मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Tuesday, 11 February, 2025
सौरभ यादव राजविराज
२o८१ माघ २९ मंगलबार o६:३५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चौतर्फी विरोधपछि सत्येन्द्र र नेहालाई घर पठाइयो 

Read Time : > 3 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार o६:३५:oo
  • सडकदेखि सदनसम्म गृहमन्त्रीको चर्को आलोचना भएपछि आइजिपीले प्रहरीमै कार्यरत सत्येन्द्रका बुबालाई पटक–पटक फोन गरेर छोराबुहारीलाई घर लैजान दिएका थिए निर्देशन, बरहथवा बजारबाट घरसम्म स्कर्टिङ, दुई प्रहरी घरमा तैनाथ
सर्लाहीका सहायक सिडिओ होमप्रसाद घिमिरे, एसपी रवीन्द्रकुमार सिंह, सशस्त्रका एसपी विनोदराज खनाल, अनुसन्धानका डिएसपी रामरिझन यादवलगायतको टोली सोमबार सत्येन्द्रको घरमा पुगेर सुरक्षाको आश्वासन दिँदै।

राज्यबाटै असुरक्षित भएपछि काठमाडौंमा लुकीछिपी बस्दै आएका अन्तरजातीय दम्पती सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारको न्यायका लागि चौतर्फी आवाज उठेसँगै दबाबमा परेको सरकारले उनीहरूलाई पूर्ण सुरक्षा हुने ग्यारेन्टी दिएर सर्लाही बरहथवास्थित घर पठाएको छ । आइजिपी वसन्तबहादुर कुँवरले प्रहरी संगठनमै रहेका सत्येन्द्रका बुबा इन्दल रामलाई छोरा–बुहारी घर लैजान दबाब दिएपछि सोमबार परिवारका सबै सदस्य बरहथवा– १०, कटानीस्थित घर गएका हुन् । 

सत्येन्द्र र नेहालाई छुटाउन गृहमन्त्री रमेश लेखकको आदेश र आइजिपी कुँवरको निर्देशनमा बम्बईसम्म प्रहरी पुगेर कुटपिट गर्दै पक्राउ गरेको, बालविवाहको झुटा मुद्दा चलाएको विषय सडकदेखि सदनसम्म उठेपछि सरकार दबाबमा परेको थियो । गृहमन्त्रीमाथि संसदीय समिति बनाएर छानबिन गर्न सांसदहरूले संसद्मै आवाज उठाएका छन् भने अधिकारकर्मीहरूले उनीमाथि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयदेखि मानव अधिकार आयोगसम्म उजुरी दिएका छन् । चौतर्फी दबाब बढ्न थालेपछि आइजिपी कुँवरले इन्दललाई छोरा–बुहारी घर लैजान दबाब दिएका थिए । राष्ट्रिय मानव अधिकार आयोगले पनि सत्येन्द्रको परिवारलाई सुरक्षा दिन आइतबार मात्र प्रहरीलाई पत्राचार गरेको थियो । 

बुवा–आमासहित काठमाडौंबाट गाडी रिजर्भ गरेर गएका सत्येन्द्र र नेहालाई बरहथवा बजार पुगेपछि सर्लाही प्रहरीले स्कर्टिङ गरेर घर पुर्‍याएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्रकुमार सिंह, सशस्त्र प्रहरीका एसपी विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका डिएसपी रामरिझन यादवलगायतको टोली घरमै पुगेर पूर्ण सुरक्षाको ग्यारेन्टी गरेको सत्येन्द्र र नेहाले बताएका छन् । सुरक्षाका लागि घरमा दुईजना प्रहरी खटाइदिएको पनि उनीहरूले बताए । 

तर, आफूहरूको शान्तिसुरक्षासँगै सर्लाही जिल्ला अदालतमा दर्ता भएको बालविवाहको झुटा मुद्दा खारेज तथा मुद्दा दर्ता गर्नेलाई कारबाही हुनुपर्ने, पटक–पटक पक्राउ गरेर कुटपिट गर्ने प्रहरी तथा उनीहरूलाई निर्देशन दिने आइजिपीदेखि गृहमन्त्रीसम्मका उच्च अधिकारीमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 

घर पुगेपछि सत्येन्द्र र नेहाले भने–  झुटा मुद्दा चलाउनेदेखि कुटपिट गर्दै पक्राउ गर्ने र उनीहरूलाई निर्देशन दिने गृहमन्त्री र आइजिपीसहितका अधिकारीमाथि छानबिन होस्

