तिहार र नेपाल संवत् मौलिक संस्कृति जोगाउने अवसर : मुख्यमन्त्री थापा

मंगलबार, २४ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तिहार र नेपाल संवतलाई नेपाली समाजको सांस्कृतिक वैभव, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने पर्वका रूपमा व्याख्या गरेका छन् ।

उनले तिहार तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन् ।

मुख्यमन्त्री थापाले शुभकामना सन्देश जारी गर्दै तिहारले मानव, प्रकृति र पशुपन्छीबीचको सम्बन्धलाई प्रगाढ बनाउने तथा नेपाल संवत्ले नेपाली मौलिक पहिचानलाई थप उचाइ दिने बताएका छन् ।

दशैँपछिको दोस्रो ठूलो पर्व तिहार पाँच दिनसम्म यमपञ्चकका रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व हो । दीपावली, लक्ष्मीपूजा, देउसीभैलो र भाइटीकाजस्ता परम्पराले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र आत्मीयता बढाउने मुख्यमन्त्री थापाको भनाइ छ ।

नेपाल संवत्को नयाँ वर्षसँगै नेवार समुदायमा मनाइने म्हः पूजा अर्थात् आत्मपूजाले पनि नेपाली संस्कृतिको विविधता र मौलिकतालाई उजागर गर्ने उनले उल्लेख गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले विविधताबिचको एकता नै नेपालको मौलिक पहिचान र सांस्कृतिक धरोहर भएको उनको भनाइ छ । यस्ता पर्वले समाजमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्ने उनको विश्वास छ ।

चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी सामाजिक सम्बन्ध सुदृढ गर्ने र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देशसमेत मुख्यमन्त्रीले दिएका छन् ।

बागमती प्रदेश सरकारले स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वयमा चाडपर्व, भाषा र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको उनले बताएका छन् ।

मुख्यमन्त्री थापाले तिहार र नेपाल संवत्को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा मनाउन आग्रह गरेका छन् ।

सुझावित समाचार