![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/ghar2025-02-09-06-00-08.jpeg)
जात, धर्म, वर्ग सबैखाले विभेदलाई अस्वीकार गर्दै सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारले आफ्नो प्रेमलाई विजय गराए । विवाह गरेर लामो प्रेमलाई कानुनी रूपमै वैध बनाए । तर, दलित युवकसँग छोरीले विवाह गरेको भन्दै उनीहरूको सम्बन्ध तोडाउन नेहाका बुबा सुरेन्द्र रौनियारले शक्तिको दुरुपयोग सुरु गरे । कानुनको अक्षरशः पालना गराउने पदमा बसेका गृहमन्त्री रमेश लेखक र आइजिपी वसन्तबहादुर कुँवरले नै शक्तिको दुरुपयोग गरे । राज्यको यही आतंकले एउटा प्रेमिल जोडीले मात्रै अत्याचार खेप्नुपरेको छैन, सत्येन्द्रको सर्लाही बरहथवा नगरपालिका– १० कटानीस्थित घर नै रित्तो बन्न पुगेको छ ।
सत्येन्द्रकी आमा गीतादेवीले भनिन्–घरमा वस्तुभाउ र खेतीपाती छ, तर घरमा कोही छैन । म घर छाडेर हिँडेपछि केही दिन बहिनीले रेखदेख गरिदिएकी थिइन् । उनलाई पनि दबाब आएपछि आफ्नै घर गइन् । छोराले अदालतबाट कसैसित कानुनी विवाह गर्यो भने यसमा मेरो र मेरो परिवारको के दोष ? हामी अन्यायमा परेका छौँ, घर रित्तिएको छ । राज्यले पुनस्र्थापनाको व्यवस्था गरेर सुरक्षाको बन्दोबस्त गरोस् ।
सत्येन्द्रका बुबा इन्दल राम स्वयं सुरक्षा निकायमा छन् । जागिरका शिलशिलामा उनी सरकारले खटाएकै ठाउँमा हुन्थे । घर, बस्तुभाउ, खेतीपाती सबै धानेर बसेकी थिइन्, सत्येन्द्रकी आमा गीतादेवीले । तर, नेहासँग विवाह गरेपछि सत्येन्द्रसँगै आमा गीतादेवी र मामा राजु (भोलाराम) रामविरुद्ध पनि सर्लाही जिल्ला अदालतमा बालविवाहको कसुरमा मुद्दा चलाइएपछि उठीवास लाग्ने अवस्था निम्तियो । धाकधम्कीसँगै मुद्दाको दबाब थेग्न नसकेर गीतादेवी वस्तुभाउ र खेतीपाती त्यसै छाडेर घरमा ताल्चा मारेर विस्थापित हुन बाध्य भइन् । कानुनले दिएको अधिकारबमोजिम नै छोराले विवाह गर्दा आफ्नो परिवार नै विस्थापित हुनुपरेको गुनासो गर्दै पुनर्स्थापनाका लागि राज्यसँग माग गरेकी छिन् ।
‘घरमा वस्तुभाउ र खेतीपाती छ, तर घरमा कोही छैन । केही दिन बहिनीले रेखदेख गरिदिएकी थिइन् । उनलाई पनि दबाब आएपछि आफ्नै घर गइन्,’ गीतादेवीले भनिन्, ‘छोराले अदालतबाट कसैसित कानुनी विवाह गर्यो भने यसमा मेरो र मेरो परिवारको के दोष ? हामी अन्यायमा परेका छौँ, घर रित्तिएको छ । राज्यले पुनर्स्थापनाको व्यवस्था गरेर सुरक्षाको बन्दोबस्त गरोस् ।’
घरमा कोही नभएपछि बिचल्लीमा परेका वस्तुभाउको छिमेकीले रेखदेख गरिदिएका छन् । नेहाको परिवारले सत्येन्द्रका परिवारमाथि गुन्डा लगाएर आक्रमणको प्रयाससमेत गरेपछि गीतादेवी घर छाडेर भागेको एक छिमेकीले बताए । ‘घरमा ताल्चा मारेर परिवारै भागेको तीन–चार महिना भइसक्यो । तर, गोठमा दुधालु भैँसी र बाख्रा छन् । हेरचाह गर्ने मान्छे नभएपछि वस्तुभाउको बिचल्ली भएको छ । हामीले कहिलेकाहीँ पराल, पानी दिइरहेका छौँ,’ ती छिमेकीले भने, ‘नेहाका परिवारले सत्येन्द्रका परिवारमाथि गुन्डा लगाएर आक्रमणको प्रयास गरेपछि उनीहरू घरमा बस्न सकेनन् ।’
नेहा र सत्येन्द्र गत साउनमै घरबाट निस्किएका थिए । सत्येन्द्रसँग छोरी हिँडेको थाहा पाएपछि नेहाका परिवारले सत्येन्द्र र उनको परिवारमाथि धाकधम्की सुरु गरेको थियो । नेहाका परिवार तथा आफन्तजनको दबाबमा सत्येन्द्रका बुबा र आमालाई बरहथवा प्रहरीले झिकाएर केरकार गरेको थियो । कानुन कार्यान्वयन गराउने जिम्मेवारी पाएका स्वयं प्रहरीको दबाब सहन नसकेर रामदम्पतीले १० दिनभित्र नेहालाई प्रहरीको जिम्मा लगाउने भनी दिएको अल्टिमेटमबमोजिम गत ११ भदौमा नेहालार्ई प्रहरीमार्फत उनका परिवारको जिम्मा लगाइदियो । तर, प्रेमिल जोडीलाई त्यो मन परेको थिएन । फलस्वरूप नेहा आफ्ना प्रेमी सत्येन्द्रसँग गत असोजमा फेरि घरबाट हिँडेकी थिइन् । त्यसपछि ३ पुसमा उनीहरूले कानुनी रूपमा विवाहसमेत गरिसके ।
दोषीमाथि कारबाही हुनुपर्छ : मधेशी आयोग
मधेशी आयोगले घटनाबारे गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही गर्न माग गरेको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले अन्तरजातीय विवाह गरेका युवामाथि गृह प्रशासनबाटै अत्याचार भएको विषयमा आयोगमा बिहीबार उजुरी दर्ता भएको र आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए ।