Skip This
सरकारलाई प्रचण्डका प्रश्न- कहाँ पुग्यो बाँसबारी, गिरीबन्धु, भुटानी शरणार्थी र बालमन्दिर काण्डको छानबिन ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ कार्तिक ११ आइतबार o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारलाई प्रचण्डका प्रश्न- कहाँ पुग्यो बाँसबारी, गिरीबन्धु, भुटानी शरणार्थी र बालमन्दिर काण्डको छानबिन ?

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o६:o५:oo

माओवादी नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधि निस्तेज पार्न, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब बनाउन खबरदारी सभा गरेको माओवादी दाबी

सरकारले सय दिन कटाएलगत्तै प्रमुख प्रतिपक्षी दल माओवादीले सडकबाट दबाब अभियान सुरु गरेको छ । माओवादीले शनिबार राजधानीको भृकुटीमण्डपमा खबरदारी सभा गर्दै संख्याको बलमा जस्तासुकै अपराध गर्ने छुट सरकारलाई नभएको भन्दै कैयौँ प्रश्न उठाएका छन् । 

बिचौलियाको दबाब र प्रभावमा सरकार चलेको माओवादी अध्यक्ष प्रचण्डको आरोप छ । सरकारी उद्योग निजीकरणका नाममा स्वार्थ समूहलाई दिने तयारी गरिएको उनको दाबी छ । ‘बचेखुचेका उद्योग पनि निजीकरणको नाममा स्वार्थ समूहलाई सुम्पिँदै छ । जथाभावी नगर्न चेतावनी दिन चाहन्छौँ । जवाफ माग्न हामी तयार छौँ । संसद्को रोस्टममा मात्र होइन, परिआए सडकमा ल्याएर पनि जवाफ माग्नेछौँ । तिमीहरूलाई माओवादी मर्‍यो भन्न लाग्छ ? जे गरे पनि हुन्छ भन्ने लाग्यो ? जवाफ दिन पर्दैन भन्ने लागेको छ ?’ प्रचण्डले प्रश्न गर्दै भने, ‘संसद्को रोस्टममा भद्र तरिकाले जवाफ मागिन्छ । सरकार धेरै अभद्र भयो भने सडकमै अभद्र तरिकाले जवाफ मागिन्छ ? टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौंको मुटुमा चार घण्टासम्म उद्धार पाएन । त्यहाँ केवल परिवारको ज्यान गएको होइन, त्यहाँ मरेको सरकार हो ।’

सरकार ढाल्नका लागि खबरदारी सभा नगरेको उनले स्पष्ट पारे । ‘सरकार ढाल्नका लागि खबरदारी सभा गरेको पनि होइन । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति के जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने हामीलाई गहिरो गरी बोध छ । बरु, हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्तापक्षमा जुन सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने आतंक देखा पर्‍यो,’ उनले भने, ‘हामीले सरकार ढल्छ, ढाल्छौँ भनेका छैनौँ, उहाँहरूले नै भन्नुभएको छ । हामी यो खबरदारी भन्न चाहन्छौैँ– खबरदार तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, अझ बढी भ्रष्टाचारीको संरक्षणमा नजानुहोला ।’

सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपलब्धिको रक्षा, सरकारको यथास्थिति र प्रतिगामी गतिविधिका विरुद्ध खबरदारी सभा गरेको बताए । उनले ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन के हुँदै छ भनेर सरकारलाई प्रश्न गरे ।

‘आजकाल कसैले सोध्दा पनि सोध्दैन कहाँ पुग्यो भुटानी शरणार्थी काण्ड ? कहाँ पुग्यो बाँसबारीको जग्गा काण्ड ? कहाँ पुग्यो गिरीबन्धु टी इस्टेटको कुरा ? कहाँ पुग्यो बालमन्दिर काण्ड ? किनकि यो सबैलाई थाहा छ, यी काण्ड खोतल्न होइन, काण्ड मिलाउन यो सरकार आएको हो,’ खबरदारी सभामा प्रचण्डले भने, ‘तपाईंहरू जनताको अदालतको हेक्का राख्नुहोला । देश कांग्रेस र एमालेको बिर्ता होइन । संख्याको बलमा जस्तासुकै अपराध गर्ने छुट सरकारलाई छैन ।’

प्रचण्डले अरूले नगर भनेको काम गर्नैपर्ने अचम्मको स्वभाव प्रधानमन्त्री केपी ओलीमा रहेको आरोप लगाए । ‘प्रधानमन्त्रीजीको एकदमै खास स्वभाव छ । अरूले गर्न हुन्न भनेपछि त्यो नगरी नहुने । कहीँ न कहीँ भत्काउनैपर्ने, मिच्नैपर्ने, शक्तिको दुरुपयोग गर्नैपर्ने, बडो विचित्रको स्वभाव छ । अपराधलाई पनि उत्सवका रूपमा मनाउने गर्नुहुन्छ । अपराध सधैँ कमजोर हुन्छ । चाहे त्यो जतिसुकै धेरै संख्या किन नहोस्, यो सय दिनमा प्रमाणित भइसकेको छ,’ प्रचण्डले भने, ‘सरकार बाढीपहिरोमा देखिँदैन, प्राकृतिक विपत्तिमा देखिँदैन । बरु दल विभाजन गर्न, कुलमान (कुलमान घिसिङ) हटाउन, उपसभामुख (इन्दिरा राना) हटाउन सरकार देखिन्छ ।’

चुनाव लड्न करोडौँ खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विज्ञलाई मन्त्री बनाउने व्यवस्थामा जानुपर्नेमा उनले जोड दिए । ‘म थाकेको छैन । फेरि एउटा क्रान्तिको नेतृत्व गर्न सक्छु भन्ने आँट छ । नयाँ आन्दोलन, नयाँ अभियानमार्फत उपलब्धिको रक्षा मात्रै होइन, थप उपलब्धि प्राप्त गर्नेछौँ,’ प्रचण्डले भने । चार दिनको तयारीमा गरिएको खबरदारी सभामा उल्लेख्य सहभागिता रहेको भन्दै प्रचण्डले भने, ‘भोलि एक महिनाको तयारीमा विरोध सभा गरियो भने काठमाडौंमा के होला ? थेग्न सक्छ यो सरकारले ?’ 

प्रचण्डले आगामी निर्वाचन माओवादीले एक्लै लड्ने उद्घोषसमेत गरे । कांग्रेस–एमालेसँग समीकरण गरेर विगतमा गल्ती भएको उनले बताए । ‘यस्ता भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि कताकता के हो, के हो भन्ने जनतामा परेको थियो । अब हामी जनतातिर फर्केर आत्मालोचना/आत्मसमीक्षा गर्दै जनतासँग भन्नेछौँ– हामी तपाईंकै छोराछोरी थियौँ । जाली फटाहासँग लाग्दा अलिअलि बिग्रियौँ । हामी अब सच्चिन चाहन्छौँ र तपाईंहरूको मुक्ति नहुँदासम्म हामी लडिराख्न चाहन्छौँ,’ प्रचण्डले भने ।