मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
फ्रन्ट पेज प्रिन्ट संस्करण

राज्यबाटै पीडित बनेको अन्तरजातीय जोडी अझै असुरक्षित 

प्रहरी अत्याचारविरुद्ध आन्दोलनको तयारीमा दलित अधिकारकर्मी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार o५:५६:oo

गृहमन्त्री रमेश लेखककै दल कांग्रेसको ‘दलित समुदाय समन्वय तथा सशक्तीकरण विभाग’ले सरकारसँग माग्यो सत्येन्द्र र नेहाको सुरक्षा, गृहमन्त्री भने महानिरीक्षकलाई ‘आवश्यक भए छानबिन गर्न निर्देशन’ दिएर पन्छिने प्रयासमा

अन्तरजातीय प्रेमविवाह गरेकै आधारमा राज्यबाटै पीडित बनेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियार अपहरणको धम्कीका कारण भूमिगत बस्न बाध्य छन् । उनीहरूनिकट एक कानुन व्यवसायीका अनुसार सत्येन्द्र र नेहा डरधम्कीकै कारण राष्ट्रिय मानव अधिकार आयोगले बोलाउँदासमेत उपस्थित हुन सकेका छैनन् । 

‘सोमबार उनीहरूलाई राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइएको रहेछ,’ ती कानुन व्यवसायीले भने, ‘नेहाको माइती पक्षले त्यहाँ गइस् भने अपहरण गरेर बेपत्ता बनाउँछु भनेपछि उनीहरू आयोगमा समेत जान सकेका छैनन् ।’ 

कपिलवस्तु जिल्ला अदालतमा ३ पुसमै विवाह दर्ता गरिसकेको यो जोडीविरुद्ध सर्लाही जिल्ला अदालतमा ९ पुसमा बालविवाहको मुद्दा दर्ता गरेर छुटाउने प्रयास भएको छ । यो मुद्दामा सत्येन्द्रकी आमा गीतादेवीलाई समेत प्रतिवादी बनाएर दबाब दिइएको छ । प्रहरीले १६ पुसमा ललितपुरको टीकाथलीबाट सत्येन्द्रलाई पक्राउ गरी तीन दिनसम्म थुनामा राखेर अदालतमा पेस गरेको थियो । यसरी पक्राउ गर्दा प्रहरीले आफूमाथि कुटपिट गरेको सत्येन्द्रको भनाइ छ । 

सर्लाही अदालतले नेहालाई माइती पक्षको जिम्मा लगाएर सत्येन्द्रलाई भने धरौटीमा छाड्न आदेश दिएको थियो । तर, नेहालाई बन्धक बनाएको भन्दै सत्येन्द्रले सर्वोच्च अदालतमा नेहाको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले आदेश गरेको तेस्रोपटकमा मात्रै नेहालाई बुबा सुरेन्द्रले अदालतमा उपस्थित गराएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आइतबार नेहालाई सत्येन्द्रकै जिम्मा लगाएको छ । त्यसपछि पनि थप धम्की आइरहेको उनीहरूको गुनासो छ । जबकि सर्वोच्चले उनीहरू उमेर पुगेर विवाह गरेको देखिएको ठहर गर्दै नेहाकै इच्छाका आधारमा सत्येन्द्रको जिम्मा लगाएको थियो । 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा त सत्येन्द्रविरुद्ध अपहरण मुद्दासमेत दर्ता गराउने प्रयास भएको खुलेको छ । सिंगो प्रहरी प्रशासन नै आफूहरूविरुद्ध रहेको भन्दै उनीहरू भूमिगत बन्न बाध्य छन् । आफूहरूविरुद्ध अपहरणदेखि लागुऔषध मुद्दामा फसाउने भनेर प्रहरीले नै धम्की दिएको उनीहरूको गुनासो छ । 

मुम्बई घुम्न गएका वेला उनीहरूलाई नेपाल प्रहरीको टोली मुम्बईमै गएर पक्राउ गरेको थियो । नेहाका बुबा सुरेन्द्र साह रौनियार व्यवसायी तथा कांग्रेसका स्थानीय नेता भएकाले गृहमन्त्री रमेश लेखकमार्फत उनले शक्तिको दुरुपयोग गरेका हुन् । प्रहरी स्रोतका अनुसार गृहमन्त्री लेखककै निर्देशनमा गत २१ मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डिएसपी रुगम कुँवर नेतृत्वको टोली मुम्बई पुगेर सत्येन्द्र र नेहालाई पक्राउ गरेको थियो । टोलीले उनीहरूलाई मुम्बईबाट दिल्लीसम्म ल्याएको थियो । तर, दिल्लीबाट नेपाल ल्याउने क्रममा टिकटमा नाम नमिलेपछि तथा सत्येन्द्र र नेहाले त्यहाँको सुरक्षाकर्मीसमक्ष समेत गुनासो गरेपछि प्रहरी टोली त्यसै नेपाल फर्किएको थियो । सत्येन्द्र र नेहालाई त्यसअघि एकपटक र पछि १६ पुसमा पनि प्रहरीले पक्राउ गरेको थियो । 

