Skip This
स्क्रिनमा बालबालिकाको अत्यधिक समय : निम्त्याउँछ शारीरिकदेखि एन्जाइटी र डिप्रेसनसम्मका समस्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ कार्तिक १० शनिबार o६:४८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्क्रिनमा बालबालिकाको अत्यधिक समय : निम्त्याउँछ शारीरिकदेखि एन्जाइटी र डिप्रेसनसम्मका समस्या

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o६:४८:oo

यस्ता देखिन्छन् लक्षण
- रिसाउने, झर्किने, अटेरी वा झगडा गर्नेजस्ता परिवर्तन 
- यस्तो लत बसेका बालबालिका स्क्रिनबाट टाढा हुँदा रुने, छटपटाउने, चुपचाप बस्न नसक्ने, आत्तिने खालको व्यवहार देखाउँछन् । 
- सानै उमेरमा स्क्रिनमा धेरै समय बढी बिताउने बालबालिकाको  शरीरमा पनि असर देखा पर्न सक्छ । खासगरी आँखा सुक्खा हुँदै जाने, दृष्टिमा समस्या देखिने र कम उमेरमै चस्मा लागाउनुपर्ने समस्या हुन सक्छ । 
- यसबाहेक कतिपयमा निद्रामा समस्या देखिने, पेट दुख्ने वा खाना नपच्ने, मांसपेशी दुख्नेजस्ता लक्षण पनि देखिन सक्छन् । 

गत वैशाखमा पाटन मानसिक अस्पतालको ओपिडीमा अभिभावकले १६ वर्षका एकजना किशोरलाई जचाउन ल्याए । विद्यालय जान छाडेर दैनिक करिब १८ घण्टासम्म मोबाइल मात्रै चलाएर बस्न थालेपछि अभिभावकले उनलाई काउन्सिलिङका लागि अस्पताल ल्याएका थिए । तर, बोलाउँदा नबोल्ने, झर्किने, रिसाउने, आमाबुबासँग झगडा गर्ने, सामानहरू फुटाइदिनेजस्ता व्यवहार बढ्दै गएको र शरीरको तौलसमेत बढिरहेको थाहा पाएपछि चिकित्सकले एक महिना पूर्ण निगरानीमा काउन्सिलिङ गर्ने निधो गरे । 

काउन्सिलिङका क्रममा उनलाई विद्यालयमा बुलिङ हुने गरेकाले सुरुवातमा स्कुल जान छाडेको पत्ता लाग्यो । बिस्तारै आक्रामक कन्टेन्ट भएका गेममा लत बसेपछि उनले दिनभरि मोबाइलमै समय बिताउन थालेका थिए । अभिभावकले मोबाइल नचलाउनु भनेमा रिसाउने र चिच्याउने व्यवहार देखाउन थालेपछि उनलाई उपचारको आवश्यकता भएको भन्दै अस्पताल ल्याएका थिए । 

हप्तामा दुई दिन ओपिडीमा काउन्सिलिङपछि एक महिनामा उनले मोबाइलमा बिताउने समय १८ घण्टाबाट १६ मा झ¥यो । त्यसपछि उनलाई अस्पताल भर्ना गरेर नियमित थेरापी र काउन्सिलिङ गरियो । करिब एक महिना अस्पताल बसाइपछि उनको मोबाइलमा बिताउने समय आठ घन्टामा झरेको थियो । उनी विगत दुई महिनादेखि फेरि स्कुल जान थालेका छन् । नियमित थेरापी र काउन्सिलिङसँगै उनले डिप्रेसनको समेत औषधि लिइरहेका छन् । नियमित काउन्सिलिङमा रहेका उनी बिस्तारै सामान्य अवस्थामा फर्किँदै छन् ।

यस्तै, पाटन मानसिक अस्पतालमै अर्का तीन वर्षीय बालकसमेत नियमित थेरापीमा छन् । एक वर्षको उमेरमा बोल्ने, प्रतिक्रिया जनाउने उनी बिस्तारै बोल्न छाडेपछि अटिजमको शंका गरेर अस्पताल ल्याइएको थियो । आमाबुवा दुवैजना काममा जाने भएकाले उनलाई एक वर्षको उमेरदेखि भुलाउन मोबाइल हेर्न दिन थालियो । घरमा बच्चा हेर्ने मान्छे नभएको समयमा कतिपय अवस्थामा दैनिक पाँच घण्टासम्म मोबाइलमा समय बित्न थालेको थियो । प्रतिक्रिया नजनाउने, आँखा जुधाएर कुरा गर्न नसक्नेजस्ता लक्षण देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो । त्यसपछि चिकित्सकले मोबाइल र स्क्रिन पूर्ण रूपमा बन्द गरिदिए । अभिभावकले निरन्तर तीन महिनासम्म बच्चासँग खेल्ने, बाहिर घुमाउन लैजाने र एकजना अभिभावकसँगै बस्न थालेपछि बच्चा सामान्य अवस्थामा फर्किन थालेका छन् । हालसम्मै चिकित्सकको निगरानीमा आवश्यक थेरापीहरूसमेत भइरहेकाले बच्चाले बोल्न, प्रतिक्रिया जनाउन थालेको उनका अभिभावक बताउँछन् । 

यी दुई बालबालिका र किशोरकिशोरीमा अत्यधिक समय मोबाइल र अन्य ग्याजेट्समा बिताउँदा स्वास्थ्य समस्याका कारण अस्पतालसम्म पुगेका प्रतिनिधि घटना हुन् । तर, सानै उमेरमा मोबाइलमा मात्रै समय बित्न थालेपछि शारीरिक र मानसिक विकासमा समस्या मात्रै होईन, किशोरकिशोरीमा व्यावहारिक समस्या, एन्जाइटी र डिप्रेसनका समस्या देखिन पनि थालेका छन् । 

पाटन मानसिक अस्पतालमा उपचारका लागि पुग्ने प्रत्येक १० जना बालबालिकामा कम्तीमा सातदेखि आठजनामा अत्यधिक ग्याजेट्सको प्रयोगले कुनै न कुनै समस्या हुने गरेको चिकित्सकरूको भनाइ छ । कम्तीमा तीनजनामा अत्यधिक स्क्रिन वा ग्याजेट्सको प्रयोगले गम्भीर समस्या हुने गरेको बाल तथा किशोरकिशोरीसम्बन्धी मनोचिकित्सक डा. अमित झाले बताए । ‘उपचारका लागि अस्पताल पुग्ने करिब २० देखि ३० प्रतिशत बालबालिकामा समस्याको मुख्य कारण नै अत्यधिक इन्टरनेट वा स्क्रिनको प्रयोग रहेको पाइन्छ । ती बालबालिकामा कराउने, रिसाउने, भनेको नमान्ने, विद्यालय जान छाड्नेजस्ता व्यवहार देखिन्छन् । किशोरावस्थाका बालबालिकामा यस्ता समस्या झन् जोखिमपूर्ण भएर आउँछन् । विभिन्न बहानामा स्कुल जान नमान्ने, रिसाएर मोबाइल वा टिभी फुटाउने, कुटपिट गर्नेजस्ता समस्या देखिन्छन् । यस्ता व्यवहार नियन्त्रणमा राख्न अभिभावकलाई समेत चुनौतीपूर्ण हुने गरेको छ,’ उनले भने ।

कति समय उपयुक्त ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बालबालिकालाई लामो समयसम्म मोबाइल वा ग्याजेट चलाउन दिँदा समस्या निम्तिरहेका भन्दै स्क्रिन टाइम कम गर्न सुझाव दिँदै आएको छ । डब्लुएचओले एक वर्षभन्दा कम उमेरको शिशुलाई स्क्रिन देखाउनै नहुने जनाएको छ । यसबाहेक १८ देखि २४ महिनासम्मका बालबालिकालाई एकदमै कम समय र सिकाइसँग सम्बन्धित भिडियोहरू मात्र देखाउन सुझाव दिएको छ । दुईदेखि पाँच वर्षका बालबालिकाका लागि शैक्षिक क्रियाकलापबाहेक बढीमा एक घण्टासम्म मात्रै हेर्न मिल्ने उसले जनाएको छ । र, ६ वर्षभन्दा माथिका बालबालिकाको हकमा निश्चित समय नछुट्याए पनि स्क्रिनको सट्टा अन्य क्रियाकलापमा बढी सहभागी गराउन, खाना खाने समय र घुम्न गएको समयमा स्क्रिन पूर्णतया बन्द गर्न, बच्चालाई झुलाउन वा रोएको बच्चालाई फकाउन स्क्रिनको प्रयोग नगर्न र सुत्नुभन्दा कम्तीमा आधादेखि एक घण्टाअघि स्क्रिनबाट टाढा राख्न अभिभावकलाई सुझाव दिएको छ । 

अत्यधिक समय स्क्रिन हेरेर बिताउने मान्छेहरूको संख्या बढ्न थालेसँगै शारीरिकसँगै मानसिक रोगको भारसमेत विश्वव्यापी रूपमा बढ्दै गएको पाटन मानसिक अस्पताल लगनखेलमा कार्यरत बाल तथा किशोरकिशोरीसम्बन्धी मनोचिकित्सक डा. सेरिना मोक्तान बताउँछिन् । ‘डब्लुएचओको पछिल्लो एक तथ्यांकले हरेक वर्ष विश्वव्यापी रूपमा पाँच मिलियनभन्दा बढी मृत्युको कारण शारीरिक रूपमा सक्रिय नहुनुलाई मानेको छ । डब्लुएचओले सन् २०१९ मा प्रकाशित गरेको एक तथ्यांकले विश्वको २३ प्रतिशतभन्दा बढी वयस्क र ८० प्रतिशतभन्दा बढी किशोर पर्याप्त रूपमा शारीरिक रूपमा सक्रिय छैनन् । यसको मुख्य कारण मोबाइललगायतका ग्याजेटमा अत्यधिक समय बिताउनुलाई मानेको छ,’ उनले भनिन् ।

दैनिक आठदेखि नौ घण्टासम्म मोबाइलमा बिताउँछन् बालबालिका
सामान्यतया नेपालमा बालबालिकाले कति समय स्क्रिनको प्रयोग गरिरहेका छन् भन्ने कुनै अध्ययन वा सर्वेक्षण भएका छैनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले दैनिक २४ घण्टाभित्र आठदेखि नौ घण्टासम्म बालबालिकाले स्क्रिनको प्रयोग गरिरहेको देखाएका छन्, जसलाई शारीरिक र मानसिक स्वास्थ्यका लागि निकै जोखिमपूर्ण मानिएको छ । 

स्क्रिनको लत लागेका बालबालिकामा सामान्यतया व्यवहारतः समस्यादेखि एन्जाइटी र डिप्रेसनसम्मका मानसिक समस्या देखिन थालेको चिकित्सकहरू बताउँछन् । अत्यधिक समय ग्याजेटमा बिताउने बालबालिकामा विशेषतः ध्यान केन्द्रित गर्न नसक्ने, आँखा जुधाएर कुरा गर्न नसक्ने, कम बोल्ने वा बोल्दैनबोल्ने, रिसाउने, झर्किनेजस्ता व्यावहारिक समस्या देखिने गरेको बाल तथा किशोरकिशोरीसम्बन्धी मनोचिकित्सक डा. अमित झाले बताए । ‘त्यस्ता बालबालिका केही कुरामा ध्यान केन्द्रित गर्नै नसक्ने हुन्छन् । यसबाहेक इन्टरनेटमा देखेका हरेक कुरा सत्य ठान्ने वा विश्वास गर्ने र सामान्य दैनिकीसमेत इन्टरनेटमा देखिएजस्तै हुनुपर्छ भन्ने सोच्न थाल्छन् । यसका साथै एकैचोटि आउने धेरै सूचना र जानकारी वा घटनालाई उनीहरूले व्यवस्थित गरेर सोच्न सक्दैनन्, जसकारण तनावको वातावरण बन्दै जान्छ,’ उनले भने ।

बच्चाहरू राम्रोसँग बोल्ने वा सामाजिक सीप विकास भइरहेका छैनन् भने ६ वर्षमुनिका बालबालिकामा स्क्रिनको लत रहेको हुन सक्ने उनको भनाइ छ । मोबाइलमा मनोरञ्जन मात्रै हुने भएकाले धेरै समय बिताउँदा उनीहरूले उमेरसँगै सिक्नुपर्ने सीपहरू जस्तै, बोल्ने, कुराकानी गर्ने, आँखा जुधाउने वा प्रतिक्रिया देखाउनेजस्ता क्रियाकलापमा निष्क्रिय हुन थाल्छन् । 

बालबालिकामा कसरी हटाउने स्क्रिनको लत ?

डा. अमित झा मनोचिकित्सक 

मोबाइल वा स्क्रिनको लत एकैचोटि लाग्दैन । के कारणले बच्चाले मोबाइलमा धेरै समय बिताउन थालेको छ भन्ने कुरा अभिभावकले ख्याल राख्नुपर्ने हुन्छ । कतिपय अवस्थामा परिवार वा विद्यालयको वातावरण छल्नसमेत बालबालिकाले मोबाइल, टिभी बढी प्रयोग गर्न थाल्छन्, जुन बिस्तारै लतमा परिणत हुँदै जान्छ । र, व्यावहारिक समस्या देखिन थालेपछि यो लत एकैचोटि हटाउन सकिँदैन । अचेल कतिपयले पुनस्र्थापना केन्द्रमा समेत पठाउन थालेका छन् । तर, केही समयपछि पुनः सोही अवस्थामा फर्किने हुन्छन् । तसर्थ, काउन्सिलिङ र थेरापीबाटै ठिक गर्न सकिन्छ । 

बालबालिकामा व्यवहारमा परिवर्तनका लक्षण देखिन थालेमा सुरुवातमै यस्तो समस्या के कारणले भइरहेका छन् भन्ने छुट्याउनुपर्छ । अत्यधिक स्क्रिनको प्रयोगका कारण एन्जाइटी वा डिप्रेसन भएमा काउन्सिलिङ र औषधि प्रयोगमा ल्याउनुपर्ने हुन्छ । तर, यस्ता समस्याको उपचार थेरापी र आवश्यक परामर्श नै प्रमुख हो । स्क्रिनको अत्यधिक प्रयोग र यसको लत एकैचोटि निम्तिने समस्या होइन ।

एक वा दुई वर्षसम्म निरन्तर स्क्रिनको प्रयोग र समय बढ्दै जाँदा लत लाग्ने वा स्क्रिन हेरेकै कारण स्वास्थ्य समस्या देखिन थाल्ने हुन्छ । त्यसैले बालबालिकालाई निश्चित समयसम्म मात्रै मोबाइल चलाउन दिनुपर्छ । सिकाइ वा सञ्चारका लागि अत्यावश्यक अवस्थामा बाहेक ६ वर्षमुनिका बालबालिकालाई सकेसम्म मोबाइल चलाउन दिनुहुँदैन ।

अभिभावकको निगरानीमा निश्चित समय मात्रै इन्टरनेट वा स्क्रिनको प्रयोग गर्न दिने हो भने लत वा अन्य मानसिक समस्याबाट बालबालिकालाई टाढा राख्न सकिन्छ । बालबालिकाले अधिकांश अभिभावकको सिको गर्ने भएकाले सुरक्षित वातावरण बनाउन परिवारमा अरूले समेत स्क्रिन समय घटाउनुपर्छ ।