नेपाल संवतको स्वागतमा हेटौँडामा प्रभातफेरीसहित मोटरसाइकल र्‍याली

मंगलबार, २४ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । राष्ट्रिय विभूति शंखधर साख्वाले सुरु गरेको नेपाल संवत् नयाँ वर्ष ११४७ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल संवतको स्वागत गर्दै नेवार समुदायले प्रभातफेरी, झाँकीसहित मोटरसाइकल र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकाे हाे ।

nullनेपाल संवतलाई नेपालीको मौलिक संवतका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित नेवाः सांस्कृतिक पुचः हेटौँडाको आयोजनामा मंगलबार प्रभातफेरी तथा शुभकामना र्याली निकालिएको हो । हेटौँडा उपमहानगरपालिका– १० स्थित बुद्धचोकबाट सुरु भएको र्याली पिपलबोट, संगमचोक, कान्तिराजपथ, स्कुलरोड हुँदै बजारको विभिन्न स्थानको परिक्रमापछि पुनः बुद्धचोक पुगेर सभामा परिणत भएको थियो ।

नेवारी मौलिक बाजागाजा र विभिन्न सांस्कृतिक झाँकीसहित निकालिएको र्यालीले हेटौँडा बजार परिक्रमा गरेको हो । र्यालीमा नेवार समुदायका महिला तथा पुरुष मौलिक वेशभूषामा सजिएर सहभागी भएका थिए ।  र्यालीमा नेवार समुदायसँगै अन्य समुदायका व्यक्तिहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
null

र्यालीमा सहभागीहरूले नेपाल संवत् नेपालीको ऐतिहासिक तथा मौलिक पहिचानसँग जोडिएको संवत् भएकाले यसको संरक्षण र पुस्तान्तरणमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका थिए । नेपाल संवत् कुनै एक समुदायको मात्र नभई समग्र नेपालीको साझा सम्पदा भएको उनीहरूको भनाइ थियो । मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने सहभागीहरूले बताएका थिए ।

यसैगरी, नेपाल संवत् ११४७ को अवसरमा ज्वजलपा नेवाः पुचः हेटौँडा उपमहानगरपालिका– ९ ले पनि शुभकामना आदानप्रदान, मोटरसाइकल र्याली तथा सगुन कार्यक्रम आयोजना गरेको छ । संस्थाले हरेक वर्ष नेपाल संवतको नयाँ वर्षका अवसरमा विविध कार्यक्रम गर्दै आएको छ ।
null

हेटौँडा औद्योगिक क्षेत्रस्थित फुटबल चौरबाट सुरु भएको मोटरसाइकल र्यालीले वडा नम्बर ९ का विभिन्न क्षेत्र हुँदै हेटौँडा बजार परिक्रमा गरेको थियो । र्यालीमा नेवार समुदायका साथै अन्य समुदायका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो । 

कार्यक्रम संयोजक अमित श्रेष्ठका अनुसार नेपाल संवतकाे नयाँ वर्षको अवसरमा मौलिक संस्कृतिको प्रवर्द्धन र आपसी सदभाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । र्यालीपछि शुभकामना आदानप्रदान तथा सगुन कार्यक्रम गरिएको थियो ।null

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको इतिहास छ । जनताको ऋणमुक्तिको स्मरणसँग जोडिएको नेपाल संवत् नेपाली इतिहास, सामाजिक न्याय र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण प्रतीकका रूपमा स्थापित छ ।

सुझावित समाचार