![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/rekha-sharm2024-09-02-10-35-07.jpeg)
बाल श्रमशोषणको कसुरमा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई सरकारले ‘क्लिन चिट’ दिएको छ । सरकारी वकिल कार्यालयमार्फत उनलाई मुद्दा नचलाउने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिल, कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरी उच्च सरकारी वकिल कार्यालयमा पठाएका छन् ।
सरकारकै दबाबमा यो घटनाको अनुसन्धान प्रभावित भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसअघि प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गरेका थिए । सांसद शर्माविरुद्ध महानगरपालिकाले नै जाहेरी दिएको हो ।
सरकारकै दबाबका आधारमा प्रहरीले पक्राउ नगरेको आशंका गर्दै बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा शर्माविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको थियो । बालिकालाई घरेलु कामदारमा राखी दुर्व्यवहार गर्दै आएको भन्दै जाहेरी परेको थियो । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले गत १४ जेठमा उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो ।
पढाइदिने भन्दै बालिकालाई घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनको महानगरले उद्धार गरेको थियो ।
जाहेरी दर्ता भएपछि त्यसविरुद्ध सांसद शर्मा उच्च अदालत गएकी थिइन्। सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएकोमा २३ साउनमा दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले दबाबकै भरमा अनुसन्धान गरेन ।
उद्धारपछि बालिकाका बुबाले छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले बालिकाको इच्छालाई नै केन्द्रमा राखी अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दियो । सोहीअनुसार बालिका हाल एक संस्थामा बसेर पढ्दै आएकी छिन् ।
काठमाडौं महानगरपालिकाले परिवारबाहिर आफन्त तथा अन्य व्यक्तिहरूको घरमा बसेका बालबालिकामाथि अध्ययन गर्दा बालश्रम शोषणको घटना पत्ता लागेको हो । महानगरपालिकाकी बाल कल्याण अधिकारी शान्ता पहाडीका अनुसार अरूको घरमा बसेर सामुदायिक विद्यालयमा पढ्ने २५५ जना विद्यार्थीलाई फर्म भर्न लगाएर अध्ययन भएको थियो। । जसमध्ये २९ जनाले आफूले गम्भीर प्रकृतिको हिंसा भोग्दै आएको बताए। तीमध्ये महानगरपालिकाले २० जनाको उद्धार गरिसकेको छ । नेता, प्रहरी, प्राध्यापकका घरबाट बालबालिकाहरूको उद्धार भएको छ । कतिपयलाई यसअघि मुद्दासमेत दायर भइसकेको छ ।