हामीहरू आज (सोमबार) आमा र बुबासहित घर आइपुगेका छौँ । काठमाडौंबाट हामी आफैँ गाडी रिजर्भ गरेर आएका हौँ । बरहथवा बजार आएपछि भने प्रहरीले स्कर्टिङ गरेर घरसम्म ल्यायो । सहायक सिडिओ, प्रहरीका एसपी, सशस्त्रका डिएसपीलगायत पनि बजारबाट हामीसँगै घर आइपुग्नुभयो । एसपी सापले ‘तिमीहरूलाई बम्बईसम्म पुगेर लखेटेर पक्राउ गरेको विषयमा त मलाई थाहै थिएन, न्युजमा आएपछि मात्रै थाहा पाएँ’ भन्नुभयो । उहाँहरूले यहाँ (घरमा) रहँदासम्म सुरक्षा दिन्छौँ भन्नुभएको छ । घरमा २४सै घण्टा सुरक्षाका लागि भनेर दुईजना प्रहरी खटाइदिनुभएको छ । हामी कतै जानुपरे पनि उनीहरूले सँगै सुरक्षा दिने भन्नुभएको छ । 

आइजिपी सरले बुबालाई छोरा–बुहारी घर लैजानुस् भन्नुभएछ । अनि हामी परिवारमा सल्लाह गरेर आएका हौँ । प्रहरीको सुरक्षा दिएर मात्रै हामीलाई शान्ति हुँदैन । अदालतमा बालविवाहको झुटा मुद्दा छ । घरमा आउनुभएका सहायक सिडिओ, एसपीहरूसँग हामीले यो कुरा पनि राख्यौँ । उहाँहरूले मुद्दा खारेज गराउन पहल गर्छौँ भनेर आश्वासन दिनुभएको छ । तर, त्यो झुटा मुद्दा भएकाले खारेजभन्दा पनि फिर्ता लिनुपर्छ भन्ने हाम्रो माग छ । उहाँहरूले अदालतमा कुरा गर्छौँ भन्नुभएको छ । 

हामीमाथि अन्याय गर्नेलाई पनि छानबिन गरेर कारबाही होस् । शान्तिसुरक्षा दिनुपर्ने ठाउँमा बसेर उल्टै अन्तरजातीय विवाह गरेकै नाममा यत्रो अत्याचार गरे । हामी बम्बई जाँदा केही आधिकारिक–पत्रसहित आदेश गरिएको भए हामी आफैँ प्रहरीमा उपस्थित हुन्थ्यौँ । तर, विनाकागज, सिभिल डे«समा गएर प्रहरीले जबर्जस्ती पक्राउ गर्‍यो, कुटपिट गर्‍यो । त्योभन्दा अत्याचार के हुन्छ ? ती दुवै प्रहरीलाई मात्रै होइन, उनीहरूलाई निर्देशन दिने आइजिपी र गृहमन्त्रीलाई पनि कानुनी दायरामा ल्याएर छानबिन गर्नुपर्छ । संलग्न देखिने सबैलाई कारबाही हुनुपर्छ । नत्र त भोलिका दिनमा समेत हामीमाथि जे पनि गर्न सक्छन् । हामीजस्तै अरूमाथि पनि यस्तो अन्याय नहोस् भन्नका लागि पनि दोषीलाई कारबाही गर्नुपर्छ । 

बिवाह दर्तापछि पनि बालविवाहको मुद्दा दर्ता गर्नेमाथि कारबाही होस् । एउटा अदालतमा विवाह दर्ता भइसकेपछि अर्को अदालतमा कसरी बालविवाहको मुद्दा दर्ता भयो ? अनि कागजात केही नहेरी कसरी धरौटी माग गरियो ? यो विषय सामान्य त होइन नि ! 

राज्यले गरेको खेलवाडले हाम्रो पढाइ दुई वर्ष क्षति भइसक्यो । हामीले पढाइ अगाडि बढाउन पाउनुपर्‍यो । भोलि बाटोमा हिँड्दा होस् कि केही गर्दा हामीलाई कुनै प्रकारको झमेला नहोस् । त्यसैले, तत्काल मात्रै होइन, दीर्घकालीन शान्तिसुरक्षा चाहियो । यसका लागि हामीमाथि अन्याय गर्नेहरूमाथि कारबाही हुनुपर्छ ।  

प्रहरीहरू मेरो (नेहा) बुवाको खर्चमा बम्बईसम्म हामीलाई पक्राउ गर्न गएका छन् । उनीहरूले बुवाको करोडौँ सकाएका छन् । प्रहरीले अनुसन्धानका नाममा व्यक्तिको पैसा लिन मिल्छ ? यहाँ त मेरो बुवा पनि पीडित हुनुहुन्छ ।

प्रहरीले खोसेर लगेको सर्टिफिकेट र गरगहना अहिलेसम्म फिर्ता दिएको छैन । मानव अधिकार आयोगले बयानमा बोलाएर एसपी रुगम कुँवरलाई यसबारे सोधेको रहेछ । कुँवरले सर्टिफिकेट र गरगहना केटी (नेहा)को परिवारलाई दिएको बताएको भनेर हामीलाई आयोगका अधिकारीले भनेका छन् । 

तीन–चार महिनादेखि घर रित्तो थियो । आमा (गीतादेवी)विरुद्ध पनि बालविवाहको मुद्दा दायर भएपछि उहाँ पनि विस्थापित हुनुपरेको थियो । अहिले घर फर्किएर आउँदा धेरै कुरा बिग्रिएको छ । बत्ती, पानीको कललगायत सबै बर्बाद भइसकेको रहेछ ।