राजविराज नगरपालिकाले जडान गरेको सिसिक्यामेरामा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छानबिन थालेको छ। उपभोक्ता समितिमार्फत जडान गरिएको सिसिक्यामेरामा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो।
अख्तियारको इटहरी कार्यालयले राजविराज नगरपालिकालाई पत्र लेख्दै सिसिक्यामेरासँग सम्बन्धित सम्पूर्ण कागजात माग गरिएको अख्तियार स्रोतले जानकारी दियाे। उच प्राथमिकता साथ छानबिन सुरु गरिएको अख्तियारको इटहरीका एक कर्मचारीले जानकारी दिए ।
‘राजविराज नगरपालिकाले सिसिक्यामेरा जडान गर्नको आर्थिक वर्ष ०८०/८१ मा विनियोजित ५१ लाख बजेटलाई टेन्डर नलगाई उपभोक्ता समितिबाट जडान गरिएको छ, कमिसनकै लागि उपभोक्ता समितिबाट काम गराएको छ,’ पालिकाका एक कर्मचारीले भने, ‘टेन्डर लगाएपछि कमिसन नहुने भएपछि कार्यपालिकाको बैठकबाट निर्णय गरी उपभोक्ताबाट काम गरिएको छ,’ उनले भने ।
राजविराज नगरपालिका कार्यवाहक मेयर इसरत परविनले कार्यपालिकाको सबै सदस्यको सहमतिकै अधारमा उपभोक्ता समितिबाट काम गराएको बताए । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले सिसिक्यामेरा जडानको विषयमा कुनै जानकारी नभएको उनले बताए । ‘गत वर्षको काम भएको हो, म नयाँ हाकिम भएर पालिकामा आएको छु मलाई कुनै जानकारी छैन,’ उनले भने ।