नेपाली महिला टोलीले पहिलोपटक टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध ऐतिहासिक जित निकालेको छ । नेपालले एसिसी यू–१९ एसिया कपमा पाकिस्तानलाई ६ विकेटले हराएको हो । नेपालको महिला क्रिकेट इतिहासमा पहिलोपटक कुनै पनि टेस्ट राष्ट्रविरुद्ध पहिलोपटक जित दर्ता गरेको हो । यसअघि नेपालको पुरुष युवा टोलीले पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशजस्ता टेस्ट राष्ट्रमाथि जित निकालिसकेको छ ।
पहिलो जितसँगै नेपाल समूह ‘बी’बाट सुपर चार (सेमिफाइनल) मा पुगेको छ । यसअघि पाकिस्तान यसै समूहमा भारतसँग नौ विकेटले पराजित भएको थियो । अब नेपाल र भारतबिचको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यो खेल मंगलबार हुनेछ । मलेसियाको बायोमासमा चलिरहेको यू–१९ एसिया कपको आफ्नो दोस्रो खेलमा सनसनी जित निकाल्दा नेपालकी कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरेकी थिइन् ।
बायोमासको ब्याटिङ पिचमा पाकिस्तानले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १९ ओभरमा केवल चार विकेट गुमाएर ऐतिहासिक जित दर्ता गर्न सफल भयो । कप्तान पूजाले ब्याटिङमा ४७ बलमा ४७ रनको योगदान दिइन् । उनले सयको स्ट्राइकमा ब्याटिङ गर्दा तीन चौका प्रहार गरिन् । अलराउन्ड प्रदर्शन क्रममा उनले दुई विकेट हात पारिन् ।
गतिलो साझेदारी
लक्ष्य पछ्याएको इनिङ्समा नेपालले ४.३ ओभरमा सावित्री धामीलाई गुमाएको थियो । सना प्रवीणा र सावित्राले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेका थिए । त्यसपछि सना र पूजाबिच दोसो विकेटका लागि पाँच रनको मात्र साझेदारी भयो । नेपालले सनाको विकेट इनिङ्सको ६.१ ओभरमा गुमाएको थियो । त्यसपछि सोनी पाख्रिनले १३ रनको योगदान दिइन् । सिमाना केसीले अविजित १२ र ओपनर सान प्रवीनले १० रन बनाए ।
कप्तान पूजा र सिमनाले पाँचौँ विकेटका लागि ३२ बलमा अविजित ३९ रनको साझेदारी गर्दै नेपालको जित पक्का पारे । सोनी र पुजाबिच नै तेस्रो विकेटका लागि ३१ रनको साझेदारी भएको थियो । सावित्रीले १६ बलमा आठ रन बनाइन् । नेपालको ब्याटिङमा ज्योत्स्निया मरासिनी डकआउट भइन् । पाकिस्तानको कमजोर फिल्डिङमा नेपालले १५ अतिरिक्त १५ रन पाएको थियो । पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए ।
पाकिस्तानको मध्यम स्कोर
अनुभवी पाकिस्तानले नेपालविरुद्ध मध्यम स्कोर बनायो । पाकिस्तानका लागि ओपनर कोमल खानले ४३ बलमा सर्वाधिक ३८ रन बनाइन् । महम एनिसले अविजित १९, राभाली फरानले १३ र कप्तान जोफिसान अयाजले १२ रन बनाएका थिए । दुई बलमा खेलिरहेकी फिजा फिआजलाई कप्तान पूजाले एलबिडब्लू धरापमा पारेकी थिइन् । रिया शर्माले अरिसा अन्सारीलाई एक रनमा आउट गरिन् । पूजाले दुई विकेट लिन २७ रन खर्चिइन् । रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।