार्तामा आउन आह्वान गरेको छ । गत १० माघमा गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत समूहलाई पुनः वार्तामा आउन आग्रह गरेका हुन् ।

२२ माघमा ‘नो केबलकार’ समूहले सरकारसँग ६ बुँदे सहमति भएपछि समूहले आन्दोलन स्थगित गरेको थियो । तर, २७ माघमा मन्त्रालय र आन्दोलनरत पक्षको वार्ता विनानिष्कर्ष टुंगिएपछि समूहले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको थियो । विज्ञप्तिमा पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा देखिएको समस्याकोे शान्तिपूर्ण समाधानका लागि टोली सक्रिय रहेको उल्लेख गरिएको छ । तर, वार्ता समिति पदाधिकारीले भने कर्मचारीसँग वार्ता गर्न अस्वीकार गर्दै राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने सर्त राख्दै आएका छन् ।

ताप्लेजुङमा रहेको पाथीभारा मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माणको विषयलाई लिएर पछिल्ला दिनमा तनाव चुलिँदै गएको छ । लिम्बूहरूको मुक्कुम्लुङ पाथीभारा तीर्थस्थल मासिने भन्दै स्थानीय लिम्बू समुदायमध्येका केहीले ‘नो केबलकार’ भन्दै आन्दोलन गर्दै आएका छन् । अर्कोतिर केही दिनअघि केबलकार निर्माणको पक्षमा पनि ठुलो जनप्रदर्शन भएको थियो । 

बिहीबार प्रहरी र आन्दोलनकारीबिचको झडपमा १३ जना घाइते भएका छन् । प्रदर्शनमा जनपद प्रहरीतर्फ ६ जना घाइते भएको र सशस्त्र प्रहरीतर्फ पाँचजना सुरक्षाकर्मी घाइते भएका थिए ।