दृष्टिविहीन लल्कु र कृष्णुलाई विद्यालय भर्ना गरिने

शुक्रबार, ४ मंसिर, २०८३
प्रिन्ट संस्करण
दृष्टिविहीन लल्कु र कृष्णुलाई विद्यालय भर्ना गरिने

लल्कु र कृष्णुको अवस्था अवलोकन गर्न पुगेका सिडिओ युवराज कट्टेल ।

  • आमा र दिदीको नागरिकता बनाएर बैंक खाता खोलिने, बाबुलाई सुधारगृहमा पठाइने 

विराटनगर- जन्मँदै दृष्टिविहीन मोरङको कटहरी गाउँपालिका– २, आदर्श टोलका ११ वर्षीय लल्कु र १० वर्षीय कृष्णु मरिकलाई सहयोग गर्न मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल आफैँ अघि सरेका छन् । आर्थिक अभावमा दृष्टिविहीन दाजुभाइको आँखाको उपचार हुन सकेको थिएन भने विद्यालयसमेत जान पाएका थिएनन् ।

नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि मोरङका सिडिओ कट्टेलले उनीहरूको दयनीय अवस्थाबारे चासो दिएर तत्काल दातामार्फत खाद्यान्न र न्यानो कपडा सहयोग जुटाउँदै बिहीबार आफैँ घरमा पुगेर उनीहरूको अवलोकन गरेका हुन् । उनले लल्कु र कृष्णुलाई धरानस्थित ज्ञानचक्षु विद्यालयमा भर्ना गरिदिने व्यवस्था मिलाइदिएका छन् । आमा निर्मला र दिदी रेखाको नागरिकता र राष्ट्रिय परिचयपत्र बनाइदिएर बैंक खाता खोलिदिन निर्देशन दिएका छन् । हरेक दिन रक्सी पिएर श्रीमतीमाथि कुटपिट गर्ने बाबु छोटुलाई सुधारगृहमा पठाइने भएको छ । ‘योभन्दा गरिबी हेर्न कतै जानुपर्दैन, अब बच्चालाई अपांगता स्कुल भर्ना गराउने, बाबुलाई सुधारगृह पठाउने र आमा तथा दिदीको नागरिकता बनाएर बैंक खाता खोलिदिने सबै काम शुक्रबार नै हुनेछ, यो हाम्रो कर्तव्य पनि हो,’ कट्टेलले भने ।

सिडिओ कट्टेलकै आग्रहमा बाल सुधारगृह विराटनगरले जोगवनीका व्यपारी अशोक डाँगाको जोगवनी ब्रान्ड आउटलेटमार्फत जुटाएको थियो । व्यापारी डाँगाले दाजुभाइका लागि ट्र्याकसुट, स्विटर, सर्ट–पाइन्ट, परिवारका लागि सिरक, डसना, म्याट्रेस, तन्ना र पाँच बोरा चामल सहयोग गरेका थिए ।

कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले दृष्टिविहीन दाजुभाइलाई सहयोग गर्ने चासो देखाएकी छिन् । उनले बैंक खाता खुल्नेबित्तिकै आन्तरिक मामिला मन्त्रालयमार्फत अति विपन्न परिवारका लागि आर्थिक सहयोग गर्ने बताएकी छिन् । ‘मैले पनि उनीहरूलाई भर्ना गराउन पहल गरिरहेको थिएँ, सिडिओसाबले प्रबन्ध गरिदिनुभएछ खुसी लाग्यो । म पनि फलोअप गरेर सहयोग गर्नेछु,’ उनले भनिन् । दलित मरिक समुदायमा जन्मिएका लल्कु र कृष्णुको नारकीय जीवनबारे छरछिमेक तथा जनप्रतिनिधिले समेत चासो दिएका थिएनन् ।  

सुझावित समाचार