![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/plane2025-02-11-11-24-55.jpeg)
जनवरी २९ मा अमेरिकाको ‘रोनाल्ड रेगन वासिंटन नेसनल एयरपोर्ट’ नजिकको आकाशमा विमान र हेलिकोप्टर जुध्दा लगभग सबै यात्रु र चालक दलका सदस्यको ज्यान गयो । सामाजिक सञ्जालमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचक दुर्घटनाका लागि ट्रम्पका केही नीति जिम्मेवार रहेको दोष लगाएको देखियो ।
‘गत साता मात्र ट्रम्पले ‘यातायात सुरक्षा प्रशासन (टिएसए)’ र तटरक्षक प्रमुखलाई बर्खास्त गरेका थिए । उनले उड्डयन सुरक्षा सल्लाहकार समितिसमेत भंग गरेका थिए,’ यो कदम दुर्घटनाका लागि जिम्मेवार हुन सक्ने औँल्याउँदै सामाजिक सञ्जाल ‘एक्स’मा एकजनाले लेखेका थिए । ट्रम्पले जनवरी २१ मै ती निकायका प्रमुखलाई बर्खास्त गरेका थिए । त्यस्तै उनले उड्डयन सुरक्षा सल्लाहकार समितिका सबै सदस्यसमेत बर्खास्त गरेका छन् ।
अर्को एक प्रयोगकर्ताले उड्यन क्षेत्रसँग जोडिएका ट्रम्पका निर्णयको सूची एक्समा पोस्ट गर्दै लेखेका थिए, ‘तपाईंले १. यातायात सुरक्षा प्रशासनको प्रमुखलाई बर्खास्त गर्नुभयो, २. सम्पूर्ण उड्डयन सुरक्षा सल्लाहकार समितिलाई बर्खास्त गर्नुभयो, ३. सबै हवाई ट्राफिक नियन्त्रकको भर्ना ‘फ्रिज’(रोक्का) गर्नुभयो, ४. १०० शीर्ष एफएए सुरक्षा अधिकारीलाई बर्खास्त गर्नुभयो ।’ ट्रम्पले आफ्नो कार्यकालको पहिलो सातामा नयाँ कर्मचारी भर्नामा रोक लगाउनेलगायत व्यापक कर्मचारी परिवर्तनको घोषणा गरेका थिए । तर, उड्डयनविज्ञ भने ट्रम्पका कदमले क्यान्सस राज्यबाट उडेको व्यावसायिक जेट र सेनाको ब्ल्याक हक हेलिकोप्टरबिचको ठक्कर दुर्घटना निम्त्याउन कुनै योगदान नगरेको मान्छन् ।
हुन पनि दुर्घटना हुँदा ट्रम्पले शपथ लिएको १० दिन पनि भएको थिएन । यस्तोमा उनले लागू गरेका कार्यकारी निर्देशनको प्रभाव देखिने समय नभइसकेको विज्ञहरू बताउँछन् । तथापि, यातायात सुरक्षा प्रशासन, संयुक्त राज्य अमेरिका कोस्ट गार्ड र उड्डयन सुरक्षा सल्लाहकार समितिको उड्डयन सुरक्षामा भूमिका नहुने भने होइन । ‘तर, राष्ट्रपति ट्रम्पको कदमले यति छिटो प्रभाव पार्ने सम्भावना छैन,’ अमेरिकी वायुसेनाका पूर्वकर्णेल तथा पाइलट जिम कार्डोसोले भने । कार्डोसो हाल दक्षिण फ्लोरिडा विश्वविद्यालयको ‘ग्लोबल एन्ड नेसनल सेक्युरिटी इन्स्टिच्युट’का वरिष्ठ निर्देशक छन् । ‘दुर्घटनामा संलग्न दुवै विमानका हवाई चालक दल र त्यो समय काम गरिरहेका हवाई ट्राफिक नियन्त्रक जनवरी २० पछि लागू भएका ट्रम्पका कार्यकारी आदेशले गरेका नीतिगत परिवर्तनले प्रभावित हुनेमा थिएनन्,’ कार्डोसोले भने ।
हवाई दुर्घटनालगत्तै त्यसको कारणबारे निष्कर्षमा पुग्नु मूर्खतापूर्ण हुने फ्लोरिडास्थित सेन्ट पिटर्सबर्गमा रहेको उड्डयन सुरक्षा परामर्श फर्मका सञ्चालक सेवानिवृत्त पाइलट जोन कोक्स बताउँछन् । ‘दुर्घटनाको प्रारम्भमै रहेकाले हामीलाई धेरै कुरा थाहा छैन,’ कोक्सले भने । दुर्घटना भएको २४ घण्टा नबित्दै कुनै विशेष कारणले दुर्घटना निम्त्यायो भन्ने तर्क गर्नेहरू विनाआधार बोलिरहेकोमा उनले जोड दिए । कोक्सका अनुसार दुर्घटना के कारणले भयो भनेर निर्धारण गर्ने अन्तर्राष्ट्रिय मापदण्डले ‘अनुमानमा विश्वास गर्दैन । सबै तथ्यलाई ध्यान दिएर केलाउँछ । दुर्घटनाजस्ता गम्भीर घटनामा राजनीतिक रूपमा प्रेरित जवाफभन्दा सही उत्तर प्राप्त गर्नु बढी महत्वपूर्ण छ ।’ विमान र हेलिकोप्टरको ठक्करको सही कारण पत्ता लगाउन भइरहेको अनुसन्धान पूरा हुन महिनौँ लाग्न सक्छ । अहिलेका लागि ट्रम्पले उड्डयनसँग सम्बन्धित कस्ता कदम चालेका छन् र यदि तिनको कुनै प्रभाव परेको भए यस दुर्घटनामा कस्तो प्रभाव परेको हुन सक्छ भन्नेबारे चर्चा गरौँ ।
