संयुक्त राज्य विकास कार्यक्रमको एक अध्ययन प्रतिवेदनअनुसार नेपालको बाढीजन्य विपत् जोखिम एसियाभरकै उच्चमध्ये पर्छ । सन् १९७८ को तिनाउ, १९८० को कोशी, १९८५ को टाँडी, १९८७ को सुनकोसी र १९९३ को कुलेखानी जलाधार क्षेत्रवरपर आएको विपत् धेरैका लागि अकल्पनीय थिए । भौतिक संरचनाको ठुलो क्षतिबाहेक सो कुलेखानी क्षेत्रको बाढीले मात्रै एक हजार तीन सयजनाभन्दा बढीको ज्यान लिएको थियो भने हालसालै (सन् २०२४) को विशेषगरी दक्षिणपूर्वी नेपाल र काठमाडौं उपत्यकावरपर आएको बाढी र पहिरोले पनि दुई सयभन्दा बढी नागरिकको ज्यान लियो भने दर्जनौँ पुल, सडक संरचना, खानेपानी, जलविद्युत् तथा भवन पूर्वाधारमा वितण्डा नै मच्चायो । नख्खु र बागमती नदीमा आएको बाढीले समेत संघीय राजधानी उपत्यकाभित्रै दर्जनौँ मानिसको हताहती भयो । सन् २०१२ को नेपालको सेती नदी र गत वर्षको सिक्किमको टिस्टा नदीको बाढीजस्तै यस वर्षको कोशीनदीको फोक्सिङटार, सोलुखुम्बु जिल्लाको थामेलगायतका विपत्ले नेपालका विपत् व्यवस्थापनमा संलग्न धेरैको मथिंगल हल्लाएको हुनुपर्छ । निकै ठुलो कसरतपछि सम्पन्न भएको र रणनीतिक महत्वको कोशीनदीको फोक्सिङटार पुलको विनाशले त इन्जिनियरहरू नै रणभुल्लमा परेको स्थितिसमेत देखियो ।
नेपालका अधिकतर खोलानालाका किनार अतिक्रमित छन् । क्रसर व्यवसाय र अन्य पहिरोसँगै बग्ने बालुवा तथा माटोले पुरिएर खोलाका भुइँ सतह उच्च हुँदै गएका छन् । समग्रमा वर्षायाममा खोलामा बाढी र हिलोको बहाव बढ्दो क्रममा छ । नेपालको यस परिवर्तित नयाँ परिदृश्यमा कम सम्भावना भएका तर ठुला र अकल्पनीय महाविपत्को वैज्ञानिक अध्ययनका साथै अन्य धेरै इन्जिनियरिङका अत्यावश्यक काम गर्नु आवश्यक देखिन्छ ।
तर, परिवर्तित अवस्था सुहाउँदो नवीन सोचको भने हामीकहाँ अभाव देखिन्छ । यस परिप्रेक्ष्यमा बाढी प्रतिकार रणनीति र बाढी प्रतिरोधी पुललगायत सडक संरचनाका निमित्त नवीन वा परिवर्तित प्रविधि, डिजाइन, आवश्यक नीति तथा मापदण्ड÷कोड कस्तो हुनुपर्ला ? यसबारे सोच्न र त्यसको कार्यान्वयनमा अग्रसर हुन पूर्वाधार र मूलतः स्ट्रक्चरल इन्जिनियरिङ क्षेत्रका पेसाकर्मी र अगुवाहरूले ढिला गर्नुहुँदैन । अहिलेको समयको सन्देश पनि यही छ । यस दिशामा यथास्थितिवादलाई चिर्दै नवीन सोचको बिउ रोप्नु नै अहिलेको ऐतिहासिक आवश्यकता हो । यसलाई सबैका लागि नौलो इन्जिनियरिङ जनादेश मान्न सकिन्छ ।
इन्जिनियरिङ क्षेत्रका समकक्षी अन्तर्राष्ट्रिय विज्ञहरूको अग्रसरता र सफलता देख्दादेख्दै पनि नेपालमा त्यस दिशामा पटक्कै पाइला अगाडि नबढ्नु र आधा शताब्दी भोटो फटाएका भनिएका शीर्ष ‘विज्ञ’ले भेउसम्म नपाउनु दुःखद परिदृश्य हो
