अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका मोहमद आमिर सन् २०१० को लड्स टेस्टमा स्पट फिक्सिङमा दोषी ठहरिएपछि पाँच वर्ष प्रतिबन्धमा परेका थिए
पाकिस्तानी फास्ट बलर मोहमद आमिरले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोरणा गरेका हुन् । आमिरले शनिबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई टी–२० फर्म्याटबाट बिदा भएको जानकारी दिएका छन् । उनले करिअरमा दोस्रोपटक सन्न्यास लिएका हुन् । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकपका लागि आमिरले सन्न्यास फिर्ता लिएका थिए । तर, पाकिस्तान विश्वकपको पहिलो चरणबाटै बाहिरियो ।
विश्वकपमा भारत र अमेरिकासँग पराजित भएसँग पाकिस्तान सुपर ऐटमा पुग्न सकेन । टी–२० विश्वकप केन्द्रित रहेरै पिसिबीलाई आमिरको सन्न्यास फिर्ता लिन आग्रह गरेको थियो । ‘यो निर्णय लिँदा सधैँ कठिन लाग्छ, यसअघि पनि यस्तै भावनामा बगेको थिएँ,’ पिसिबीलाई लेखेको पत्रमा आमिरले भनेका छन्, ‘अब राष्ट्रिय टोलीको करिअर क्लोज भएको छ ।’ सन् २०१९ मा उनले टेस्ट तथा २०२० मा एकदिवसीमा सन्न्यास लिएका थिए ।
आमिरले ३६ टेस्टमा ११९ विकेट लिँदा चारपटक पाँच विकेटको प्रदर्शन गरेका थिए । ६१ एकदिवसीय खेलमा उनले ८१ र टी–२० आईमा ७१ विकेट हात पारेका छन् । उनले पहिलो श्रेणीमा २६६, लिस्ट एमा १२३ र टी–२० खेलमा ३५० विकेट हात पारेका छन् । आमिरले सन् २००९ मा श्रीलंकाविरुद्ध टेस्ट र एकदिवसीय खेलमा डेब्यु गरेका थिए ।
यसैबिच शनिबारै पाकिस्तानका अर्का खेलाडी इमाद वासिमले पनि सन्न्यास घोषणा गरेका छन् । स्पिन अलराउन्डर वासिमको पनि दोस्रोपटक सन्न्यास घोषणा हो । यसअघि उनले सन् २०२३ मा पहिलोपटक सन्न्यास फिर्ता लिएका थिए । वासिमले ५५ एकदिवसीय र ७५ टी–२० आई खेलेका छन् । लेफ आर्म स्पिनर वासिमले एकदिवसीयमा ४४ र टी–२० आईमा ७३ विकेट लिएका छन् । उनले एकदिवसीयमा ९८६ र टी–२० आईमा ५५४ रन बनाएका छन् ।
फिक्सिङका कारण पाँच वर्ष प्रतिबन्ध
उत्कृष्ट फर्ममा रहेको वेला आमिर ‘स्पट फिक्सिङ’मा मुछिएका थिए । सन् २०१० मा लड्स टेस्टमा उनी स्पट फिक्सिङमा दोषी पाएपछि पाँच वर्ष प्रतिबन्धमा परेका थिए । यसै मुद्दामा उनले इंग्ल्यान्डको जेलमा ६ महिना बिताएका थिए । इंग्ल्यान्डविरुद्धको खेलमा फिक्सिङ आफूले कहिले नगरेको उनको दाबी थियो । तर, सट्टेवाजसँग मोटो रकम लिएर फिक्सिङ गरिएको प्रमाणित भएपछि आइसिसी र पिसिबीले समेत उनलाई कारबाही गरेका थिए । वासिम अक्रमले उनलाई राष्ट्रिय टोलीमा स्थान दिएका थिए । आमिरको विशेषता नै नयाँ र पुरानो बलमा स्विङ गर्नु हो । प्रतिबन्धपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन उनले निकै मिहिनेत गरेका थिए ।