जाजरकोटमा तिहारको रौनक, गाउँदेखि सहरसम्म उल्लास

मंगलबार, २४ कार्तिक, २०८३
डिजिटल संस्करण

जाजरकोट- तिहार तथा छठ पर्वको रौनकले यतिबेला जाजरकोटका गाउँदेखि सहरसम्म उल्लास र उत्साह छाएको छ। तिहारको अन्तिम दिन भाइटीकाको तयारी भइरहँदा बजारदेखि गाउँका घरआँगन झिलिमिली बत्ती र फूलमालाले सजिएका छन्। टोलटोलमा देउसीभैलोका गीत गुन्जिरहेका छन् भने पर्व मनाउन गाउँ फर्किनेहरूको चहलपहल बढेको छ।

तिहारलाई दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम र सद्भावको पर्वका रूपमा लिने गरिन्छ। भाइटीकाका लागि दिदीबहिनीहरू आवश्यक सामग्री जुटाउन व्यस्त छन्। बजारमा भाइमसला, फलफूल, फूलमाला, मिठाईलगायत तिहारमा आवश्यक पर्ने सामग्री किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ। घरघरमा टीका, माला र परिकारको तयारी भइरहेको छ।

तिहारको रौनक बढेसँगै जिल्ला सदरमुकाम भने क्रमशः सुनसान बन्दै गएको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा सदरमुकाममा बस्दै आएका नागरिक पर्व मनाउन गाउँ फर्किएपछि ग्रामीण बस्तीमा चहलपहल बढेको हो। बजारका पसलमा किनमेल गर्नेको भीड देखिए पनि गाउँमा भने आफन्त र परिवारसँगै पर्व मनाउने उत्साह छाएको छ।

null

पर्वको उल्लाससँगै महँगीले सर्वसाधारणलाई भने आर्थिक भार थपेको छ। दैनिक उपभोग्य सामग्रीदेखि तिहारमा आवश्यक पर्ने भाइमसला, फलफूल र अन्य सामग्रीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्। चाडपर्वको समयमा बजारमा माग बढेसँगै मूल्यसमेत आकाशिँदा सीमित आम्दानी भएका परिवारलाई पर्व मनाउन थप खर्च जुटाउनुपर्ने बाध्यता छ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लामा आवश्यक सामग्रीको व्यवस्थापनसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी नवराज बरालले जिल्लामा देउसीभैलो खेल्न २४ घण्टा नै खुला गरिएको जानकारी दिए ।

पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ। कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको उनले बताए।

सुझावित समाचार