मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

चितवनको साहारा सहकारी मुद्दामा सरकारी वकिल कार्यालयको निष्कर्ष : रविविरुद्ध संगठित अपराध आकर्षित हुने अवस्था देखिएन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार o६:५७:oo

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संगठित अपराध आकर्षित हुने अवस्था नदेखिएको निष्कर्षसहित मुद्दा दायर गरेको छ । रविविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार सहकारी ठगीमा मात्रै मुद्दा दायर गरेको हो । रविविरुद्ध यो चौथो मुद्दा हो । 

गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा संगठित रूपमा सहकारी ठगी गरेको अवस्था नभएको भन्दै उनीविरुद्ध संगठित अपराधको मुद्दा नचलाउने निर्णय भएको हो । ‘हामीले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमै मुद्दा दायर गरेका हौँ,’ मुद्दा दायर गरेपछि मंगलबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले नयाँ पत्रिकासँग भनेका थिए, ‘उनी (रवि) सरकारीको सदस्य वा सञ्चालक भएको तथा सरकारीको रकम अन्य कम्पनीमा लैजाने कार्यमा संलग्न भएको पनि देखिएन । अन्य तीन जना संलग्न देखिएकाले ठगी र संगठित दुवै मुद्दा चल्यो ।’

यसअघि पोखराको सूर्यदर्शन सहकारीमा रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण तथा काठमाडौंको स्वर्णलक्ष्मी र बुटवलको सुप्रिम सहकारीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो । ती सबै मुद्दामा उनी अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । 

चितवनमा रविसहित १५ विरुद्ध सहकारी रकम अपचलनमा पूरक अभियोगपत्र दर्ता भएको छ । पहिलो चरणमा १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । सहकारीबाट पैसा गएका ६ कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ । ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको लुइँटेलले बताए । 

रविसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्दिकी, भगवती बमजन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा थपिएको छ । जिबी राईका एकभन्दा धेरै कम्पनीमा साझेदार रहेका र सहकारीका सञ्चालकविरुद्ध भने सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गरिएको छ । 

लुइँटेलका अनुसार साहारा चितवन बहुउद्देश्यीय सहकारीबाट गोर्खा मिडियामा १० करोड ८० लाख १९ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा गएकोमा चारजना सञ्चालकलाई बराबर हुने गरी १० करोड ८० लाखको बिगो कायम गरिएको छ । जसअनुसार रविविरुद्ध करिब दुई करोड ७० लाखबराबरको बिगो दाबी गरिएको छ । गोर्खा मिडियाका अन्य सञ्चालकमा जिबी राई, छविलाल जोशी र कुमार रम्तेल छन् । उनीहरू सञ्चालक रहेका अन्य कम्पनीमा पनि सहकारीको पैसा गएको देखिएपछि उनीहरूको हकमा संगठित अपराधको मुद्दा पनि चलेको छ । 

जिबी राईसहित सागर केसी, हेमन्त राई, भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरविरुद्ध भने गत ८ असोजमै मुद्दा दायर भएको थियो । त्यति वेला सहकारी ठगीमा प्रत्यक्ष संलग्नलाई प्रहरीले मुद्दा चलाएको थियो । यसपटक सहकारीबाट गएको रकम खर्च गर्ने भूमिकामा रहेकालाई पनि प्रतिवादी बनाइएको छ । तर, सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारीबाट पैसा लैजाने भूमिकामा रविकोे संलग्नता नदेखिएको भनेर प्रतिवेदन दिँदा पनि उनलाई मुद्दा चलाइएको रास्वपाको दाबी छ । 

रवि तानिएको पर्साको सानो पाइला सहकारीमा पनि प्रहरीले अनुसन्धान टुंग्याएर सरकारी वकिललाई फाइल बुझाउने तयारी गरेको छ । जिबी राईको समूहले सञ्चालन गरेका विभिन्न सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगिएको र प्रबन्ध निर्देशकका रूपमा रवि पनि त्यो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई तानिएको छ । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गर्दै आएको छ ।