उड्डयन क्षेत्र सम्बन्धमा ट्रम्पले लिएका निर्णय
जनवरी २० को एक कार्यकारी आदेशमा ट्रम्पले संघीय कर्मचारीको नयाँ भर्ना फ्रिज गर्ने (रोक्ने) निर्णय गरेका थिए । यसले कुनै पनि संघीय पदमा भर्ना खुलाउन वा कुनै पनि नयाँ पद सिर्जना गर्न रोक लगाएको छ । यद्यपि, यो आदेश ‘आप्रवासन प्रवर्तन, राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षासँग सम्बन्धित’ कुनै पनि सैन्य पदका लागि भने लागू हुनेछैन । सार्वजनिक सुरक्षामा भूमिका हुने भएकाले हवाई ट्राफिक नियन्त्रणलाई भर्ना रोक्का लागू नहुने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसले थप बताएअनुसार ‘हवाई ट्राफिक नियन्त्रक’का रूपमा काम गर्ने कर्मचारी राजनीतिक नियुक्ति नभएकाले यो राष्ट्रपतिको परिवर्तन प्रभावित हुँदैन ।
कार्यकाल सम्हालेको दोस्रो दिन जनवरी २१ मा ट्रम्पले ‘उड्डयन क्षेत्रमा अमेरिकीलाई सुरक्षित राख्ने’सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसले उड्डयन क्षेत्रमा ‘विविधता, समानता र समावेशीकरण’ अर्थात् छोटोमा ‘डिइआई’ का आधारमा हुने भर्नालाई खारेज गरेको छ । अब यातायातमन्त्री र संघीय उड्डयन प्रशासनका पदाधिकारीले ‘योग्यता–आधारित भर्ना’ मात्र गर्नुपर्ने निर्देशन दिइएको छ । सोही कार्यकारी आदेशले ‘महत्वपूर्ण सुरक्षा क्षेत्रमा काम गरिरहेका व्यक्ति’को कार्यसम्पादन समीक्षा गर्न निर्देशन दिएको छ ।
दुर्घटनापछि जनवरी ३० मा पत्रकारसँगको कुराकानीका क्रममा ट्रम्पले दुर्घटनाका लागि एफएएले भर्नाका लागि विगतमा कार्यान्वयन गरेको विविधता र समावेशीकरण नीतिलाई जिम्मेवार ठह¥याए । तर, कोक्सका अनुसार जनवरी २९ को दुर्घटनामा संलग्न सबै पाइलट र हवाई ट्राफिक नियन्त्रक आवश्यक प्रशिक्षण पूरा गरेका कर्मचारी रहेकाले विविधता तथा समावेशीकरणका पालनाले त्यसलाई कुनै असर नगरेको बताए ।
न्युयोर्क टाइम्सले जनवरी ३० मा प्रकाशित गरेको एक समाचारमा दुर्घटनाको समयमा रेगन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण टावरमा तैनाथ कर्मचारीको संख्या ‘हवाई उडानको संख्याको आधार असामान्य रहेको’ एफएएको आन्तरिक प्रारम्भिक सुरक्षा रिपोर्टले औँल्याएको छ । कर्मचारीको न्यून प्रतिस्थापन दर र टाइट बजेटका कारण रेगन विमानस्थलस्थित टावरले वर्षौंदेखि कर्मचारीको अभाव झेल्दै आएको टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।
हुन त जनवरी २१ मा ट्रम्पले टिएसए प्रशासक डेभिड पेकोस्के र कोस्ट गार्ड कमान्डेन्ट एडमिरल लिन्डा फागनलाई बर्खास्त गरेका थिए । तर, टिएसएको सुरक्षा जिम्मेवारीहरू सामान्यतया यात्रु, ढुवानी सामान र उड्डयन कर्मचारीको सुरक्षा जाँचमा केन्द्रित हुन्छ, विमानको सञ्चालनमा होइन । र, तटरक्षक त उड्डयनसम्बन्धी नभएर समुद्री सुरक्षामा केन्द्रित निकाय हो । ट्रम्पले उड्डयन सुरक्षा सल्लाहकार समितिका सबै सदस्यलाई पनि बर्खास्त गरेका थिए । तथापि, यो समूहमा निजी क्षेत्रका उड्डयन समूहका प्रतिनिधि समावेश हुन्छन् । तिनले टिएसए प्रशासकलाई उड्डयन सुरक्षामा सल्लाह दिने गर्छन् । समूहको बैठक फेब्रुअरी २६ मा बोलाइएको थियो, जुन सामान्यतया वर्षमा चारपटक हुने गर्छ । र, यस्तो समूहले हवाई दुर्घटना रोक्ने सामथ्र्य राख्दैन, तिनले सल्लाह मात्र दिने हुन् ।
अल जजिराबाट