काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले ‘म्ह पूजा’ को मर्म अति गहिरो भएको बताएका छन् । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्रीले भनेका छन्, 'नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छ, ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ। यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।'
यसैगरी प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत भनेका छन्, 'आजैका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइन्छ।'
त्यसैगरी, हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ। हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्।