बुधवार १० बजेसम्मको प्रमुख १० खबर

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

पोखरामा १७ देशका ५१ पर्यटकले मनाए भाइटीका महोत्सव

पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा १७ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका छन् । अमेरिका, बेलायत, चीन, जापान र अस्ट्रेलियालगायत विभिन्न देशका पर्यटकले नेपाली परम्पराअनुसार भाइटीका लगाएर तिहार मनाएका हुन् ।

महोत्सवमा रेम्बो चिल्ड्रेन होम्सका बालबालिकाले विदेशी पर्यटकलाई टीका तथा माला लगाइदिएका थिए । होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार संघले विदेशी पर्यटकलाई नेपाली संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले निरन्तर भाइटीका महोत्सव आयोजना गर्दै आएको छ ।

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिएका छन्। यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न सचिवालयलाई पत्राचार गर्ने तयारी भइरहेको उनले बताए।

पूर्वराष्ट्रपति भण्डारीले भाइलाई लगाइदिइन् तिहारको टीका

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई तिहारको टीका र माला लगाइदिएकी छिन् । आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा भण्डारीले आफ्ना भाइलाई तिहारको टीका लगाइदिएकी हुन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज देश तथा विदेशमा रहेका नेपाली दाजुभाइले दिदीबहिनीकाे हातबाट टीका ग्रहण गर्दै छन् ।

राष्ट्रपति पौडेलले लगाए बहिनीकाे हातबाट तिहारको टीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितको हातबाट आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा तिहारको टीका लगाएका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन्। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गरेका  छन्।

नेपाल जलवायु जोखिमको प्रयोगशाला बन्यो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टर्किएको आन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) लाई सम्बोधन गरेका छन्।

युएनएफसिसिसी प्याभिलियनमा आयोजित ‘सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ फ्यासिलिटी (SOFF)’ को उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनले सिर्जना गरेका जोखिम र पूर्वसूचना प्रणालीमा तथ्याङ्कको महत्त्वबारे प्रस्ट पारे।

मौसम तथा जलवायु तथ्यांकको अन्तर घटाउन स्थापित संयुक्त राष्ट्रसंघ समर्थित यस कोषको कार्यक्रममा बोल्दै उनले नेपालले भोगेको वास्तविक भोगाइ र यथार्थ प्रस्तुत गरेका छन्।

सुनसरीमा तीन सवारीसाधन ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु

सुनसरीको इनरुवा नगरपालिका– ५, बलाहामा तीनवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१५प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एक–आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका– ९ की सात वर्षीया रिदिमा सरदार गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशी प्रदेशमा आजदेखि नेपालीसहित १४ भाषा सरकारी कामकाजमा प्रयोग

कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

किराँत धर्मगुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा आएको घोषणा गरेका हुन्।

याेसँगै कोशी प्रदेशमा नेपालीसहित १४ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी बाटो खुलेको छ। अब प्रदेशमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, नेपाल भाषा, चाम्लिङ, शेर्पा, सन्थाल र राई भाषा सरकारी कामकाजमा प्रयोग गर्न सकिनेछ।

बर्दियामा मौरीको टोकाइबाट एकजनाको मृत्यु

बर्दियामा मौरीको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका– ४, खैलारका ४३ वर्षीय वीरबहादुर थारूको मृत्यु भएको हो ।

दुई महिना अघिदेखि थारूको घरमा बस्दै आएको मौरीले मंगलबार दिउँसो थारूलाई टोकेको थियो । मौरीले थारूको छातीको भाग भन्दा माथि टोकेपछि थारू बेहोस भएका थिए।

ताप्लेजुङका किसानलाई तिहारको रौनकभन्दा धान भित्र्याउने चटारो

ताप्लेजुङका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा धान भित्र्याउने चटारोले बढी व्यस्त बनाएको छ । पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व बिर्सिएका छन् ।

यहाँका किसानलाई चाडपर्वको समयमा परिवारसँग बसेर रमाइलो गर्नुपर्ने भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको छ । धान भित्र्याउने समय र तिहार एकै समयमा परेपछि किसानलाई दोहोरो चटारो परेको हो । 

ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट अदालतद्वारा दोषी ठहर

नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको बहुचर्चित हत्या प्रकरणमा अमेरिकाको भर्जिनियास्थित अदालतले उनका पति नरेश भट्टलाई दोषी ठहर गरेको छ। 

प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृतशरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।

सुझावित समाचार