‘खोलाको प्राकृतिक बहावलाई रोक्नुहुँदैन, अतिक्रमण बन्द गर्नुपर्छ’ भन्न सजिलो छ । तर, यस्ता तर्कले मात्रै नयाँ युगको इन्जिनियरिङ र आर्किटेक्चरलाई सम्बोधन गर्दैन । नयाँ–नयाँ प्राकृतिक एव मानव सिर्जित चुनौतीसँग पौँठेजोरी खेल्दै तिनको सामना गर्न सक्ने नवीन सोच, नवप्रवर्तनात्मक प्रविधि, परिवर्तित डिजाइन अवधारणा, लेखाजोखा, आवश्यक नीति र कोड/स्ट्यान्डर्डको नेतृत्व आजका पेसाकर्मी अगुवाहरूले गर्न सक्नुपर्छ ।
हुनत जनसंख्या नै नबढे, ठुला बाढी नै नआए, भूकम्प नगए, आगलागी नभए र पहिरो नखसे हाइसन्चो हुन्थ्यो । हामीले जुन मात्राको विपत् आउँछ भनेर सदियौँदेखि विश्वास गर्दै आएका छौँ, त्यति नै आइराखे हाम्रा स्थानीय इन्जिनियरिङ वा विज्ञले जेजति जानेका छन्, त्यसैमा सन्तोष मानेर बसे पुग्थ्यो पनि होला । तर, आजको समयको नयाँ इन्जिनियरिङ जनादेश त्यस्तो छैन ।
भूकम्प, बाढी, पहिरो, आँधी, स्वास्थ्य विपत्जस्ता प्राकृतिक प्रकोप र महामारीसँग जुध्दै गरेका विकसित र विकासोन्मुख राष्ट्रका वैज्ञानिक, इन्जिनियर, विज्ञ पेसाकर्मीले परिवर्तित अवस्थाअनुरूपका प्राकृतिक प्रकोप र बहुविपत् उत्थानशील संरचना निर्माणका नयाँ–नयाँ सामग्री, प्रविधि, डिजाइन, नीति र स्ट्यान्डर्ड/कोडको समाधानमा सफलता प्राप्त गरेका मात्र छैनन्, मानव सिर्जित बम विस्फोट र मिसाइल आक्रमणजस्ता जटिल र चुनौतीपूर्ण आतंकवाद सिर्जित विपत्सँग समेत जुध्ने प्रतिकार प्रविधि, डिजाइन र स्ट्यान्डर्ड बनाउन पनि उनीहरू अग्रसर छन् ।
इन्जिनियरिङ क्षेत्रका समकक्षी अन्तर्राष्ट्रिय विज्ञहरूको अग्रसरता र सफलता देख्दादेख्दै पनि नेपालमा त्यस दिशामा पटक्कै पाइला अगाडि नबढ्नु र आधा शताब्दी भोटो फटाएका भनिएका शीर्ष ‘विज्ञ’हरूले भेउसम्म पनि नपाउनु दुःखद परिदृश्य हो । मिडियामा कहलिएका र मन्त्रालय अनि विभागले कर्मकाण्डी निम्तो गर्ने यस्ता नेपाली विज्ञ यथास्थितिमा रमाउने, नवीन सोच र क्रान्तिकारी युवा सोचमा केटाकेटीपन देख्ने र त्यस्ता प्रस्तावको भ्रूणहत्या गर्न उद्यत् रहेको आमअनुभव छ । यसरी विज्ञ भनिएका शीर्ष पेसाकर्मी र गुरुदेवहरूको सतही, यथास्थितिवादी र बुढ्यौलीले भरिएको प्रवचन सुन्दा र स्वाभाविक विषयवस्तुको गहिराइ नाप्न असमर्थ उनीहरूलाई नै मिडिया जगत्ले निरन्तर देवत्वकरण गरेको देख्दा राजनीतिमा मात्रै होइन, पेसागत क्षेत्रमा पनि पुस्तान्तरण आवश्यक भएको हो कि भन्ने बेजोड अनुभूति हुन्छ नै । बढ्दो बाढीजन्य विपत् जोखिम न्यूनीकरण र प्रतिकार गर्न सकिने इन्जिनियरिङ डिजाइनसँग सम्बन्धित उपाय के हुन सक्छन् त ? यस विषयमा अलि घोत्लिने र विशिष्ट अध्ययन अनुसन्धान गर्ने हो भने थुप्रै नवीन र प्रमाणित समाधान नेपालको परिप्रेक्ष्यमा प्रस्ताव गर्न सकिन्छ । विकसित राष्ट्रमा यस्ता पूर्वाधार र विपत्का क्षेत्रमा नयाँ समस्या आउनेबित्तिकै सम्पूर्ण विश्वविद्यालय र अनुसन्धान