ताप्लेजुङ । ताप्लेजुङमा तिहारको रौनक बढेको छ। सफा मौसम, खेतमा झुलेका धानका बाला, घरआँगनमा फुलेका सयपत्री र मखमली फूल अनि गाउँदेखि सहरसम्म गुञ्जेका देउसीका भाकाले जिल्लामा तिहारको रौनक बढाएको छ। उज्यालो र खुसीको पर्व तिहारसँगै जिल्लाका विभिन्न गाउँ तथा बजारमा सांस्कृतिक नाचगान छाएको छ।
तिहारमा घरघरमा सरसफाइ, लिपपोत र सजावटले अझ आकर्षक बनाएको छ। तिहारको विशेष आकर्षण देउसी–भैलो टोलैपिच्छे र गाउँपिच्छे छ। ताप्लेजुङका बजारदेखि गाउँसम्म साँझपख समूह बनाएर देउसी–भैलो खेल्ने नाचगान गर्ने क्रम जारी छ।
खैँजडी, झ्याम्टा, लिम्बू समुदायकोच्याब्रूङ, मादलको तालमा गुञ्जिने देउसीका भाकाले गाउँबस्ती र बजार क्षेत्रलाई उत्सवमय बनाएकाे छ। परम्परागत भजन, गीत र नाचमार्फत शुभकामना तथा आशीर्वाद दिँदै घरघर पुग्ने समूहले तिहारको सांस्कृतिक पक्षलाई जीवन्त बनाएकाे छ।
देउसी–भैलोमा बालबालिका, युवायुवती र विभिन्न उमेर समूहका मानिस सहभागी भइरहेका छन्। यसले मनोरञ्जनसँगै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता बढाउन सहयोग गरेको छ।
अहिलेका युवाहरूले विभिन्न नाचगान गरेर अत्यन्तै रमाइलो गर्ने गरेको ९० वर्षीय कृष्णप्रसाद आचार्य बताउँछन्। बाजागाजासहित आएका देउसे भैलीहरूले गाउँ नै रमाइलो बनाएको फुङलिङ नगरपालिका–७ का वृद्ध आचार्यको भनाइ छ।
केही वर्ष अगाडि हराएको देउसी भैलो परम्परा फेरी जीवित भएको आचार्य खुसी व्यक्त गर्दछन्। दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम र आत्मीयता साटासाट गर्ने भाइटीका लगाएसँगै तिहार सम्पन्न भएकाे छ। यद्यपी, परम्परा, संस्कृति र पारिवारिक मिलनको पर्व तिहारले ताप्लेजुङका बस्तीमा खुसी, उमङ्ग र उत्साह थपेको छ।