यद्यपि, गृहमन्त्री लेखकले सो घटनाबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन् । ‘समाजमा छुवाछूत र जातीय विभेद् बढाउने, संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृह मन्त्रालय प्रतिबद्ध छ । राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही सम्पादन गरेका र यस मन्त्रालय एवं माननीय मन्त्रीज्यूलाई सामान्य जानकारी समेत नभएको विषयमा समाजमा भ्रम पैmलाउने गरी जिम्मेवार सञ्चार माध्यममा भ्रामक र कपोल्कल्पित समाचार प्रकाशन भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,’ मंगलबार गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर, गृहमन्त्रीकै निर्देशनमा सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरीको टोली भारत पठाइएको स्रोत बताउँछ । गम्भीर किसिमका मुद्दाका फरार अभियुक्तहरूलाई पक्राउ गर्नसमेत गृहमन्त्री र प्रहरी महानिरीक्षकको निर्देशनमा मात्रै त्यसरी प्रहरी टोली विदेश जाने गर्छ । 

यो घटनामा राष्ट्रिय मानव अधिकार आयोगले समेत गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री लेखक भने महानिरीक्षकलाई ‘आवश्यक भए छानविन गर्न निर्देशन’ दिएर पन्छिने प्रयासमा छन् । ‘समाचारमा प्रकाशन भएको विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक भए थप छानबिनसमेत गर्न माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकलाई निर्देशन भइसकेको जानकारी गराइन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गृह मन्त्रालय भन्छ– मन्त्रीज्यूलाई थाहा थिएन

अन्तरजातीय बिहे गरेका जोडीमाथि राज्य संयन्त्रबाट भएको अत्याचारबारे गृहमन्त्री रमेश लेखकलाई जानकारी नै नभएको र नयाँ पत्रिकाको समाचारले भ्रम छरेको दाबी गृह मन्त्रालयले गरेको छ । तर, मन्त्री र आइजिपीकै निर्देशनमा सत्येन्द्र र नेहालाई पक्राउ गर्न डिएसी रुगम कुँवर नेतृत्वको प्रहरी टोली भारतसम्म पुगेको स्रोतको भनाइ छ ।

प्रहरी अत्याचारविरुद्ध आन्दोलनको तयारीमा दलित अधिकारकर्मी 
अन्तरजातीय बिहे गरेका दलित युवकमाथि प्रहरी प्रशासनबाटै भएको अत्याचारको विरोधमा दलित अधिकारकर्मीले आन्दोलन घोषणा गरेका छन् । ‘दलितका लागि दलित अभियान’ले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै छ । अभियानका संयोजक खगेन्द्र सुनारले सत्येन्द्रमाथि राज्यबाट चरम अत्याचार भएको र त्यसविरुद्ध प्रदर्शन गरिने बताए । ‘यो घटनाले ६० लाख दलित समुदायलाई चोट पुगेको छ, यसमा गृहमन्त्रीमाथि समेत छानबिन हुनुपर्छ,’ उनले भने । 

त्यस्तै, गृहमन्त्रीकै दल कांग्रेसको ‘दलित समुदाय समन्वय तथा सशक्तीकरण विभाग’ले पनि विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । विभाग प्रमुख लक्ष्मी परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘...घटनामा संलग्न जो कोही व्यक्ति, परिवार र निकायलाई कानुनी कारबाहीको दायरामा ल्याई आवश्यक छानबिन गर्न र पीडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्थासँगै विवाह गर्ने दम्पतीको जीवन रक्षा गर्न–गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’ नेपाल दलित मुक्ति संगठनले पनि सत्येन्द्र र नेहामाथि गृहमन्त्रीकै निर्देशनमा भएको सरकारी ज्यादतीविरुद्ध खेद प्रकट गरेको छ । दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र दलितमाथिका आपराधिक घटनाको स्थायी समाधानका लागि विशेष कार्यक्रम ल्याउन संगठनले माग गरेको छ ।