काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभिरमा खसेको सुक्खा पहिरोले तिहारको लागि यात्रा गरेका यात्रुले निक्कै सास्ती पाए । तिहारको समयमा लगातार यहाँ सुक्खा पहिरो गइरयो।
घोप्टेभीरमा आइतबार, सोमबार, मंगलबार र बुधबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू निकै समस्यामा परे।
सुक्खा पहिरोका कारण तिहार मनाउन घर जाने तथा चाडपर्व मनाएर फर्किने यात्रुहरू बिचबाटोमै अलपत्र परे । सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लामो जाम नै लागेको थियो ।
चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा आज पनि एकतर्फी सञ्चालनमा रहेको छ ।
हिजो बिहान पौने ४ बजेदेखि अवरुद्ध सडक झण्डै ४ घण्टापछि पौने ८ बजेतिर एकतर्फी खुलेको थियो ।