मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार o१:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

खोकना क्षेत्रको समस्या  समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार o१:१२:oo

नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएको छ । राष्ट्रिय गौरवको आयोजनाको विद्यमान समस्या र समाधानका उपायबारे प्रधानमन्त्रीले बुधबार जानकारी लिएका छन् । ओलीले खोकना क्षेत्रको समस्या बुझेर समाधानका लागि प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रस्तुतीकरणमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक, यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल र आयोजनाका अधिकारी सहभागी थिए । 

नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु विन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे जानकारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सोचविचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएको उल्लेख गर्दै गुणस्तरीय रूपमा काम हुने विश्वास व्यक्त गरे । ‘समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ । खोकानामा जग्गा अधिग्रहणको विवाद मिल्न सकेको छैन । 

७०.९७ किलोमिटर दूरीको दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सडक आयोजना ०७४ मा सुरु भएको हो । आयोजना ०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ । सेनाका अनुसार आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६ र वित्तीय प्रगति ३९.४ प्रतिशत छ ।