दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बडापत्र जारी भएको ४०औँ वर्ष प्रवेशमा सात सदस्य मुलुकका शीर्ष नेताले शुभकामना दिँदै सार्कको महत्वमा जोड दिएका छन् । तर, भारत र पाकिस्तानका प्रधानमन्त्रीले एक–अर्को देशलाई लक्षित गर्दै शुभकामना सन्देशमै टकराब सार्वजनिक गरेका छन् । यद्यपि, उनीहरूले सार्क प्रक्रियामा भने जनाएका छन् । यी दुई देशबिचको तनावका बिच सार्कको १९औँ सम्मेलन अनिश्चित छ ।
प्रधानमन्त्री केपी ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्धिन, प्रमुख सल्लाहकार डा. मुहम्मद युनुस, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइजू, पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहबाज सरिफ, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके र प्रधानमन्त्री हरिणी अमरासुरियाले सन्देश जारी गरेका छन् । सार्क सचिवालयका अनुसार नेपाल, श्रीलंका र माल्दिभ्सले आइतबार सार्क बडापत्र घोषणा भएको दिनका रूपमा सन्देश जारी गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले शान्ति र सुरक्षाको वातावरण सार्क प्रक्रियाका लागि आवश्यक भएको सन्देशमा भनेका छन् । ‘सार्कको सम्पन्नता र आर्थिक विकास प्राप्त गर्न र क्षेत्रीय सहकार्य अघि बढाउन शान्ति र सुरक्षाको वातावरण आवश्यक छ,’ पाकिस्तानलाई लक्षित गर्दै मोदीको सन्देशमा उल्लेख छ । शान्तिपूर्ण तथा अन्तरसम्बन्धित दक्षिण एसियाको साझा दृष्टिकोणमा काम गर्न भारत तयार रहेको उनले बताए । विविध क्षेत्रमा आपसी सहकार्यका लागि लिइएका पहल अघि बढाउन भारत प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले सार्क अघि बढ्न सार्वभौम समानता र पारस्परिक सम्मानको सिद्धान्त आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘सार्वभौम समानता तथा पारस्परिक सम्मानको सिद्धान्त आत्मसात् गरेर मात्रै सार्कले सम्पन्न, अन्तरसम्बन्धित तथा विकसित दक्षिण एसियाको लक्ष्य प्राप्त गर्न सक्छ, यसका लागि पाकिस्तान तयार छ,’ सरिफले भने ।
बंगलादेशका राष्ट्रपति साहबुद्धिनले दक्षिण एसियाली मुलुकबिच सहकार्य तथा सामाजिक–आर्थिक विकासका लागि सुनौलो अवसरका रूपमा सार्क बडापत्र जारी भएको उल्लेख गरे । उनले वातावरण संरक्षण, प्रकोप तयारी, जनस्वास्थजन्य, गरिबी निवारणका क्षेत्रमा सार्कले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । उनले सार्कको आदर्शप्रति बंगलादेश प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सार्कमा धेरै उपलब्धि भएको, तर अझै काम गर्न बाँँकी रहेको बताए । सार्क दृष्टिकोणका लागि प्रतिबद्धता नवीकरण गर्ने बाध्यकारी आवश्यकता रहेकोमा पनि जोड दिए । शान्तिपूर्ण, सम्पन्न र समावेशी सार्क अघि बढाउन प्रस्ताव गरेका छन् ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले शान्ति र समुन्नतिका लागि सहकार्य र मित्रतामा जोड दिएका छन् । उनले साझा समझदारी वृद्धि गर्न सार्कले सबैलाई मञ्च उपलब्ध गराएको भन्दै सबै मिलेर सार्कको प्रारूपअन्तर्गत काम गर्नुपर्नेमा जोड दिए । उनले सार्क प्रक्रियाप्रति प्रतिबद्धता पनि जनाए ।
श्रीलंकाका राष्ट्रपति दिसानायकेले गरिबी निवारण, दिगो विकास, आर्थिक एकीकरण र सामाजिक प्रगति हासिल गर्ने प्रयासमा जोड दिएका छन् । उनले दक्षिण एसियालाई गतिशील क्षेत्र बनाउन सबै मिलेर काम गर्नुपर्ने पनि उल्लेख गरे । श्रीलंकाकै प्रधानमन्त्री अमरासुरियाले क्षेत्रीय सहकार्यले मात्रै भविष्यका चुनौतीहरू पराजित गर्न सकिने र जनताको समुन्नति हासिल गर्न सकिनेतर्फ ध्यानाकर्षण गराएकी छिन् ।
सार्कका महासचिव गोलाम सरबरले इतिहास, संस्कृति र भूगोलले दक्षिण एसियालाई एक ठाउँमा राखेको उल्लेख गर्दै सबै मिलेर साझा अवसर सदुपयोग गर्नुपर्ने र साझा चुनौती सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
१९औँ सम्मेलन अनिश्चित
सार्कको १९औँ शिखर सम्मेलन भारत र पाकिस्तानबिचको तनावका कारण अहिलेसम्म हुन सकेको छैन । सार्कको १८ औँ शिखर सम्मेलन २०७१ मंसिर १० र ११ मा काठमाडौंमा भएको थियो । त्यसयता नेपाल सार्कको अध्यक्ष मुलुक छ । सार्कको ३५ वर्षे इतिहासमा १८ वटा शिखर सम्मेलन भएका छन् भने पाँचवटा शिखर सम्मेलन मात्रै तोकिएको समय र देशमा सम्पन्न भएका छन् । पाँचवटा सम्मेलन समयमै भएका छन् । तर, पूर्ववत् सहमतिभन्दा फरक देशमा सम्पन्न भएका छन् । आठवटा शिखर सम्मेलन भने समयमै भएका छैनन् । नेपालले आयोजना गरेका दुईवटा शिखर सम्मेलन तोकिएभन्दा दुई वर्ष ढिलो भएका छन् ।
सहमतिमा सम्मेलन गरौँ : ओली
प्रधानमन्त्री एवं सार्कका अध्यक्ष केपी ओलीले सहमतिका आधारमा सार्कको १९औँ शिखर सम्मेलन आयोजना गर्न प्रस्ताव गरेका छन् । ‘सहमतिका आधारमा सार्कको १९औँ शिखर सम्मेलन गरी सार्कलाई गतिशील बनाउनुपर्छ । विश्वव्यापी भूराजनीतिमा भएको गतिशील परिवर्तन, अन्तर–राज्य सम्बन्धको जटिलता तथा एआईलगायत प्रविधिको विकासलाई ध्यानमा राख्दै सार्कलाई महत्वपूर्ण क्षेत्रीय मञ्चका रूपमा अघि बढाउनु आवश्यक छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । उनले बलियो सहयोगको प्रारूप अँगाल्नुपर्ने तथा जलवायु परिवर्तन, गरिबी, अन्तर्राष्ट्रिय संगठित अपराधका कारण उत्पन्न हुने चुनौती सम्बोधन गर्नुपर्ने बताए । ‘सार्क अध्यक्षका रूपमा नेपाल बडापत्रको स्पिरिटका आधारमा सहमति, मित्रता तथा आपसी एकताको आधारमा अन्य सदस्य मुलुकहरूसँग सहकार्य गर्न तयार छ,’ ओलीले भने ।