गोरखा । गोरखाको सिरानचोक गाउँपालिका– २, सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।
आज बिहान ११:३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परेर ट्याक्सीचालकसहित पाँचजना घाइते भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट चित्रेपोखरी गोरखाबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमान्डमा तीनजनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उक्त स्थान अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट करिब ७ किलोमिटर उत्तरमा पर्दछ।