ताप्लेजुङका किसानलाई तिहारको रौनकभन्दा धान भित्र्याउने चटारो

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा धान भित्र्याउने चटारोले बढी व्यस्त बनाएको छ । पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व बिर्सिएका छन् ।

यहाँका किसानलाई चाडपर्वको समयमा परिवारसँग बसेर रमाइलो गर्नुपर्ने भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको छ । धान भित्र्याउने समय र तिहार एकै समयमा परेपछि किसानलाई दोहोरो चटारो परेको हो । 

किसानका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन । किसानले एक–अर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याउने काम गरिरहेको फुङलिङ नगरपालिका– ९ का तेजप्रसाद पोख्रेल बताउँछन् । यही गतिमा काम गर्दा मंसिर १० देखि १५ गतेसम्म धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको पोख्रेलको भनाइ छ ।

धान भित्र्याउने समयमा कामदार पाउनसमेत समस्या भइरहेको किसानको भनाइ छ । गाउँमा खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा धान थन्क्याने काम ढिलो भइरहेको छ । केही किसानले आफ्नो धान थन्क्याउने काम सकेपछि मात्र अन्य किसानले काम गर्ने अवसर पाउने भएकाले पालो कुरेर बस्नुपर्ने अवस्था रहेको छ ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाँट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान युवराज वनेम बताउँछन् । अर्मपर्मका आधारमा काम गर्दा पनि सबै किसानको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ ।

धान पाकेर भित्र्याउने समय र तिहारको चाडपर्व एकै समयमा परेपछि ग्रामीण क्षेत्रका किसानलाई दोहोरो चटारो परेको छ । एकातिर धानबाली सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने बाध्यता र अर्कातिर चाडपर्व मनाउने चाहना भएपनि नकिएको किसानको गुनासो छ ।

खेतीपातीको काम नसकिँदा चाडपर्वको रमाइलोमा समेत पर्याप्त समय दिन नपाएको किसानले गुनासो गरेका छन् । यस वर्ष ताप्लेजुङका ग्रामीण भेगमा तिहारको उल्लासभन्दा पनि खेतबारीमा धान भित्र्याउने चटारो बढी नै देखिएको छ ।
 

सुझावित समाचार