नेपाल जलवायु जोखिमको प्रयोगशाला बन्यो : अर्थमन्त्री वाग्ले

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टर्किएको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) लाई सम्बोधन गरेका छन्।

युएनएफसीसीसी प्याभिलियनमा आयोजित ‘सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी (SOFF)’ को उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनले सिर्जना गरेका जोखिम र पूर्वसूचना प्रणालीमा तथ्याङ्कको महत्त्वबारे प्रष्ट पारे।

मौसम तथा जलवायु तथ्याङ्कको अन्तर घटाउन स्थापित संयुक्त राष्ट्रसंघ समर्थित यस कोषको कार्यक्रममा बोल्दै उनले नेपालले भोगेको वास्तविक भोगाइ र यथार्थ प्रस्तुत गरेका छन्।

सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले प्रश्न गर्दै भने, 'त्यसो भए एक जना अर्थमन्त्री यो मञ्चमा किन छ ?' त्यसको उत्तर दिँदै उनले यस वर्षकाे २६ अगस्टको बिहान नेपालको उच्च हिमाली क्षेत्रमा भोटेकोशी-त्रिशूली करिडोरमाथिको चट्टानी भित्तो भत्किएर लेदोसहितको बाढी आएको घटना स्मरण गराए।

उनले भने, 'त्यस बिहान नेपालसँग भएका हरेक उपकरण, अर्थात् हाम्रो ऋण सुविधाको ट्रिगर, हामीले किन्न सक्ने कुनै पनि बीमाका ट्रिगर र हाम्रो पूर्वसूचना शृङ्खलाका मापन यन्त्र, सबैले वर्षा र नदीको सतह पढ्थे। तर, पानी परेन।'

नेपाल तथ्याङ्क नभएको देश नभएको स्पष्ट पार्दै उनले भने, 'मैले औँल्याउन चाहेको अन्तर देश र उसको तथ्याङ्कबीचको होइन, तथ्याङ्क र निर्णयबीचको हो। किनभने अवलोकन नै हरेक वित्तीय उपकरणको धितो हो। तथ्याङ्क छैन भने ट्रिगर छैन। ट्रिगर छैन भने प्यारामेट्रिक बीमा छैन। बीमा छैन भने पूर्वव्यवस्थित वित्त छैन। छ त केवल ऋणका रूपमा आउने वित्त– महँगो ऋण।'

नेपाल प्रयोगशाला भयाे

यो किसिमको जोखिमका लागि नेपाल पहिले नै प्रयोगशाला भइसकेको बताउँदै अर्थमन्त्री वाग्लेले प्रश्न गरे, 'नेपाल वैज्ञानिक पनि बन्नेछ कि छैन। तातो हुँदै गएको विश्व अन्धकारमा उडिरहेको र त्यसको भार सबैभन्दा कम थेग्न सक्ने देशहरू नै सबैभन्दा बढी अन्धकारमा उडिरहेका छन्।'

सम्बोधनको अन्त्यमा उनले आधार तहमा लगानी गर्न र त्यसमाथि सबै मिलेर निर्माण गर्न आह्वान गर्दै भने, 'यो मञ्चमा आउने अर्को अर्थमन्त्रीसँग वर्षा मात्र होइन, पहाडलाई पनि पढ्ने ट्रिगर होस्। नेपालले सन् २०२६ मा सिकेका पाठलाई सार्थक बनाऔँ, ताकि कुनै पनि देशले ती पाठ फेरि सिक्नु नपरोस्।'

सुझावित समाचार