आजको राजनीति बुझ्न लोकप्रियतावाद (पपुलिजम) को पुनरागमनलाई बुझ्न आवश्यक छ । विशेषतः अमेरिकामा यो बुझाइ थप आवश्यक छ, जहाँ डोनाल्ड ट्रम्प र कंग्रेसका रिपब्लिकन सदस्य सरकार सञ्चालनका लागि तयार भइरहेका छन् भने डेमोक्य्राट आफ्नो लज्जास्पद पराजयबाट पार पाउने प्रयासमा छन् । सन् २०१० को दशकको मध्यमा भएको ट्रम्पको उदय सन् २००८ को वित्तीय संकटसँग जोडिएको छ, जसले व्यापक पीडा एवं असन्तोष सिर्जना गरेको थियो । वास्तविक (मुद्रास्फीति–समायोजित) मध्यम तलब सन् २०१४ सम्म पनि सन् २००७ को स्तरमा फर्कन सकेन । सन् २०२१ को मेरो एक अध्ययनअनुसार मन्दी नभएर लगातारको आर्थिक वृद्धिपछि पनि मध्यम तलब पुनस्र्थापित हुन सक्ने थिएन ।
संकटले आर्थिक क्षति मात्र नभई वित्तीय प्रणाली र सरकारको लोककल्याण प्रवद्र्धन गर्ने क्षमतामा विश्वास घटायो, जसले दक्षिणपन्थी र वामपन्थी दुवै पक्षमा लोकप्रियतावादका लागि उर्वर भूमि तयार ग¥यो । प्रायः अस्पष्ट रूपमा प्रयोग गरिने लोकप्रियतावादलाई म तीन विशेषतामा परिभाषित गर्छु, जसमा ‘जनता’ र ‘सम्भ्रान्त’बिचको संघर्षको दृष्टिकोण, आर्थिक निराशावाद र आर्थिक संरक्षणवादको चाहना पर्छन् । अमेरिकामा यी प्रवृत्ति पहिलोपटक दक्षिणपन्थी टी पार्टी र वामपन्थी अक्युपाई वाल स्ट्रिट आन्दोलनमार्फत देखा परेका थिए । सन् २०१३ सम्ममा यी प्रवृत्तिले राष्ट्रपति ओबामालाई असमानतालाई ‘हाम्रो समयको परिभाषित चुनौती’ भनेर घोषणा गर्न प्रेरित ग¥यो (जसलाई म गलत ठान्छु) । पछि ट्रम्पले रिपब्लिकन पार्टीको नेतृत्व कब्जा गरे भने बर्नी स्यान्डर्स डेमोक्य्राटिक पार्टीमा लगभग त्यस्तै गर्न सफल भए ।
सन् २००८ को संकट विश्वव्यापी भएकाले बेलायत र युरोपमा पनि लोकप्रियतावादको पुनरुत्थान भयो, जुन ऐतिहासिक प्रवृत्तिसँग मेल खान्छ । विगत एक सय ५० वर्षको तथ्यांकले आर्थिक संकटपछि लोकप्रियतावादमा प्रायः वृद्धि भए पनि करिब एक दशकमा मुलुक पुनः संकटअघिको स्तरमा फर्किन्छ भन्ने देखाउँछ । सन् २०१८ सम्ममा लोकप्रियतावाद घट्दै गएको जस्तो देखिन्थ्यो, किनभने सामान्य घरपरिवारको आर्थिक अवस्थामा सुधार हुँदै थियो, आक्रोश घटेको थियो, र अमेरिकीमाझ एकताबद्ध भएर भविष्यप्रति आत्मविश्वास बढ्दै गएको महसुस गर्न सकिन्थ्यो ।
अमेरिका पुनः लयमा फर्किंदै गर्दा सन् २०२० को सुरुवाती महिनामा कोभिड–१९ महामारीले राजनीतिक र सामाजिक अवरोध निम्त्यायो । उच्चवर्गीय नेतृत्वको विफलताको धारणाले फेरि लोकप्रियतावादलाई जीवन्त बनायो र कतिपय अवस्थामा यी धारणा जायज पनि थिए । आर्थिक गतिविधिमा लगाइएको प्रतिबन्धले व्यक्तिगत स्वतन्त्रतालाई महŒव दिने राष्ट्रमा असहमति पैदा ग¥यो, विशेषतः जब सार्वजनिक स्वास्थ्यसम्बन्धी निर्देशन अर्थात् ६ फिटको दूरी नियम लागू भयो । खोपको प्राप्तिपछि पनि अभिभावकले सामान्य बालरोगका लागि अत्यधिक क्वारेन्टिन नियमको सामना गर्नुप¥यो । दुर्भाग्य, सन् २०२० को हिउँदमा विद्यालय पुनः सञ्चालन गर्नुको सट्टा उच्चवर्गीय अवधारणाले बालबालिकालाई लामो समयसम्म कक्षाकोठाबाहिरै राख्यो, जसले कहिल्यै पूर्ति गर्न नसकिने शैक्षिक क्षति पु¥यायो ।
