लमजुङमा कार्यरत प्रहरी सहायक हवल्दार हेटौँडामा मृत भेटिए, घटनास्थलमा सुसाइड नोटसमेत फेला

प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला

मंगलबार, २४ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मकवानपुरको हेटौँडामा मृत फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका गुरुङ मंगलबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ओमनगर गेट नजिक बिहान करिब ४ः३० बजे गुरुङ मृत अवस्थामा फेला परेका थिए । मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए ।

प्रहरी सहायक हवल्दार गुरुङ लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेपनि उनको परिवार हेटौँडा ८ कमानेमा कोठा लिएर बस्दै आएका थिए । मकवानपुर प्रहरीका अनुसार उनी आफ्नो कोठा अगाडी बनाएको ट्रष्टको फलामको पाइपमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा के उल्लेख छ भन्ने विषय भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । मृतक गुरुङको शव पोष्टमार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

सुझावित समाचार