मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Tuesday, 11 February, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ माघ २९ मंगलबार ११:२७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एक्मी इन्जिनियरिङ कलेजमा तीन महिनादेखि पठनपाठन ठप्प

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार ११:२७:oo

ललितपुर बागडोलस्थित एक्मी कलेज अफ इन्जिनियरिङका सञ्चालक तीन महिनादेखि कलेजको सम्पर्कबाहिर भएपछि विद्यार्थी र शिक्षकको भविष्य अन्योल बनेको छ । कलेजका सञ्चालक शैलेन्द्रमोहन झा विद्यार्थी, शिक्षक र अभिभावकको सम्पर्कमा नहुँदा पठनपाठन ठप्प बनेको छ । 

डिप्लोमा तहको कार्यक्रम सञ्चालन गर्दै आएको उक्त कलेजमा कम्प्युटर इन सिभिल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङसम्बन्धी पठनपाठन हुँदै आएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बोर्ड सदस्यसमेत रहेका झा महिनौँदेखि कलेज नआएको विद्यार्थीहरू बताउँछन् । सिटिइभिटीका अधिकारीहरूले सम्पर्क गर्दासमेत झाले आफू उक्त कलेजको सञ्चालक नभएको बताउँदै पन्छिने गरेका छन् । विद्यार्थीबाट गुनासो आएपछि सिटिइभिटीले एक साताअघि तेज खत्रीलाई संयोजक बनाएर उक्त कलेजको वस्तुस्थिति अध्ययन गर्न पठाएको थियो । अध्ययनका क्रममा कलेज व्यवस्थापन पक्ष निकै कमजोर भएको र पठनपाठन रोकिएको पाइएको खत्रीले बताए । ‘त्यहाँ सञ्चालक समितिबाटै बदमासी भएको देखियो, आइतबार पनि विद्यार्थीहरू हाम्रो कार्यालयमा आएका थिए, हामीले अध्ययन गर्दा पनि अव्यवस्थित र पठनपाठन नभएको देखियो,’ उनले भने । सञ्चालक गायब भएको र महिनौँदेखि तलबसमेत नदिएको भन्दै कतिपय शिक्षकले जागिर छाडेको अध्ययनका क्रममा भेटिएको थियो । कलेजमा अहिले तीनजना कर्मचारी र सेक्युरिटी गार्डबाहेक कोही भेटिँदैनन् । ‘तीन महिनादेखि पढाइ भएको छैन, अब परीक्षा आउने वेला पनि हुँदै छ, तर कलेज मसानघाटजस्तै सुनसान बनेको छ,’ एक विद्यार्थीले भने, ‘सञ्चालक गायब भएपछि केही सरहरूले जागिरसमेत 

छाड्नुभयो, पढाइ नहुँदा हामीलाई चिन्ता छ ।’ विद्यार्थीका अनुसार कलेजका सञ्चालक मात्रै नभएर प्रिन्सिपलसमेत गायब छन् । कलेजमा सबै तह गरी ७० जना विद्यार्थी अध्यनरत छन् भने १५ जना शिक्षक छन् । सञ्चालक नै सम्पर्कविहीन भएपछि विद्यार्थीलाई प्रत्यक्ष असर परेको अखिल क्रान्तिकारीका सचिव डिबी शाहीले जानकारी दिए । उनका अनुसार कलेजले विद्यार्थीको भविष्य नै अन्योल पारेपछि आइतबार २५ जना विद्यार्थी सिटिइभिटी पुगेर ध्यानाकर्षण गराएका छन् । 

सम्पर्कविहीन भनिएका सञ्चालक झा भने आफू सञ्चालक नै नभएको दाबी गर्छन् । उनले दुई वर्षदेखि कलेज नगएको बताए । ‘म अहिले राजविराजमा छु, केही शिक्षक बिदामा भएका कारण यस्तो समस्या भएको हो, म अहिले त्यहाँ सञ्चालक पनि छैन, महेश मिश्रलगायत १० जनालाई जिम्मा दिएर हिँडेको छु,’ उनले भने, ‘विद्यार्थीले चाहन्छन् भने भोलि नै ट्रान्सफर दिन कलेज तयार छ ।’ उनी सिटिइभिटीका सदस्यसमेत रहेकाले थप अध्ययन गरेर कारबाहीसमेत गर्ने र पठनपाठन सञ्चालनका लागि पहल गर्ने सिटिइभिटीले जनाएको छ । 

तलब दिन नसकेपछि कलेज जान छाडे झा
स्रोतका अनुसार उक्त कलेजले तीन महिनादेखि शिक्षकको पारिश्रमिक दिएको छैन । शिक्षकहरूले तलब माग गर्दै केही समयअघि धर्नासमेत दिएका थिए । तलब नपाएको अवस्थामा पठनपाठन गराउने नसक्ने भन्दै शिक्षकसमेत नियमित पठनपाठन गर्न छाडेका छन् । 

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईले कलेजमा विद्यार्थी र कर्मचारीलाई अलपत्र पार्ने सञ्चालक एक–दुई दिनभित्र उपस्थिति नभए हस्तक्षेप गर्ने बताए । ‘हामी कलेज÷स्कुल व्यवस्थापनसँग सम्पर्कमा छौँ, एक–दुई दिनमा समस्या समाधान गर्छौं भनेका छन्, नत्र हस्तक्षेप गर्छौं,’ उनले भने, ‘यो विषय शिक्षा मन्त्रालयमा पनि पुगेको छ, कानुनी रूपमा शैलेन्द्र मोहन झा नै सञ्चालक हुनुहुन्छ, कर्मचारीलाई तलबभत्ता दिनुपर्छ भनेर भागेको बुझिएको छ ।’ कन्फ्लिक्ट अफ इन्टे«स भएका व्यक्तिलाई कुनै पनि नियुक्ति दिन नहुने बताउँदै भट्टराईले उक्त कलेजको समाधान छिटो गरिने बताए ।