उदयपुरको सदरमुकाम गाईघाटमा तेस्रो खाना परिकार मेला तथा कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सव ०८१ सुरु भएको छ। पुस ८ गतेसम्म सञ्चालन हुने महोत्सव झिगु नेवाः पुचः गाईघाटको आयोजनामा सोमबारबाट सुरु भएको हो।
एक समारोहबिच त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले पासनमा दीप प्रज्वलन गरेर महोत्सवको उद्घाटन गरेका थिए। आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार महोत्सवमा नेवारी, थारू, राई, दनुवार, तामाङलगायत विभिन्न जातजातिको परिकारहरूको बिक्री तथा प्रदर्शनी गरिएको छ।
महोत्सवमा पुस २ गते शंख फुक्ने प्रतियोगिता, पुस ३ गते राई जातिको समूहगत चण्डीनाच प्रतियोगिता, पुस ४ गते थारू जातिको सांस्कृतिक नृत्य प्रतियोगिता, पुस ५ गते नेवाः छमछमीको पहिलो चरणको प्रतियोगिता, पुस ६ गते लाखेनाच प्रतियोगिता, पुस ७ गते नेवा छमछमीको दोस्रो चरणको प्रतियोगिता र पुस ८ गते नेवाः छमछमीको फाइनल प्रतियोगिता हुने झिगु नेवाः पुचः गाईघाटका सचिव गोपाल श्रेष्ठले जानकारी दिए।