उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको संख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले जनाएको छ। विवादित आदिवासी सुन्नी र सिया मुस्लिम समुदायबिच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको, तर कम भएको सरकारले जनाएको छ।
पाकिस्तान सुन्नी बहुल देश हो। यद्यपि अफगानिस्तानको सीमानजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठुलो सिया जनसंख्या छ। त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन्।
नोभेम्बर २१ देखि भएको झडपमा दिनहुँ मृत्यु हुनेको संख्या बढ्दै गएको तथा १७७ जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बंकरहरू ध्वस्त गरिने तथा हतियारहरू जफत गरिने’ उल्लेख गरिएको छ।
बिहीबार सुरु भएको पछिल्लो लडाइँमा प्रहरी स्कर्टमा यात्रा गरिरहेका दुई अलग–अलग सवारीसाधनमा आक्रमण भएपछि ४० भन्दा बढीको मृत्यु भएको जनाइएको छ। झडपले यस क्षेत्रलाई ठप्प पारेको छ भने प्रमुख सडकहरू बन्द भएका छन् र मृत्यु हुनेको संख्या बढ्दै जाँदा मोबाइल फोन सेवाहरू काटिएका छन्।
प्रान्तीय राजधानी पेसावरका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा पहिलेका दुई सम्झौताले झडप रोक्न असफल भएपछि आदिवासीको सहयोगमा अधिकारीहरूले युद्धविराम प्रयास गरिरहेको बताए। पाकिस्तानको मानव अधिकार आयोगले जुलाईदेखि अक्टोबरसम्म यस क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ७९ जनाको मृत्यु भएको जनाएको छ।