केन्द्र अनि पेसागत समाज र निजी व्यावसायिक क्षेत्रसमेत मिलेर लागिपर्छन् र समाधान निकालेरै छाड्छन् । जुन अन्य थुप्रै देश र क्षेत्रका लागि समेत उपयोगी हुने गर्छन् । केही युवाको हुटहुटीलाई अपवाद मान्ने हो भने हाम्रोमा त्यस्तो परिपाटीको अझै सुरुवातसमेत हुन सकेको देखिँदैन । साधारण सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ विवेकको प्रयोग गर्दा र हालसालै नेपालका विभिन्न ठाउँमा देखिएका बाढीजन्य क्षति र समग्र परिस्थितिको मूल्यांकन गर्दा देहायबमोजिमका (निर्माण स्थलको छनोट, डिजाइन, प्रविधि, प्रबलीकरण र कोडसँग सम्बन्धित) रणनीति र समाधान प्रस्ताव गर्न सकिन्छ :
१. बाढी र लेदोजन्य बहावको गतिशील दबाब प्रतिकार गर्न लचकदार निर्माण सामग्रीसहित संरचना बनाउने । उदाहरणका लागि स्टिलको ट्रस वा आर्च र कंक्रिट डेकको उपयोग गर्ने ।
२. संरचनाहरूको डिजाइन गर्दा चरम विपत्मा पनि सकेसम्म बाढीको बहाव कम छेकिने वा पानी र बाढी छिरेर जान सक्ने गरी संरचनाका अवयवको डिजाइन गर्ने । हुरी–बतास प्रतिरोध हुने गरी संरचना निर्माणमा यस्ता कुरालाई ध्यान दिने गरिन्छ ।
३. पुराना र पुरातात्विक (ढुंगा र इँटाबाट बनेका) पुल छन् भने ‘मास’लगायत प्रविधि प्रयोग गरी बाढी प्रतिकार क्षमता वृद्धि गर्ने उद्देश्यले पुलहरूको प्रबलीकरण गर्न सकिन्छ ।
४. सम्भव भएसम्म नदीको सम्भावित उच्च बहाव सतहभन्दा माथि पर्ने गरी संरचनाहरूको डिजाइन तथा निर्माण गर्ने ।
५. पुललगायत संरचना निर्माण गर्दा सवारी साधनबाट उत्पन्न ठाडो लोडका लागि डिजाइन गरिए पनि तेर्सो प्रकृतिको अति (लेदोजन्य) बाढीको अवस्थालाई पनि ध्यानमा राख्ने । संरचनाका मुख्य निर्माण तŒव र तिनका जोर्नीहरूको बहुविपत् प्रतिरोध डिजाइनमा विशेष ख्याल गर्ने । यसका लागि डिजाइन कोडमा आवश्यक परिमार्जनसमेत गर्न सकिन्छ ।
६. अति र चरम बाढी र लेदोको बहावलाई मध्यनजर गरी संरचनाहरूको पिल्लर (पियर र अबुटमेन्ट) का जगको गहिराइ बढाउने र पिल्लर वरिपरि विशेष संरक्षण विधि अपनाउने ।
७. रणनीतिक नदीहरूमा बाढी पथान्तरण पूर्वाधारको विकास गर्ने, जसमा नवीन सूचना प्रविधि र एआईसम्मका प्रविधि एकीकृत गर्न सकिन्छ ।
अन्त्यमा, पुनः चरम बाढी र लेदोजन्य विपत् प्रतिकार सोच, प्रविधि, डिजाइन र स्ट्यान्डर्डलगायतमा समाधान खोज्न हाल पेसागत जगत्को यथास्थितिवादलाई चिर्दै नवीन सोचको बिउ रोप्न ढिला भइसकेको छ । यस्तो महान् र ऐतिहासिक आवश्यकता अर्थात् नौलो इन्जिनियरिङ जनादेश पूरा गर्न हामी सबैलाई सफलता मिलोस् ।
(स्ट्रक्चरल इन्जिनियर समाज, नेपाल (सिनेप))का सचिव तथा (नेपाल सरकार, एसियाली विकास बैंक, युएसएआइडीलगायत पूर्वाधार विकास आयोजना)का वरिष्ठ स्ट्रक्चरल इन्जिनियर ढकाल पूर्वाधारविज्ञ परामर्शदाता हुन्)