![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chabi-joshi2025-02-11-08-55-36.jpeg)
सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशी बन्जाडेलाई पुर्पक्षका लागि कारागार पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशपूर्व अनौठो संयोग देखिएको छ । गोलाअनुसार जोशीको सुनुवाइ जिल्ला न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासमा परेको थियो। तर, गोला तान्ने समयमा घिमिरे काठमाडौंमै थिए । आफूले हेर्ने मुद्दा सम्बन्धित न्यायाधीशले गोला तानेपछि मात्रै थाहा हुन्छ । यसका लागि बिहान १० बजेपछि सबै न्यायाधीशले गोला तान्नुपर्छ ।
बिहान ९ बजे नै रुपन्देही जिल्ला अदालतमा आफैँ उपस्थित भएका जोशीलाई न्यायाधीश काठमाडौंमा रहेको र आउनेबित्तिकै बयान सुरु हुने बताइएको थियो । न्यायाधीश घिमिरे काठमाडौंबाट पुगेपछि (चिया समयपछि) जोशीको थुनछेक बयान, बहस र आदेश भयो । करिब तीन घण्टामा यी सबै काम सकाइयो । रवि लामिछानेको बहसका लागि जिल्लाका सबै सरकारी वकिल जम्मा भएका थिए । तर, छविको हकमा सरकारी वकिलहरूको ‘लाइन’ लागेन । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि ठहरेबमोजिम हुने गरी अहिलेलाई उनलाई थुनामा पठाउने आदेश’ भएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष रहेका जोशी मुद्दा चलेपछि सोमबार नै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसमा रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सहन्यायाधिवक्ता गोकर्ण घिमिरे र प्रतिवादीतर्फबाट मनोजकुमार चौधरीलगायतले बहस गरेका थिए । यो मुद्दामा रास्वपा सभापति रवि लामिछाने एक करोड बैैंक ग्यारेन्टीमा रिहा भएका थिए ।