लोकप्रियतावादबाट चिन्तितका लागि हालको इतिहासको सकारात्मक पक्ष भनेको यस्ता लोकप्रियतावादको अस्थायी स्वभावको पुष्टि हुनु हो । अमेरिकी मजदुरले चार वा पाँच वर्षसम्म स्थिर वास्तविक तलब वृद्धिको अनुभव गर्न सके भने लोकप्रियतावादको भावना फेरि कम हुनेछ, जुन महामारीअघिको समयमा देखिएको थियो । स्पष्ट रूपमा भन्नुपर्दा मेरो अपेक्षा ट्रम्पीय लोकप्रियतावाद पूर्ण रूपमा समाप्त हुनेछ भन्ने होइन, बरु यसको प्रभावकारिता र राजनीतिक महŒव कम हुनेछ भन्ने हो । राजनीतिक दक्षिणपन्थमा लोकप्रियतावादको धार पहिल्यैदेखि देखिँदै आएको छ । सन् १९९० को दशकमा प्याट बुकाननको राजनीतिक सफलताले ट्रम्पको उदयलाई संकेत गरिसकेको थियो । सन् १९९६ को रिपब्लिकन प्राथमिक चुनावमा बुकाननले ‘सुपर ट्युज्डे’ वा त्यसअघिका मतदानमा २३ प्रतिशत मत जितेका थिए । सन् २०१६ को प्राथमिक चुनावमा ट्रम्पले प्रारम्भिक मतदान र सुपर ट्युस्डे राज्यमा ३४ प्रतिशत मत जितेका थिए । भविष्यमा रिपब्लिकन पार्टीका उम्मेदवार चयन प्रक्रियामा लोकप्रियतावादको सफलता बुकाननको स्तरमा फर्कनुलाई आधारभूत स्थितिमा फर्कनु मान्न सकिन्छ ।
डेमोक्य्राटका लागि पाठ भनेको आर्थिक व्यवस्थापनको महŒव हो । सन् २००८ को आर्थिक संकटपछि केही वर्षसम्म वास्तविक तलब वृद्धिमा आएको गिरावटले अमेरिकाको इतिहासमा लोकप्रियतावादको यो अध्यायको सुरुवात भएको थियो र पछिल्ला केही वर्षको तीव्र मुद्रास्फीति (जसले नाम मात्रको तलब वृद्धिलाई कमजोर बनायो) ले ट्रम्पलाई फेरि ह्वाइट हाउसमा पु¥यायो । राष्ट्रपति जो बाइडेन ढिलो गरी चुनावबाट बाहिरिएपछि धेरै डेमोक्य्राट नेताले मतदाताले उपराष्ट्रपति कमला ह्यारिसलाई चुन्नेछन् भन्ने सोचे, ताकि आधाभन्दा बढी देशले मन नपराएको उम्मेदवारलाई टार्न सकियोस् । तर, २०२० को तुलनामा ट्रम्पलाई अझ बढी मतदाताले समर्थन गरे, जसको मुख्य कारणका रूपमा बाइडेन प्रशासनका नीतिले निम्त्याएको उच्च मुद्रास्फीति, स्थिर वास्तविक तलब वृद्धि र उपभोक्ता मूल्यको कीर्तिमानी वृद्धिलाई लिइयो ।
रिपब्लिकनका लागि पनि एउटा महŒवपूर्ण पाठ छ । मतदाता अहिले व्यापार युद्ध र कठोर आप्रवासन नीति लागू गर्न इच्छुक राष्ट्रपतिलाई समर्थन गर्ने मनस्थितिमा हुन सक्छन्, तर यस्तो प्रवृत्ति अपेक्षाभन्दा छिटो बदलिन सक्छ । सन् २०२८ मा पुनः जित हासिल गर्न चाहने हो भने रिपब्लिकनले आगामी चार वर्षमा जनताको जीवनमा सुधार ल्याउने नीति अपनाउनुपर्ने हुन्छ । लोकप्रियतावादी नीति प्रभावकारी हुँदैनन् र दीर्घकालीन राजनीतिक सफलतामा ध्यान केन्द्रित गर्ने विवेकशील रिपब्लिकनले व्यावहारिक र प्रभावकारी समाधानमा जोड दिनेछन् ।
(स्ट्रेन अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका आर्थिक नीति अध्ययन निर्देशक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट