मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
डिलाराम भुसाल कपिलबस्तु
२o८१ माघ २२ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै कारबाही

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलबस्तु
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १४:१३:oo

मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै  आज मंगलबार तीनवटा ट्रकलाई जबर्जस्ती कारबाही गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको लु.१झ ७३८ नम्बरको सवारीलाई साइड नदिएको झोँकमा तीनवटा ट्रक कारबाहीमा परेको बताएको छ ।  

हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु नगरपालिका सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा जाँदै गरेकाे मन्त्री कार्कीको गाडीलाई साइड नदिएको भन्दै प्र१०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरको गाडीलाई पाँच सयको दरले कारबाही गरिएको हो । मन्त्री कार्कीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले मालवाहक ट्रक रोकेर ट्राफिकलाई जबर्जस्ती कारबाही गर्न निर्देशन दिएको बताइएको छ । 

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रकचालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरेको आरोप लगाएका छन् । ‘हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबर्जस्ती जरिवाना तिरायो,’ चालक दिलबहादुर कटुवालले भने । ‘पछाडि को आएको छ कसरी हेर्ने ? साइड मिररबाट मन्त्री चिन्न सकिन्न, पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रै लागि बनेको रैछ,’ उनले गुनासो गर्दै भने । मन्त्रीले गाडीभित्रैबाट थुन्न आदेश दिएको, तर प्रहरीले भने सामान्य कारबाही मात्रै गरेर छाडेकोसमेत चालकहरूले दुखेसो पोखे ।

मंगलबार बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि हिँडेका मन्त्री कार्कीको गाडी आफैँमा निकै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीले भने ट्रकचालकहरूले बाटो छेकेर भिडियो बनाइरहेको र आफूहरूले हर्न बजाउँदासमेत सडक जाम गरेका कारण कारबाही सिफारिस गरेको दाबी गरेका बताइएको छ ।